जोडिनुहोस
  • होमपेज
  • चितवनका ५ स्थानीय तह कृषि ब्लक विकास कार्यक्रमका लागि छनौट

चितवनका ५ स्थानीय तह कृषि ब्लक विकास कार्यक्रमका लागि छनौट

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, पुस २५ –

चितवनका ५ स्थानीय तह कृषि ब्लक विकास कार्यक्रमका लागि छनौट भएको छ । चितवनको भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका, माडी नगरपालिका, रत्ननगर नगरपालिकामा ब्लक विकास कार्यक्रमका लागि छनौट भएको हो ।

कृषि ज्ञान केन्द्र चितवनले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगतको ब्लक विकास कार्यक्रम सञ्चालन गर्दैछ । जसका लागि चितवनका ५ सहित मकवानपुरका ८ स्थानीय तहमा यो कार्यक्रम सञ्चालन हुने जनाइएको छ । एक महिनाभित्रमा ब्लक विकास कार्यक्रम लागु गरिने ब्लक कार्यक्रमका फोकल अधिकृत कुमराज अर्यालले जानकारी दिए ।

एक स्थानीय तह एक ब्लक अन्र्तगत यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । चितवन अन्तर्गत भरतपुर २५ र खैरहनी १२ मा तरकारी ब्लक , माडी ४ मा धान ब्लक, रत्ननगर १४ मा केरा ब्लक र इच्छाकामना ३ मा सुन्तला ब्लक सञ्चालन गर्ने निर्णय भएको छ ।

मकवानपुर अन्तर्गत हेटौंडा उपमहानगरपालिका १२ मा मकै ब्लक, थाहा नगरपालिका ३ मा आलु ब्लक, मनहरी गाउँपालिका ६ मा तरकारी ब्लक, राक्सिाराङ गाउँपालिका ६ र कैलाश गाउँपालिका ८ मा अदुवा ब्लक,  बागमती गाउँपालिका ८ मा मकै ब्लक र बकैया गाउँपालिका ४ मा तरकारी ब्लक सञ्चालन गरिने भएको हो । ब्लक एउटा निश्चित क्षेत्रभित्र बसोबास गर्ने किसानहरुको जग्गामा सञ्चालन हुनेछ । जग्गा एकै ठाउँमा हुनुपर्छ भन्ने हुँदैन ।

एउटा ब्लकको लागि २५ लाख रुपैयाँ गरी कुल ३ करोड २५ लाख रुपैयाँ बजेट ब्लक विकास कार्यक्रमका लागि छुट्याइएको छ । ब्लकका लागि किसानलाई यान्त्रिकरणमा ५० प्रतिशत, साना सिंचाईमा ८५ प्रतिशत र प्राविधिक सेवामा १०० प्रतिशत अनुदान दिइने अर्यालले बताए ।

अर्यालका अनुसार यस कार्यक्रम ०७७/७८ साउनबाट सुरु भइसकेको छ । हालसम्मको अवधिमा कुन स्थानमा ब्लक सञ्चालन गर्ने र कुन संस्थामार्फत सञ्चालन गर्ने भन्ने कुराको टुंगो लगाइएको उनले बताए । सहकारी, कृषक समूह र कृषि फर्ममार्फत ब्लक सञ्चालन गर्ने निर्णय गरिएको छ । प्रत्येक स्थानीयतहबाट प्रस्ताव गरेका संस्थाहरुलाई छनौट गरी एउटा ब्लक एउटा संस्थालाई जिम्मा दिने गरी सम्झौता गर्न लागिएको अर्यालले बताए । धेरैजसो ब्लकको जिम्मा सहकारीलाई दिने गरी सम्झौता हुँदैछ । सबै प्रकृया पूरा गरी केन्द्रमा पठाइएकाले अबको एक हप्ताभित्र सम्झौता कार्य सम्पन्न भई ब्लक निर्माणका लागि काम अघि बढाइने अर्यालको भनाइ छ ।

दुई वर्षसम्म ज्ञान केन्द्रले सहकारी, कृषक समूह र फर्ममार्फत ब्लक सञ्चालन गरिसकेपश्चात ब्लक सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिइने छ ।

कृषि क्षेत्रको विकासका निम्ति सरकारले उब्जनी हुने क्षेत्रहरुमा पकेट, ब्लक, जोन र सुपरजोन निर्माण गरी कृषि बाली उत्पादनका लागि किसानहरुलाई प्रोत्साहन गर्ने काम गर्दै आएको छ । ब्लकमा १०० हेक्टरको जग्गा हुनेछ भने पकेटमा १० हेक्टर, जोनमा ५०० र सुपरजोनमा १ हजार हक्टर क्षेत्रफलको जग्गा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका