जोडिनुहोस
  • होमपेज
  • संसद पुनस्थापना नभई चुनाव गरे देशमा रक्तपातः कांगेस नेतृ कोइराला

संसद पुनस्थापना नभई चुनाव गरे देशमा रक्तपातः कांगेस नेतृ कोइराला

काठमाडौं, पुस २९-

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले संसद पुनस्थापना बिना चुनाव गर्न खोजे देशमा रक्तपात हुने बताएकी छिन् ।

रिपोटर्स क्लब नेपालमा बोल्दै उनले देशमा रक्तपात हुनबाट जोगाउन संसद पुनस्थापनाको विकल्प नभएको बताइन् ।

सभापति शेरबहादुर देउवा संविधानको विपक्षमा उभिएर गम्भीर गल्ती गरिरहेको कोइरालाको टिप्पणी थियो । असंवैधानिक तरिकाले संसद बिघटन गरिएको अवस्थामा देउवाले रक्तपात हुनसक्ने चुनावको कुरा गर्नुले आशंका उत्पन्न भएको समेत बताइन् । उनले देउवाको पछिल्लो गतिविधिमाथि केन्द्रीय कमिटी बैठकमा कुरा उठ्ने समेत बताइन् । ‘शेरबहादुर देउवाजी किन संविधानको पक्षमा हुनुहुन्न ? ओलीको किन पछि लागिरहनुभएको छ आश्चर्य लागेको छ,’ पूर्व उपप्रधानमन्त्री कोइरालाले भनिन्, ‘रक्तपात हुनसक्ने चुनावको कुरा गर्दै हुनुहुन्छ । तर, आफैले ल्याएको संविधान र संसदको विपक्षमा किन बोलिराख्नुभएको छ, त्यो गलत हो ।’

संसद पुनःस्थापना नगरी चुनावमा जान खोजेमा रक्तपात हुने नेता कोइरालाले खतरा औल्याइन् । देशमा अर्को रक्तपात ल्याउने अवस्था आइरहँदा देउवाले बारम्बार चुनावको कुरा गरेकोमा आपत्ती जनाइन् । उनले भनिन्,‘ चुनावमा रक्तपात हुन्छ । देउवाजी ओलीको पक्षमा उभिएर मुलुकलाई रक्तपात र अस्थिरतामा नलानुहोस् ।’

संसद बिना देश अगाडि बढ्न खोजे अर्को दुर्घटना हुने खतरा औल्याइन् । उनले भनिन्, ‘संसद बिना देशलाई अगाडि बढाउन खोजे यस्तो अवस्था आउँछ कल्पना पनि गर्न सक्नुहुन्न ।’ चुनावको विपक्षमा आफूहरु नभएको तर त्यसका लागि संविधानलाई ट्रयाकमा ल्याउन जरुरी रहेको बताइन् । सविधान पुनस्थापना बिना चुनाव हुननसक्ने र भएमा पनि रक्तपात हुने बताइन् । ३० वर्षदेखि देउवा बारम्बार प्रधानमन्त्री बन्दै आएको स्मरण गराउँदै भनिन्,‘ ३० वर्ष देखि देउवाजी प्रधानमन्त्री बन्दै आउनुभएको छ । फेरि फेरि तपाईं नै प्रधानमन्त्री बन्नुहोस् तर संसद पुनस्थापना गर्नुहोस् ।’

संसदको बिघटन राजनीतिक निर्णय भएकाले सडक आन्दोलनबाट भए पनि पुनस्थापना गर्ने बताइन् । उनले कांग्रेस संसद पुनःस्थापनाको पक्षमा आन्दोलनमा गइसकेको बताइन् । संसद पुनःस्थापना बिना कांग्रेस चुनावमा नजाने स्पष्ट पारिन् । उनले भनिन्,‘आन्दोलनमा गएर भए पनि संसद पुनःस्थापना गर्छौं ।’ आफूहरुले अदालतको फैसला पर्खिरहेको समेत कोइरालाले बताइन् ।

ओली सरकार कामचलाऊ भएकाले भारतसँग गम्भीर र संवेदनशील विषयमा कुनै पनि सम्झौता गर्न नसक्ने बताइन् । सीमाको विषयमा ओलीले भारतसँग कुरा गर्न नसक्ने बताइन् । उनले भनिन्,‘कामचलाऊ सरकारले सीमाका विषयमा वार्ता गर्न मिल्दैन । ओलीले एक्लैले भारतसँग वार्ता गरेको मान्य हुँदैन ।’ सहमति, सहकार्य र एकतालाई लत्याएर ओली बढेको आरोप लगाइन् । ओलीले संविधानलाई नै कुल्चेर देशलाई दुर्घटनामा पु¥याएको कोइरालाको आरोप थियो ।

ओली रंग बदलिरहने र विचार बदलिरहने प्रधानमन्त्री भएको टिप्पणी गर्दै विश्वास गर्न नसक्ने बताइन् । उनले भनिन्,‘ ओलीजीलाई म विश्वास गर्न सक्दिनँ । अरुले पनि विश्वास गर्न छाडिसके ।’ ओलीको बोलीमा नअलमलिने सबैलाई आग्रह गरे । ओलीमा मीठो भाषण गर्ने र गलत काम गर्ने कार्यशैली भएको बताइन् । उनले भनिन्,‘हिटलर पनि मीठो भाषण गर्थे, उनको भाषण सुनेर महिलाहरु रुन्थे तर उनले रक्तपात मच्चाए ।’
कम्युनिस्टहरुको झगडाले देश धरापमा परेको बताइन् । देशलाई संकटबाट जोगाउन ढिलो गर्न नहुने बताइन् । ओलीको क्रियाकलापविरुद्ध सबै राजनीतिक दल र शक्ति एक ठाउँमा उभिनुपर्नेमा उनको जोड थियो । संसद पुनस्थापनामा सबै एक ढिक्का हुनुको विकल्प नभएकोमा जोड दिइन् । विगतमा गिरिजाप्रसाद कोइरालाले अडान लिएर संसद पुनस्थापना गरी संविधान र देशलाई सही ट्रयाकमा ल्याएको स्मरण गराइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका