



काठमाडौँ माघ ४-
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीजस्तो आफूहरू जन्ती जाँदा रुँदै र मलामी जाँदा हाँस्दै हिँड्ने प्रवृत्तिको नभएको बताएका छन् ।
आइतबार काठमाडौँमा राष्ट्रिय युवा संघ (दाहाल–नेपाल) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै प्रचण्डले यस्तो टिप्पणी गरेका हुन्।
देशमा गणतन्त्र स्थापना भएका बेला युवाहरुले उत्सव मनारहँदा केपी ओली रुँदै हिँडेको र अहिले संविधानमा माथि प्रहार हुँदा सिंगो देश स्तब्ध भएका बेला ओली हाँस्दै हिँडेको प्रचण्डले बताए।
उनले भने, ‘युवाहरु गणतन्त्रको उत्सव मनाइरहेका बेला रुँदै हिँड्नु भयो। संविधानमाथि तपाईंले प्रहार गर्दा सिंगो देश स्तब्ध भएर बसेको छ। तपाईं हाँस्दै हिँड्नुभएको छ। विचित्र यही भयो मात्रै भनेको हो।’
प्रचण्डले केही दिनअघि केपी ओलीले जोकर बनेर मानिसहरुलाई हसाउँदै हिँडेको बताएका थिए। त्यसको जवाफमा शनिबार प्रधानमन्त्री ओलीले प्रचण्डलाई लक्षित गर्दै आफूले जनतालाई हसाउँदा पनि केही व्यक्तिलाई पीडा भएको टिप्पणी गरेका थिए।
त्यसैको जवाफमा प्रचण्डले आइतबार भने, ‘हामी जन्त जानेबेलामा रुँदै जाने र मलामी जाँदा हाँस्दै जाने केपी ओली होइनौँ। हामी मलामी जाँदा चिन्ता गरेरै जान्छौँ। जन्त जाँदा हामी हाँस्ने गरेरै जाने गर्छौँ। हामी त्यस्ता स्वाभाविक मान्छे हौँ। उहाँ अस्वभाविक हुनुभएको छ। त्यसकारण हामी गम्भीर स्थितिमा छौँ। हाम्रो आन्दोलन जुझारु हुन आवश्यक छ।’
उनले आफूहरुको ओलीसँग कुनै लिनुदिनु नरहेको भन्दै देश र जनताको भविष्यप्रति चिन्तित भएको बताए।