



काठमाडौं, माघ ४–
काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा बागमती प्रदेशले उत्कृष्ट सुरुवात गरेको छ । आज (आइतबार) टियु क्रिकेट मैदानमा भएको खेलमा साविक विजेता नेपाल पुलिस क्लवलाई ७ विकेटले पराजित गर्दै बागमतीले उत्कृष्ट सुरुवात गरेको हो ।
पुलिसले दिएको ११२ रनको लक्ष्य पछ्याएको बागमती ३४.४ ओभरमा ३ विकेट गुमाएर ११४ रन बनाउँदै जित हासिल गर्यो । बागमतीको जितमा उपकप्तान पृथु बास्कोटाले अविजित ४८ र इशान पाण्डेले १७ रन बनाए । यस्तै पारस खड्काले १७, आदिल खानले १२ र ओपनर आकाश थापाले एक रन बनाए ।
पुलिसका लागि दीपेन्द्र सिंह ऐरी र ललित नारायण राजवंशीले समान एक विकेट लिए ।
यसअघि पहिले व्याटिङ गरेको पुलिसले २९.३ ओभरमा सबै विकेट गुमाउँदै १११ रन मात्रै जोड्न सक्यो । उसका लागि दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले समान २१ रन बनाए भने सुनिल धमला र कुशल भुर्तेलले समान १७ रन बनाए । पुलिसका अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
पुलिसको पारीलाई धरासयी बनाउन युवा खेलाडी तिलक भण्डारीले महत्वपूर्ण ४ विकेट लिए । ७.३ ओभर बलिङ गरेका भण्डारीले एक मेडनसहित मात्र १७ रन दिए । यस्तै युवा बलर नन्दन यादवले ९ ओभरमा एक मेडनसहित ३१ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिए । रामनरेश गिरीले २ विकेट लिए ।
खेलमा ४ विकेट लिएका तिलक भण्डारी म्यान अफ दि म्याच घोषित भए ।