जोडिनुहोस
  • होमपेज
  • चितवनका व्यवसायीद्वारा ग्यास बिक्रीमा भ्याट खारेजीको माग

चितवनका व्यवसायीद्वारा  ग्यास बिक्रीमा भ्याट खारेजीको माग

भरतपुर, पुस २९-

ग्यास बिक्रेता व्यवसायीले भ्याट खारेजीको माग गरेका छन् ।

ग्यास बिक्रेता संघ चितवनको तेस्रो अधिवेशनमा व्यवसायीले दैनिक उपभोग्य वस्तु भए पनि भ्याट लगाउँदा मूल्य बढ्न पुगेको बताएका छन् । ग्यास बिक्रेता संघ वाग्मती प्रदेशका अर्जुन खत्रीले भ्याट व्यवसायीले नै फिर्ता पाउने भएकाले खारेज वा छुट दिएर उपभोक्तलाई राहत दिनुपर्ने माग गरे ।

सरकारले ग्यासमा १३ प्रतिशत भ्याट (मूल्य अभिवृद्धि कर) लगाउँदै आएको छ । उनले ग्यास बिक्रेतालाई दिने कमिसनमा वृद्धि गर्नुपर्ने बताए । ‘हामीले पाउने कमिसन ज्यादै न्यून छ’, उनले भने, ‘करोडौँको कारोबार गरे पनि मुनाफा ज्यादै कम छ ।’ उनका अनुसार प्रतिसिलिण्डर ३६ रुपैयाँ २० पैसा कमिसन पाउने गर्छन् । यो लगानीको २ दशमलब ५७ प्रतिशत हो । अन्य व्यवसायमा २० प्रतिशत मुनाफा लिन पाइने व्यवस्था भए पनि ग्यास बिक्रेताले ५ प्रतिशतसम्म भए पनि कमिसन बढाउनुपर्ने माग गरेको बताए ।

अधिवेशनमा चितवनका संस्थापक अध्यक्ष विष्णुप्रसाद पौडेलले व्यवसायीको पक्षमा वकालत गर्दै आइरहेको बताए । उनले बिक्रेताको भण्डारण कक्षमा हुने आगलागी वा डेलिभर गर्ने कर्मचारीमा हुनसक्ने सम्भावित दुर्घटनाको उचित बिमा हुनुपर्ने माग गरे । संघका निवर्तमान अध्यक्ष जीवनकुमार श्रेष्ठले भ्याट छुट वा खारेजी गर्न सरकारको ध्यानाकर्षण गराए । केन्द्रीय संस्थापक अध्यक्ष ज्ञानेश्वर अर्यालले भ्याट छुट दिएर ग्यास उद्योगीले अन्य सुविधा व्यवस्था गर्नुपर्ने बताए । ‘आमजनताको इन्धन ग्यास हो’, उनले भने, ‘भ्याट हटाउ, मूल्य पनि घट्छ, व्यवसायीलाई पनि फाइदै हुन्छ ।’

आवश्यकता बढी सिलिण्डर बिक्री हुँदा बेलाबखत कृत्रिम अभावको सृजना हुन पुगेको उनले बताए । केन्द्रीय अध्यक्ष महेश्वर श्रेष्ठले ग्यासलाई सहजै उपभोग गर्न पाउने वातावरण बनाउन लागिपरेको बताए । उनले पसल–पसलमा ग्यास राख्न दिनुभन्दा ग्याँस बिक्रेतालाई प्रमाणिकरण गरेर व्यवस्थापन गर्नुपर्ने बताए । कार्यक्रमा बागमती प्रदेशका महासचिव शालिककराम पोखरेल, चितवनका उपाध्यक्ष बाबुराम कँडेल, उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, साइबाबा ग्याँस उद्योगका सञ्चालक बुद्धिराज डल्लाकोटी लगायतले मन्तव्य राखेका थिए । वागमती प्रदेशमा २६ ग्यास उद्योग छन् । जसमध्ये चितवनमा तीन वटा ग्यास उद्योग छन् । देशभरीको कुल खपतको करिब ४० प्रतिशत खपत वागमती प्रदेशमै हुनेगर्छ । चितवनमा एक हजार २०० बढी डिपो र २२ वट डिष्ट्रिव्युटर छन् । चितवनमा बाबा, जानकी, साइबाबा, नारायणी, राजधानी, साहारा, सिद्धनाथ लगायतका ग्याँस खपत हुनेगर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका