जोडिनुहोस
  • होमपेज
  • निर्वाचन घोषणाले चितवनमा मतदाता दर्ता रोकियो, २० हजार मतदाता थपिने आंकलन

निर्वाचन घोषणाले चितवनमा मतदाता दर्ता रोकियो, २० हजार मतदाता थपिने आंकलन

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, पुस २९

सरकारले प्रतिनिधि सभा भंग गरी आगामी वैशाखमा निर्वाचन घोषणा गरिएसँगै चितवनको निर्वाचन कार्यालयले मतदाता नामावली दर्तालाई रोकेको छ ।

पुस ५ गतेबाट कार्यालयले मतदाता नामावली दर्तालाई रोकेको हो । २०७४ सालको प्रतिनिधि सभा निर्वाचन पश्चात २०७७ पुस ५ सम्म चितवनमा २० हजार २१३ जनाले मतदाता परिचय पत्रका लागि आवेदन दिएका छन् । जसमा आठ हजार ९३० महिला र ११ हजार २८३ पुरुष रहेका जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख जनार्दन अधिकारीले जानकारी दिए ।

विसं. २०७४ सालको निर्वाचनमा चितवनमा एक लाख ८४ हजार ६९ महिला, एक लाख ६९ हजार ९६५ पुरुष र एक तेस्रो लिंगी गरी कूल तीन लाख ५४ हजार ३५ जना मतदाता रहेका थिए ।

दर्ता गराएकामध्ये १८ वर्ष पुगेकाहरुले आगामी निर्वाचनमा मतदान गर्न पाउने छन् । दर्ता गराएका सबैले मतदान गर्न पाएको खण्डमा चितवनमा वैशाखको चुनावका लागि तीन लाख ७४ हजार २४८ जना मतदाता हुने छन् । अर्थात आगामी निर्वाचनमा २० हजार २१३ मतदाता थपिने आंकलन गर्न सकिन्छ । अहिले नै ठ्याक्कै कति जना मतदाता हुन्छन् भनेर भन्न नसकिने अधिकारीले बताए । मृत्यु, बसाइँसराई, विवाहा र रद्दका कारण मतदाताहरुको संख्यामा केही घटबढ हुनसक्ने उनको भनाइ छ । निर्वाचन आयोगले मतदाताको नामावली प्रकाशन गर्न काम गरिरहेको उनले बताए । आयोगले टुंग्याएपछि जिल्लामा सार्वजनिक गरिने छ ।

२०७४ को निर्वाचनपछि २०७७ को पुस ५ गतेसम्ममा जिल्लामा १७ हजार २२१ महिला र १५ हजार ३७ पुरुष गरी ३२ हजार १५८ जनाले नयाँ नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवम् सूचना अधिकारी खेमराज पौडेलले जानकारी दिए । १६ वर्षको अवधि पूरा गरेपछि नागरिकता पाउन सकिन्छ भने १८ वर्ष पुगेपछि मतदाता परिचय पत्र लिन सकिन्छ । नागरिकता लिए लगत्तै मतदाता परिचय पत्रका लागि आवेदन दिनु राम्रो हो । तर, त्यो प्रवृत्ति सबैले अपनाएका हुँदैनन् । निर्वाचन आउन लागेको समयमा अधिकांशले मतदाता परिचय पत्रका लागि आवेदन दिने गर्दथे । यसपटक अचानक निर्वाचन मिति तोकिएकाले उमेर पुगेर पनि चितवनका धेरै युवायुवतीहरुले मतदान गर्न नपाउने देखिएको छ ।

नागरिकता निस्किएको संख्या र निर्वाचन आयोगमा मतदाता परिचयका लागि दर्ता गरिएको संख्यालाई तुलना गर्दा ११ हजार ९४५ देखिन्छ । अर्थात ११ हजार ९४५ ले नागरिकता लिए पनि मतदाता नामावलीका लागि दर्ता गराएका छैनन् । यिनीहरु यदि १८ वर्ष नाघिसकेको भए पनि आगामी निर्वाचनमा मतदान गर्न नपाउने निर्वाचन कार्यालयका प्रमुख अधिकारीले बताए ।

सबैले १६ वर्ष पुग्ने बित्तिकै नागरिकता लिएका हुँदैनन् । केही ढिला गरी नै नागरिकता लिनेहरुको संख्या बढी रहेको प्रशासन कार्यालयका सूचना अधिकारी पोडेलले बताए । यसरी हेर्दा मतदाता नामावलीमा दर्ता नगराए पनि उनीहरुको उमेर १८ वर्ष पुगिसकेको हुन सक्छ ।  यदि वैशाखमा घोषणा गरिएको निर्वाचनको मिति सरेको खण्डमा भने पुनः मतदाता नामावाली परिचय पत्रका लागि दर्ता प्रक्रिया खुलाउन मिल्ने निर्वाचन कार्यालयका प्रमुख अधिकारी बताउँछन् । कानुनतः निर्वाचनको मिति तोकिएपश्चात नयाँ मतदाता नामावली दर्ता गर्न पाइँदैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका