जोडिनुहोस
शुक्रबार, फाल्गुन १४, २०७७
शुक्रबार, फाल्गुन १४, २०७७
  • होमपेज
  • पाँच दिन लगाएर चितवनमा चरा गणना सकियो

पाँच दिन लगाएर चितवनमा चरा गणना सकियो

चितवन,माघ २-

जिल्लाका चरा पाईने चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चरा गणना गरिएको छ । पाँच दिन लगाएर गणना गरिएको हो । गत आईतबारबाट गणना शुरु गरिएको थियो । बर्ड एजुकेशन सोसाईटीका पूर्वअध्यक्ष वासु विडारीले गणना सम्पन्न भएपनि तथ्याङ्क आइनसकेको जानकारी दिनुभयो । उहाँका अनुसार सङ्कलित तथ्याङ्कलाई प्रशोधन गरी सोमबारसम्ममा एकिन तथ्याङ्क बाहिर ल्याइने छ ।

चितवन राष्ट्रिय निकुञ्ज र यसआसपासका क्षेत्रका तालतलैया तथा खोलामा चरा गणना गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार यसवर्ष सङ्ख्या केही बढेपनि प्रजाति नबढेको प्रक्षेपण गरिएको छ । उहाँले चितवन निकुञ्ज र यसआसपासको सिमसार क्षेत्र तथा तालतलैयामा चराको अवस्था यसवर्ष मध्यम रहेको बताउनुभयो ।

नेपालका निकुञ्ज र चरा पाइने ठाउँमा जनवरी २ तारिखबाट चरा गणना थालिए पनि चितवनमा केही दिन ढिला गरी गणना गरिएको थियो । उहाँले लोथरदेखि जिन्दगानीघाटसम्म, जिन्दगानीघाटदेखि सौराहासम्म र सौराहादेखि कसरा पुलसम्म गणना गरिएको बताउनुभयो । त्यस्तै, माडीको रिउ खोला, बीसहजारी ताल, तमोर ताल, लामीताल, राप्ती खोलामा गणना गरिएको थियो ।

बाटुली पोखरी, टिकौली ताल, कुमाल ताल, राइनो ताल, बूढी राप्ती, ढुङ्ग्रे खोलामा पनि गणना गरिएको उहाँले जानकारी दिनुभयो । बिडारीका अनुसार चरा बस्ने कुनै क्षेत्र नछुटाई गणना गरिएको छ । चितवन जिल्लाका नौ जना चरा गणकको नेतृत्वमा ५२ जनाको तीनवटा समूह बनाएर चरा गणना गरिएको हो । गत साल जिल्लामा ६४१ प्रजातिका चरा फेलापरेका थिए । तीमध्ये ५७ जल प्रजातिका थिए । देशभरमा यो संख्या ८८७ रहेको छ ।

क्यामरा, वाइनोकुलर र टेलिस्कोपलगायतका उपकरण प्रयोग गरी चराको रङ, शरीरको बनोट हेरेर, आवाज सुनेर गणना गर्ने गरिन्छ । यो समय जाडो छल्न विभिन्न देशबाट बसाई सरी यहाँ चरा आउने गर्दछन् । ती अधिकांश चरा जल प्रजातिका हुने गर्दछन् । तिनीहरु गर्मी शुरुभएसँगै पुनःफर्किने गर्दछन् ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका