जोडिनुहोस
मङ्लबार, फाल्गुन १८, २०७७
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • वाग्मतीका १० जिल्लामा सवारी दुर्घटनाः सबैभन्दा धेरै चितवनमा

वाग्मतीका १० जिल्लामा सवारी दुर्घटनाः सबैभन्दा धेरै चितवनमा

हिरालाल आचार्य ‘डायमण्ड’,

चितवन,माघ ४-

वाग्मती प्रदेशका उपत्यका बाहिरका १० जिल्लामा सवारी साधनको दुर्घटना सङ्ख्या बढेको छ । चालु आर्थिक वर्ष २०७७/०७८ को पुस मसान्तसम्ममा ६७४ वटा सवारी साधन दुर्घटना भएका छन् । वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर, चितवनका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाकाअनुसार यस प्रदेशको दुर्घटनामा १४२ जनाको मृत्यु भएको छ भने १ हजार २०७ जना घाइते भएका छन् । अघिल्लो आर्थिक वर्ष २०७६/७७ को ६ महिनामा ४४८ वटा सवारी साधन दुर्घटना भएका थिए । २६३ जनाको मृत्यु भएको थियो भने १ हजार २०१ जना घाइते भएका थिए ।

यो तथ्याङ्कलाई विश्लेषण गर्दा वाग्मती प्रदेशका १० जिल्लामा सवारी साधनका दुर्घटना बढे पनि मृत्यु हुनेको सङ्ख्यामा कमी आएको देखिन्छ । पछिल्लो समय सवारी साधनको चाप बढ्दै गएको र सामान्य दुर्घटना हुने क्रम बढिरहेकाले दुर्घटनाको सङ्ख्या बढेकोे प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो । गत आवमा १० जिल्लामा कुल १ हजार १३८ वटा सवारी साधन दुर्घटना भएका थिए । जसमा ४०४ जनाको मृत्यु भएको थियो १ हजार ९१८ जना घाइते भएका थिए । जसमध्ये ७७६ जना गम्भीर घाइते थिए ।

प्रदेशका १० जिल्लामध्ये चितवनमा सबैभन्दा बढी ४२३ वटा अर्थात कुल दुर्घटनाको ३७ प्रतिशत दुर्घटना भएको थियो । चालु आव २०७७÷७८ को ६ महिनामा पनि सबैभन्दा धेरै दुर्घटना चितवनमा नै भएको प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो ।

मोटरसाइकल दुर्घटना बर्सेनि बढ्दै

दुर्घटनामा संलग्न सवारी साधनमध्ये मोटरसाइकलको सङ्ख्या सबैभन्दा धेरै रहेको प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो । चालु आव २०७७/७८ को पुस मसान्तसम्म प्रदेशका १० जिल्लामा भएको दुर्घटनामा संलग्न ९८१ सवारी साधनमध्ये ४६१ वटा मोटरसाइकल रहेका छन् । जुन ४६.९९ प्रतिशत हो । मोटरसाइकल दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या ४७ जना अर्थात कुल मृत्युको ३०.८० प्रतिशत रहेको छ ।

आव ०७६/७७ मा दुर्घटनामा परेका कुल १ हजार १३८ सवारी साधनमध्ये ४७२ वटा अर्थात ४१.४७ प्रतिशत मोटरसाइकल दुर्घटना भएका थिए । मोटरसाइकल दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या १३४ अर्थात कुल मृत्युको ३३.१६ प्रतिशत रहेको थियो । घाइते हुनेको सङ्ख्या ६३९ अर्थात कुल घाइतेको ३३.२१ प्रतिशत रहेका थियो ।

आव ०७५/७६ मा दुर्घटनामा परेका कुल १ हजार ९९ सवारीमध्ये ४१७ वटा अर्थात ३७.९४ प्रतिशत मोटरसाइकल रहेका थिए । मृत्यु हुनेमा १५९ जना अर्थात कुल मृत्युको ३३.१९ प्रतिशत रहेका थिए भने घाइते हुनेमा ५६० अर्थात कुल घाइतेको ३३.३१ प्रतिशत रहेका थिए ।  यो तथ्याङ्कलाई विश्लेषण गर्दा मोटरसाइकलको दुर्घटनामा बर्सेनि वृद्धि हुँदै गएको पाइएको छ । तीव्र गति र ओभरट्याक गर्ने बानीले गर्दा मोटरसाइकलको दुर्घटना बर्सेनि बढ्दै गइरहेको प्रहरी उपरीक्षक कोइरालाको भनाइ छ ।

राजस्व सङ्कलनमा पनि वृद्धि

चालु आवको ६ महिनाको अवधिमा कार्यालय मातहतका १० जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने १ लाख ११ हजार ४१२ वटा सवारी साधनलाई कारवाही गरिएको छ । जसबाट १० करोड १२ लाख ९४ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरिएको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिनुभयो ।

गत आवको ६ महिनामा ९४ हजार ५२४ वटा सवारी साधनलाई गरिएको कारवाहीबाट ६ करोड ७४ लाख ४३ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरिएको थियो । यो तथ्याङ्कलाई विश्लेषण गर्दा यो वर्ष ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको सङ्ख्यामा पनि वृद्धि भएको देखिन्छ । ट्राफिक नियम पालना नगर्दा नै अधिकांश दुर्घटना हुने गरेको कोइरालाले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका