



देवघाट,माघ ४-
सगरमाथा सञ्चार सेवा सामुदायिक रेडियो देवघाट १०२.६ मेगाहर्जले आफ्ना स्थापना कालदेखि हालसम्म अध्यक्ष पदमा रहनुभएका भक्ति प्रसाद तिमिल्सेनाको सम्झनामा श्रद्धाञ्जलि सभाको आयोजना गरेको छ । गत पुस २७ गते अध्यक्ष तिमिल्सेनाको चितवन मेडिकल कलेजमा कोरोना भाइरस (कोभिड–१९) का कारण ७६ वर्षको उमरेमा निधन भएको थियो । स्वर्गीय तिमिल्सेनाको निवास भरतपुर महानगरपालिका–५ कल्याणपुरमा शनिबार रेडियो देवघाटले छैठौं दिनमा गरेको श्रद्धाञ्जलि सभाको आयोजना गरेको थियो । सो सभामा संविधानसभा सदस्य रामकृष्ण घिमिरे लगायतका रेडियोका सञ्चालकहरुले स्वर्गीय तिमिल्सेनाको स्मरण गर्नुभएको थियो ।
तिमिल्सेनाको निधनले रेडियो र सिङ्गो राष्ट्रलाई अपूर्णनीय क्षति भएको संविधानसभा सदस्य रामकृष्ण घिमिरेले बताउनुभयो । तिमिल्सेना एक असाध्यै अध्ययनशील, क्षमतावान र कर्मठ व्यक्ति भएको समेत घिमिरेको भनाइ थियो । त्यस्तै श्रद्धाञ्जलि सभामा सामुदायिक रेडियो देवघाटका उपाध्यक्ष विजयराज शर्मा भुसालले तिमिल्सेनाले रेडियो र सामाजिक कार्यमा पु¥याउनुभएको योगदान तथा त्यागको बारेमा चर्चा गर्नुभएको थियो ।
देवघाट क्षेत्र विकास समितिका पूर्व कार्यकारी निर्देशक भरत दवाडीले तिमिल्सेनाको जीवनी एवं रेडियो देवघाटका महासचिव निरन्जन हाडाले समवेदना पत्र वाचन गर्नुभएको थियो । कार्यक्रममा रेडियोका संस्थापक कार्यकारी निर्देशक नवीनराज पौडेल, संस्थापक निर्देशक जगदिश्वर खनाल, कार्यसमिति सदस्य सिर्जना देवकोटा, विष्णु धिताल, रामेश्वर पौडेल, छविलाल ढकाल, यदु श्रेष्ठ, स्टेशन मेनेजर सुवास लामिछाने, बजार प्रबन्धक गोपालचन्द्र न्यौपाने, खगराज गुरुङ, खड्क बहादुर बाचे लगायतको उपस्थिति रहेको थियो । रेडियोका स्टेशन मेनेजर सुवास लामिछानेले सञ्चालन गर्नुभएको श्रद्धाञ्जलि सभाको सभापति रेडियो देवघाटका उपाध्यक्ष एवं प्रबन्ध निर्देशक विजयराज शर्मा भुसाल रहनुभएको थियो ।