जोडिनुहोस
  • होमपेज
  • चितवनको रामनगरमा जनस्तरबाट बनाइएको पुष्पबाटिकाको उद्घाटन, निःशुल्क प्रवेश (फोटोफिचर)

चितवनको रामनगरमा जनस्तरबाट बनाइएको पुष्पबाटिकाको उद्घाटन, निःशुल्क प्रवेश (फोटोफिचर)

हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, माघ १ –

भरतपुर महानगरपालिका–१ रामनगरमा जनस्तरबाट बनाइएको पुष्पबाटिकाको उद्घाटन गरिएको छ ।

पुष्पबाटिकाको आज बिहीबार पूर्वप्रहरी नायव महानिरीक्षक एवम् पतञ्जली योग समिति नेपालका संरक्षक तथा वरिष्ठ समाजसेवी ज्ञानेन्द्र विक्रम महतले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा महतले जनस्तरबाट यस्ता प्रकारका काम हुनु निकै प्रसंशनीय भएको बताए । पुष्पबाटिकाले रामनगरको विकासमा टेवा पुर्‍याउने बताउँदै उनले रामनगरबासीमा आएको यो एकताले सकारात्मक सन्देश फैलाएको बताए ।

पुष्पबाटिका निर्माणमा महतको पनि विशेष आर्थिक सहयोग रहेको निर्माण समितिका सचिव प्रवेश कँडेलले जानकारी दिए । फोहर फाल्न प्रयोग गरिएको ठाउँलाई सफाइ गरेर रामनगरवासीले पुष्प बाटिका बनाएका हुन् । स्थानीयकै श्रमदान र लगानीमा पुष्पबाटिका निर्माण गरिएको हो । लकडाउन र निषेधाज्ञाको समयमा उक्त बाटिका निर्माण गरिएको हो । यसै वर्षको असार ३ गतेबाट काम थालिएको बाटिका निर्माण पूर्णरुपमा सम्पन्न भइसकेको छैन ।

सतनचुली सामुदायिक वनको संरक्षित वन र भरतपुर महानगरको जग्गामा उक्त बाटिका निर्माण गरिएको हो । कुल साढे दुई बिघा क्षेत्रफलमा निर्माण गरिएको बाटिकामा १० कट्ठा जग्गा भरतपुर महानगरको रहेको छ । महानगरको जग्गामा कंक्रिटबाट भौतिक निर्माण गरिएको छ भने वनको जग्गामा फूलहरु रोपिएको छ । नारायणगढ–मुग्लिन सडकखण्डसँगै जोडिएको पुष्प बाटिका सडकबाटै देख्न सकिन्छ ।

बाटिका निर्माणमा हालसम्म १७ लाख २२ हजार खर्च भएको सचिव कँडेलले बताए । १३ लाख रुपैयाँ सहयोग रकम संकलन भइसकेको बताउँदै उनले बाँकी रकम पसलमा तिर्न बाँकी रहेको बताए । स्थानीय व्यक्ति, समाजसेवी, पसल, विदेशमा रहेका नेपालीले बाटिका निर्माणका लागि सहयोग गरिरहेका छन् । हालसम्म १५० जनाले नगद तथा जिन्सी सहयोग गरेको कँडेलले जनाए । बाटिकामा हाल प्रवेश निःशुल्क गरिएको छ ।

बाटिकामा सिजनल फूलहरु लगाइएका छन् । पाम, हेज, बगलबेल्डिम, पाइनलगायतका फूलका बिरुवा रोपिएका छन् । बाटिकामा चाइनिज दुबो रोपिएको छ । दुबो फैलिएसँगै र फूलहरु फूल्न थालेपछि बाटिका थप आकर्षक देखिने निर्माण समितिकी अध्यक्ष डिलकुमारी लामिछाने जानकारी दिइन् । यस्तै बाटिकामा बौद्ध मन्दिर, पानीको फोहोरा फाल्ने पोखरी, मितेरी पुल, बालबालिका खेल्ने पिङलगायतका भौतिक संरचनाहरु निर्माण गरिएका छन् । आगामी दिनमा थप संरचनाहरु निर्माण गरिँदै लगिने योजना रहेको उनले बताए ।

उद्घाटन कार्यक्रममा ७० वर्ष माथि उमेरका ९५ जना जेष्ठ नागरिकलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा प्रहरी शिक्षालय भरतपुरका प्रहरी वरिष्ठ उपरीक्षक बुद्धि गुरुङ, बरण्डाभार संरक्षित वन परिषद् चितवनका अध्यक्ष टंकप्रसाद न्यौपाने, देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टंकनाथ पौडेल, उपाध्यक्ष विशाल भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका