जोडिनुहोस
  • होमपेज
  • चितवनमा ट्राफिक प्रहरी र प्रविधिको अभाव, २२ वर्ष अघिको दरबन्दी कायम

चितवनमा ट्राफिक प्रहरी र प्रविधिको अभाव, २२ वर्ष अघिको दरबन्दी कायम

हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, पुस २८ –

ट्राफिक प्रहरीको संख्या कम हुँदा चितवनमा ट्राफिक व्यवस्थापनमा समस्या आएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले ट्राफिकको संख्या कम हुँदा अपेक्षा गरिएअनुसार ट्राफिक व्यवस्थापन गर्न नसकिएको बताए । ट्राफिक व्यवस्थापन प्रभावकारी हुन नसक्दा जिल्लामा सवारी दुर्घटना पनि बढ्दै गएको उनले बताए ।

अहिले जिल्लामा ३१ जना ट्राफिक प्रहरीको दरबन्दी रहेको छ । जुन संख्या २०५५ सालमा तोकिएको थियो । त्यस यता २२ वर्षदेखि दरबन्दीको संख्यामा वृद्धि हुन सकेको छैन् । हाल थप १८ जना प्रहरीहरुलार्ई कागज गरेर ट्राफिक प्रहरीमा ल्याइएको छ । जसलाई जोड्दा हाल जिल्लामा जम्मा ४९ जना ट्राफिक प्रहरी रहेका छन् ।

यो संख्या हात्तीको मुखमा जिरा भने जस्तै भएको भट्ट बताउँछन् । ‘०५५ साल र अहिलेमा कति फरक छ । सवारी साधनहरु कति बढेका छन् । सडक सञ्जालहरु कति विस्तार भएका छन्, उनले भने, ‘त्यसको अनुपातमा ट्राफिक प्रहरीको संख्या वृद्धि हुन सकेको छ्र्रैन ।’

जिल्ला कार्यालयमा २४ जना ट्राफिक प्रहरी रहेका छन् भने बाँकी २५ जना मातहतका कार्यालयमा रहेका छन् । ट्राफिक कार्यालय मुग्लिनमा पाँच जना रहेका छन् भने अन्यमा एकदेखि तीन जना रहेको भट्टले जनाए । मुग्लिनमा स्थायी कार्यालय रहेको छ भने गोन्द्राङ्, टाँडी, खैरहनी, भण्डारा, जुगेडी, गीतानगर, फूलबारीमा अस्थायी कार्यालय रहेको छ । संख्या कम हुँदा जिल्लाका सबै आवश्यक स्थानमा ट्राफिक कार्यालय स्थापना गर्न नसिएको भट्टले बताए । चनौली, मेघौली, माडी, फिसलिङ, आँपटारी, खोलेसिमिल र जुटपानीमा तत्कालै ट्राफिक प्रहरीको कार्यालय आवश्यक रहको उनले बताए । जिल्लामा हाल कम्तीमा १५० जना ट्राफिक प्रहरीको आवश्यकता रहेको उनले बताए ।

‘जनशक्ति कम हुँदा बजार क्षेत्रमा जथाभावी पार्किङ गर्ने सबैलाई कारबाही गर्न सकिएको छैन । सबै चोकमा ट्राफिक जाँच गर्न सकिएको छ्र्र्रैन । नारायणगढ बजारका प्रत्येक चोकमा चार जना ट्राफिक आवश्यक परे पनि एक जनाले हेर्छन्, उनले भने ‘यता हेरे उता भद्रगोल हुन्छ । सबैलाई कारबाही गर्न सकिँदैन ।’

प्रविधिको पनि उस्तै अभाव

ट्राफिक प्रहरीको संख्यामात्र होइन चितवनमा ट्राफिक व्यवस्थापनमा चाहिने अत्यावश्यक प्रविधिको पनि अभाव छ । ट्राफिक प्रमुख भट्टले ट्राफिकलाई अति आवश्यक पर्ने मापसे जाँच मेशिन (ब्रेथलाइजर) को पनि अभाव भएको बताए । उनका अनुसार बे्रथलाइजर मेशिन जिल्लामा जम्मा दुई वटा छ । यस्तै ट्राफिक लाइट, ब्याटन लाइट, गोप्रो क्यामेरा छँदै छैन । सीसी क्यामेराहरु प्रर्याप्त छैनन्् । तीव्र गति मापन गर्ने यन्त्र वागमती प्रदेश भरीमै एउटा छ । करिब १२ लाख पर्ने उक्त मेशिन हरेक जिल्लामा घुमिफिरी कहिलेकाहीँ मात्र चितवन आइपुग्छ ।

कार्यालयमा राम्रो मोनिटर राखेर अनि बाहिर सीसीटिभी राखेर हेर्न सके ट्राफिक प्रहरीको संख्या कम भए पनि ट्राफिक व्यवस्थापनलाई केही प्रभावकारी बनाउन सहज हुने उनको भनाइ छ ।

अन्य निकायको पनि उत्तिकै जिम्मेवारी

ट्राफिक प्रहरीले ट्राफिक आवगमनलाई सहज पार्ने काम मात्र गर्छ । ट्राफिक व्यवस्थापन सहज पार्न अन्य निकायको पनि उत्तिकै भूमिका रहने प्रमुख भट्टले बताए ।

उनका अनुसार सडकमा साइकल लेन नहुँदा, जथाभावी खाल्डाखुल्डी, बाटो साँघुरो, सडक बत्ती र पार्किङ्को पर्याप्त स्थान नहुँदा पनि चितवनमा ट्राफिक व्यवस्थापन सहज हुन सकेको छ्र्रैन । ‘नारायणगढका सबै घर पुराना मोडलका छन् । पार्किङ गर्ने ठाउँ पनि छैन । गाडी सबैसँग छ, उनले भने ‘त्यसैले चितवनमा सिटी हल बनाउन लागिए जस्तै पार्किङ्ग प्लाजा बनाउन आवश्यक छ ।’  सोचेजस्तो ट्राफिक व्यवस्थापन गर्न ट्राफिकको पर्याप्त संख्या, अत्यावश्यक प्रविधिका साथै सडक र पार्किङको पनि महत्वपूर्ण स्थान हुने उनले बताए । ट्राफिक व्यवस्थापन राम्रो भएमा दुर्घटनामा कमी आउनुका साथै बजार पनि सुन्दर देखिने उनले बताए । जबसम्म चितवनका यी समस्या समाधान हुँदैनन् तबसम्म जिल्लामा ट्राफिक व्यवस्थापन प्रभावकारी हुन नसक्ने ट्राफिक प्रमुख भट्ट बताउँछन् ।

ट्राफिकका आफ्नै पीडा

अपर्याप्त जनशक्ति र प्रविधिको अभावका बाबजुत पनि ट्राफिक प्रहरीले जिल्लामा ट्राफिक व्यवस्थापनका लागि सक्दो काम गरिरहेको ट्राफिक प्रमुख भट्टले बताए ।

‘ट्राफिक प्रहरीले चेकजाँच गर्दा, चिट काट्दा सर्वसाधारण रुष्ट हुन्छन् । ट्राफिक आँफैले पैसा खल्तीमा हाल्न मागे जस्तो गर्छन्, उनले भने ‘तर जरिबानाबापत उठाइएको सबै पैसा सरकारकै लागि भन्ने अधिकांशले बुझेका हुँदैनन् ।’ २०७० सालअघि जरिवाना बापत उठाइएको रकमको १५ प्रतिशत ट्राफिक प्रहरीलाई दिने गरिन्थ्यो । त्यसलाई कटौती गरेर २०७० सालदेखि काममा खटिने ट्राफिक प्रहरीका लागि भनेर दैनिक २०० भत्ता दिने निर्णय गरियो । उक्त निर्णलाई पनि दुई वर्षमै खारेज गरियो । २०७३ सालदेखि ट्राफिक प्रहरीले तलबबाहेक अन्य रकम पाउँदैनन् । धुलो र धुवाँमा सँधै खटिरहने ट्राफिक प्रहरीको सेवासुविधामा कटौती हुँदा पछिल्लो समय ट्राफिक प्रहरीमा नैराश्यता आएको प्रमुख भट्ट बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका