जोडिनुहोस

विचार/ब्लग

किन बन्ने शाकाहारी ?

किन बन्ने शाकाहारी ?

डा.हेमराज कोइराला–

परिचय:
शाकाहार अर्थात् वनस्पतिजन्य खाद्य पदार्थहरूको सेवनलाई मात्र आधार बनाएर गरिने भोजन पद्धतिको अभ्यासलाई शाब्दिक रूपमा शाकाहार भनिन्छ । शब्द कल्पद्रुम नामक संस्कृत कोषले ‘पत्रं, पुष्पं, फलम्, नालम्, कन्दम् संम्वेदजं तथा’ भनी पत्रम् (पात), पुष्पम् (फल), फलम् (फल), नालम् (डाँठ), कन्द (जरा) र सम्वेदजं (चोप) लगायत ६ प्रकारका वनस्पतिजन्य उत्पादनलाई शाक मानेको छ । विश्वका विभिन्न सभ्यताहरूमा पृथक् पृथक् ढङ्गले शाकाहारको अभ्यास गर्ने गरिन्छ । धर्म, संस्कृित, आध्यात्मिकता, दया, माया, करुणाजस्ता मानवीय मूल्यसँग गाँसिएको शाकाहारलाई मांशाहारीको विपरितार्थी शब्दको रूपमा बुझिए पनि यसको वैश्विक अभ्यास हेर्दा शाकाहार भनेको मांशाहारी नगर्नु मात्र हुन आउँदैन ।

पूर्वीय दर्शनमा आधारित शाकाहारको अभ्यासले जीवहत्या गरेर प्राप्त खाद्यलाई शाकाहार मान्दैन भने जीवहत्या नगरी प्राप्त हुने दूध तथा दुग्धजन्य पदार्थलाई र हत्या गरेर प्राप्त हुने महलाई पनि शाकाहार नै मान्छन् । चलनचल्तीको भाषामा यस्ता शाकाहारीलाई ल्याक्टो– भेजिटेरियन भनिन्छ । ल्याक्टो–भेजिटेरियनहरू माछा, मासु, अण्डा खाँदैनन् तर दूध तथा दुग्धजन्य पदार्थहरू खाने गर्दछन् । त्यसैगरी, माछा, मासु, दुग्धपरिकार नखाने तर अण्डा खानेलाई ओभो–भेजिटेरियन भनिन्छ । माछा, मासु नखाने तर दुग्धजन्य पदार्थ, मह र अण्डा खानेलाई ल्याक्टो–ओभो—भेजिटेरियन भनिएको छ । जन्तुबाट प्राप्त कुनै पनि पदार्थको सेवन, धारण तथा प्रयोग नगर्ने शाकाहारीलाई भेगन वा शुद्ध शाकाहारी भन्ने गरिन्छ ।

कतिपय भेगनहरू केवल नपकाएको वनस्पति उत्पादन मात्र खाने गर्दछन् भने कतिपय शुद्ध फल मात्र सेवन गर्ने गर्छन् । काँचो फलफूल तथा सागपात मात्र खाने भेगनलाई ‘र भेगन’ भनिन्छ भने फलफूल मात्र खानेलाई ‘फ्रुटोटेरियन’ भन्ने गरिन्छ । शाकाहारका विषयमा भइरहेका विभिन्न खोज अनुसन्धानले आज यसलाई जीव, जीवन र जगत्रक्षाको महत्त्वपूर्ण कडीको रूपमा स्थापित गरिसकेको छ । यस परिप्रेक्षमा हामीले तिनै तथ्य र वैज्ञानिक प्रमाणहरूलाई सँगालेर यसमाथि पुनरावलोकन गरेका हौँ ।

मांशाहारी र वातावरण

सन् २००७ मा विश्व खाद्य तथा कृषि सङ्गठनले आधुनिक मांश केन्द्रित पशुपालन व्यवसायलाई पृथ्वीको पर्यावरण प्रणालीको मुख्य विनाशकको रूपमा मानेको छ । यी मांस केन्द्रित पशुशालाहरू ग्लोबल वार्मिङ गराउने ग्रीन हाउस ग्याँसका प्रमुख उत्पादक हुन् भने पृथ्वीको जैविक विविधता समाप्त गराउने पनि प्रमुख कारण हुन् । त्यसैगरी, गरिब तथा विकाशशिल देशमा यिनै पशुशालाहरू पानी प्रदूषणको अग्र कारकमा पर्छन् । मांश तथा दुग्ध उत्पादनका लागि पालिएका पशु चराउन हिउँले नढाकिए मध्येको २६% जमिन प्रयोग भइरहेको छ भने यी पशु धन पाल्नका लागि कूल कृषियोग्य भूमिको ३३% पशुआहार उत्पादनमा खर्च भइरहेको तथ्य छ । यसरी पालिएका पशुलाई स्वतन्त्र रूपमा चराउँदा पशुपालन प्रेरित वन विनाश भइरहेको छ, जसको कारणले महत्वपूर्ण वनस्पति तथा जन्तुहरू लोप हुने अवस्थामा पुगेका छन् ।

मांशाहारी र मौसम परिवर्तन

पानीको बाफ, कार्बनडाएअक्साइड, मिथेन, नाइट्रस अक्साइड र ओजनलगायत ग्रीन हाउस ग्यासको अत्याधिक उत्पादनका कारणले पृथ्वीको तापक्रम बढ्दै गइरहेको छ । यी विशिष्ट उष्माधारिता भएका यी ग्रीनहाउस ग्यासहरूको उत्सर्जनमा मासु तथा दूधका लागि पालिएका पशुपंक्षीहरूले प्रत्यक्ष एवम् परोक्षरूपमा सहयोग पु¥याइरहेका छन् । संसार भर प्रत्येक वर्ष ७.१ अरब टन कार्बन डाइअक्साइड बराबरको हरित गृह ग्याँसको उत्पादन जनावरहरूबाट हुने गर्छ. । यो आँकडा मानवजनित हरित गृह ग्याँस उत्पादनको १४.५% हो । जनावरले मुख्यरूपमा उत्सर्जन गर्ने मिथेन र नाइट्रस अक्साइड ग्याँस कार्बन डाइअक्साइडभन्दा क्रमशः २३ र २९६ गुणा बढी ग्लोबल वार्मिङ गर्न सक्ने क्षमताका छन् । मिथेन ग्याँस जनावरले दाना पचाउने र गोबरको व्यवस्थापनका क्रममा निस्किन्छ । संसारभर प्रत्येक वर्ष जनावरबाट उत्सर्जित हुने मिथेन ग्याँसको मात्रा लगभग २.२ अरब टन कार्बन डाइअक्साइड बराबर हुन आउँछ । एउटा वयस्क गोरू वा राँगाले प्रतिवर्ष ७५ किलोग्राम मिथेन ग्याँस उत्पादन गर्छ । जुन १.५ टन कार्बन डाइअक्साइड बराबर हो ।

यो मिथेन ग्याँस उत्सर्जनको मात्रा पाँच जना बस्न मिल्ने सानो कारलाई ५८.३२ घण्टा सम्म लगातार दौडाएर उत्सर्जित भएको कार्बन डाइअक्साइड बराबर हो । त्यसैगरी नाइट्रस अक्साइड ग्याँसको प्रत्यक्ष उत्पादन गोबर व्यवस्थापनसँगै सम्बद्ध छ भने अप्रत्यक्षरूपमा जनावरलाई खुवाउन रोपिएका दानादार बिरुवाको उत्पादनसँग सम्बद्ध छ । यसरी, प्रत्येक वर्ष जनावरहरूबाट उत्सर्जित हुने नाइट्रस अक्साइड ग्याँसको मात्रा पनि २.२ अरब टन कार्बन डाइअक्साइड बराबर हुन आउँछ । त्यसैगरी, मासु र दुग्धजन्य पदार्थको उत्पादन भण्डारण र ढुवानीमा खर्च हुने इन्धनको दहनबाट २.७ अरब टन कार्बनडाइअक्साइड ग्यासको उत्पादन हुने गर्छ । शाकाहारी भएरै हामीले पृथ्वीले भोगिरहेका तीन मुख्य समस्याहरूः १) मौसम परिवर्तन २) पानी तान्न सक्ने वनको (रेन फरेस्ट) विनाश र ३) प्रदूषणहरू माथि विजय पाउन सक्छौँ । किनकी मांशजन्य उद्योगमा पालिएका पशुधनहरूले उत्सर्जन गर्ने हरित गृह ग्याँस संसार भरिकै यातायातका सामग्रीहरूले उत्सर्जन गर्ने भन्दा बढी छ । एउटा मान्छे शाकाहारी भएमा वातावरण रक्षाका लागि एउटा सानो इलेक्ट्रिक कार चलाउनुभन्दा ५१% ज्यादा कार्बन उत्सर्जन बचाउन सक्नेछ ।

मांशाहारी र भोकमरीको समस्या

संसारभरका सात सय ३० करोड मानिसहरूमध्ये केवल ५०–६० करोड मात्र शाकाहारी छन् । चार्टवीन नामक वेबसाइटले दर्शाएअनुरूप सन् २०१९ सम्मको तथ्याङ्कलाई हेर्दा संसारभर मासुको प्रतिव्यक्ति खपत ४१.९० किलोग्राम प्रतिवर्ष रहेको छ, जसमा नेपालीको औसत खपत १२.९ किलागे्राम प्रतिवर्ष छ भने सबैभन्दा धेरै १२०.२ केजी प्रतिवर्ष, प्रतिव्यक्ति खपत, संयुक्त राज्य अमेरिकामा र सबैभन्दा कम खपत ४.४ केजी प्रतिवर्ष प्रतिव्यक्ति भारतमा छ । तर, यो तथ्याङ्क बिस्तारै बढिरहेको छ र १२६ किलोग्राम प्रतिव्यक्ति प्रतिवर्ष पु¥याएर सन् २०११ मा न्यूजिल्यान्ड अग्रपङ्क्तिमा थियो । त्यसैगरी, संसारभर प्रतिवर्ष औसतमा ७२ करोड,७० लाख, ५२ हजार १२ टन मासु उत्पादन हुने गरेको छ ।

मासु उत्पादन गर्नेमा चाइना सबैभन्दा अग्रपङ्क्तिमा छ, जसले आठ करोड, नौ लाख, ७० हजार, ६२७ टन मासु प्रतिवर्ष उत्पादन गर्दछ भने सबैभन्दा कम ६ टन मासु उत्पादन गर्ने देश सेन्ट पियारे मिक्युलोन हो । नेपालले पनि प्रतिवर्ष तीन लाख, २८ हजार, ६२५ टन मासु उत्पादन गर्छ । यसरी, संसारको मांशाहारीप्रति बढ्दो मोहलाई दृष्टिगत गर्दा आउँदो समयमा सस्तो खानेकुराको जमाना सकिएभैmँ लाग्छ । किनकी मांशाहारी महंगो खानेकुरा हो । संयुक्त राष्ट्र संघले नै सार्वजनिक गरेको तथ्य अनुरूप प्रतिदिन २१ हजार व्यक्तिहरू भोकमरी र भोकसँग सम्बन्धित कारणहरूले मारिन्छन् र यसै अनुपातमा यो सङ्ख्या प्रतिवर्ष ७६ लाख ६५ हजारको हुन पुग्छ । यसैगरी, संसारभर भोकसँग जुधिरहेका र दुई छाक राम्ररी खान नपाउनेहरूको सङ्ख्या लगभग ८७ करोड रहेको छ र यो विषम परिस्थितिकोे मूल कारण मांशाहारीसँग सम्बन्धित छ ।

किनकी व्यावसायिक मासु उत्पादन गर्न ठूलो परिमाणमा पशुलाई अन्न खुवाएर मासु प्राप्त गरिन्छ । ‘सोया प्रोटिन एन्ड फर्मेन्टेड मिट प्रोडक्ट’ नामक पुस्तकमा भनिए मुताबिक एक केजी गाई वा भौसीको मासु उत्पादन गर्नलाई ७ किलो अन्न, एक किलो सँुगुरको मासु उत्पादन गर्न चार किलो अन्न, एक केजी कुखुराको मासु उत्पादन गर्न २.२ के.जी अन्न र एक केजी माछा उत्पादन गर्नलाई १.२ केजी अन्न खुवाउनु पर्छ ।

विकसित देशमा ७०% अनाज केवल पशुपंक्षी जनावरलाई खुवाएर मासु उत्पादन गर्नको लागि खर्च हुने गर्छ भने विकासशील देशहरूमा यो आँकडा ४०% को छ । यस्तो परिप्रेक्षमा संसारमा प्रतिवर्ष उत्पादित ७२ करोड ७० लाख ५२ हजार १२ टन मासु उत्पादन गर्न लाग्ने अन्न र त्यो अन्नको १०% हिस्सा मात्र भोकमरीग्रस्त जनहरूसम्म पु¥याउन सके आजको भोकमरीको समस्या तत्काल हल हुन सक्छ । ३२ करोड जनसङ्ख्या भएको संयुक्त राज्य अमेरिकाले मात्र शाकाहारी भइदिएर जनावरलाई खुवाउने खाना मान्छेलाई खुवाउने हो भने ८० करोड ९८० मिलियन भोका व्यक्तिलाई मज्जासँग तीन छाक खुवाउन सकिन्छ ।

मांशाहारी र प्रदूषण

एउटा ठूलो मांस केन्द्रित पशुधनशालाले उत्पादन गर्ने फोहोर एउटा सानो सहरबाट उत्पादित हुने फोहोरभन्दा ज्यादा हुन्छ । संयुक्त राज्य अमेरिकामा पशुशालाबाट मात्र १३३ मिलियन टन सुख्खा फोहोर प्रतिवर्ष उत्पादित हुने गरेको छ । जुन अमेरिकाको जनसङ्ख्याले उत्पादन गर्ने फोहोरभन्दा १३ गुणा ज्यादा छ । पशुशाला (जसलाई कन्सन्ट्रेटेड एनिमल फिडिङ अपरेसन पनि भनिन्छ) बाट उत्पादित पशुजन्य फोहोरमा पशुलाई खुवाउन प्रयोग भएका खाद्यान्नको मात्र कीटाणु विषालु लेउ, झ्याउ, ढुसी, परजीवी, पशु औषधिको मात्रा, भारी धातुहरू (जस्ता, तामा आदि) जनावरको हरमोन, एन्टीबायोटिक्स, कीटनाशक विषादि आदि पाइन्छन् । यो फोहोरलाई उर्वरकको रूपमा खेतमा बिसर्जन गरे पनि यसले पानी, माटो, हावालगायतलाई प्रदूषित गर्छ । जसमध्ये नाइट्रेट प्रदूषण मुख्य छ । यसरी, पानी प्रदूषण गर्नुमा जनावरको मल मात्र जिम्मेवार नभएर जनावरलाई खुवाउन अन्धाधुन्ध प्रयोग भएको आधुनिक खादमल पनि झन् धेरै जिम्मेवार छ । मांस केन्द्रित पशुशालाबाट उत्पादित फोहोरमा मान्छेको दिसाभन्दा १० देखि १०० गुणा ज्यादा साना कीटाणुहरू हुन्छन् र ४० भन्दा धेरै रोगहरू पशुकै मलको कारणले लाग्न सक्छन् ।

मांशाहारी र इन्धन बचत

विश्वको इन्धन खपतको ठूलो हिस्सा मांशाहारीसँग जोडिएको छ । व्यावसायिक कृषि फर्ममा पशुधनहरूलाई खुवाउन उत्पादन गरिने घाँस एवम् दानामा धेरै ऊर्जा खर्च गरिन्छ । त्यसपछि, ऊर्जाको खपत जनावरहरू पाल्ने फर्म हाउसमा, जनावर काटिने कत्लखाना, मासु प्रशोधन गरिने मेसिन र फ्याक्ट्री चलाउनका निम्ति हुने गर्छ । मासु प्रशोधित भइसकेपछि यसलाई एक ठाउँबाट अर्काे ठाउमाँ लैजान ठूलो मात्रामा इन्धन खपत हुने गर्छ । मासु किनेर ल्याइसकेपछि नसडोस् भनेर हरेक घरमा यसलाई फ्रिजिङ र कुलिङ गर्नमा इन्धन खपत हुने गर्छ र अन्ततोगत्वा ल्याएको मासुलाई पकाउनमा ठूलो मात्रामा इन्धन खपत हुने गरेको छ । एक अध्ययनले दर्शाएअनुरूप एउटा चार सदस्यीय अमेरिकी परिवारले ४८० केजी. मासुउत्पादन गरी प्रयोग गर्दासम्ममा औसत ९८४ लिटर (२६० गेलेन) पेट्रोल लाग्ने अनुमानित तथ्यांक छ ।

कर्नेल युनिभर्सिटीका डेबिड पिमेन्टल भन्नुहुन्छः मांसजन्य पदार्थबाट एक क्यालोरी प्रोटिन प्राप्त गर्न २८ क्यालोरी पेट्रोलियम ऊर्जा खर्च गर्नुपर्छ भने अनाजबाट सोही क्यालोरी बराबरको प्रोटिन प्राप्त गर्न केवल ३.३ क्यालोरी पेट्रोलियम ऊर्जा खर्च हुन्छ । एक पाउन्ड मांसजन्य प्रोटिन उत्पादन गर्न वनस्पतिजन्य प्रोटिन उत्पादन गर्नु भन्दा १२ गुणा ज्यादा जमिन, १३ गुणा ज्यादा इन्धन र १५ गुणा ज्यादा पानीको आवश्यकता पर्छ ।

मांशाहारी र जैविक विविधता

मांशाहारीीको सङ्ख्या वृद्धिले गर्दा महत्वपूर्ण जंगली जनावरका मासु खान चोरीशिकारी दिनानु दिन बढ्दै गइरहेको छ । यसले हाम्रो जंगली जीवसत्ता र त्यस ठाउँको जैविक विविधता पनि सिध्याउँदै छ ।

मांशाहारी र गरिबी निवारण

संसारभर प्रतिवर्ष ७२ करोड ७० लाख ५२ हजार ०१२ टन मासु उत्पादन हुन्छ । यसै सिलसिलामा खरबौँ खरबको साधनस्रोत खर्चिएको छ । यति मासुको दाम यदी ५०० रूपैयाँ प्रति किलोले मात्र हिसाब गर्ने हो भने पनि त्यो तीन लाख ६३ हजार ५२६ अरब हुन आउँछ । यसको आधालाई मात्र लागत मान्दा पनि १ लाख ८१ हजार ७६३ अरब रूपैयाँ शाकाहारी भएर बचाउन सकिन्छ ।

मांशाहारी र स्वास्थ्य

संसारभर प्रत्येक वर्ष एक करोड ७५ लाख मान्छे मुटु तथा रक्तनलीको रोगले गर्दा मारिने गर्छन् । जुन विश्वव्यापी मृत्युको ३१% हो । यसरी, संसारभरी प्रतिवर्ष धेरै मान्छे मार्ने रोगको मुख्य कारण मांशाहारी हो । मांशाहारी एवम् सिचुरेटेड चिल्लोको प्रयोग एक्लै मुटु रोगको ४०% जोखिम कारक हो ।

डा. डिन अनिस, जो अमेरिकाका मुटु रोग विशेषज्ञ हुन्, उनले मुटुरोगबाट बच्न र लागेको मुटरोगलाई बिना औषधि र अपरेसन उल्ट्याउन पूर्ण शाकाहार अपनाउनु पर्ने तथ्य पत्ता लगाएका हुन् । हार्वार्ड स्कुल अफ पब्लिक हेल्थले सन् २०१२ मा गरेको अनुसन्धानमा जनाएअनुसार रातो मासुको उपभोग नगर्ने जनसमुदायभन्दा उपयोग गर्ने सामान्य जनसमुदायको मृत्युदर ७–१९% ले बढेर गएको तथ्य पत्ता लगाए र मृत्युको कारक रोगहरूमा मांशाहारीले उत्पन्न क्यान्सर र मुटरोग थिए । त्यसैगरी, हार्वार्ड स्कुल अफ पब्लिक हेल्थमै गरिएको अर्काे अनुसन्धानले प्रशोधित वा अप्रशोधित मासु खानेहरूलाई टाइप २ मधुमेह हुने तथ्य पत्ता लगाएका छन् । यसै अनुसन्धानमा एक समयको मासु हटाएर गेडागुडी र फलफूल खुवाउँदा मात्रै पनि यो रोग लाग्ने खतरा १७–३५% ले कमी भएको पाइयो । चार लाख मान्छेहरू माथि २०१३ मा गरिएको अध्ययनले प्रशोधित मासु खानेहरूमा मुटु रोग र क्यान्सर लागेर चाँडै मृत्यु हुने खतरा भएको पाइयो ।

त्यसैगरी, २००७ मा अमेरिकाको मेरिल्यान्डमा नेसनल इन्स्च्यिुट अफ हेल्थले अमन्दा क्रसको अगुवाइमा गरेको अनुसन्धानले रातो र प्रशोधित दुवै खाले मासुको सेवनको ठूलो आन्द्रा, फोक्सो, अन्ननलि र कलेजोको क्यान्सरसँग घनिष्ठ सम्बन्ध भएको पाइयो । यसैगरी, मांशाहारी गर्नेहरूलाई कोलेस्टेरोल बढ्ने, रक्तचाप बढ्ने, निद्रा नलाग्ने, मुड अफ हुने, चिट्चिडाहट बढ्ने, ग्यास्ट्राइटिस, कब्जियत, रक्त क्यान्सर जस्ता अनेकौँ रोग लाग्ने उच्च सम्भावना हुन्छ ।

मांशाहारी र फुड पोइजनिङ

अमेरिकी मासुपसलहरूमा गरिएको माइक्रो बायोलोजिकल अध्ययनले ४७% पसलहरूमा व्याक्टेरियल कन्टामिनेसन भएको पाइएको छ, जसमध्ये आधाभन्दा धेरै प्रजातिका ब्याक्टेरियाहरू एन्टिबायोटिकले पनि मार्न नसकिने खालका रहेका छन् ।

मांशाहारी र जुनोसिस

माछामासुको सेवन गर्नेहरूलाई स्वाइन फ्लु, बर्ड फ्लु, रेबिजजस्ता सयौँ जुनोसिस (जनावरबाट मान्छेमा सर्ने) रोगहरूको उच्च जोखिम पाइएको छ ।

उपसंहार

संसारमा मांशाहारीको ठूलो सङ्ख्या छ र यो सङ्ख्या अझै बढ्दो क्रममा छ । मासांहारीको बढ्दो सङ्ख्याले जीव, जीवन र जगत्लाई नै संकटमा धकेलिरहेको छ । यस परिप्रेक्ष्यमा यदि भोलिको खतरालाई अनुमान गरेर आजैदेखि शाकाहारी हुने हो भने यो सृष्टि बचाउनको लागि ठूलो योगदान हुनेछ । त्यसैले, आउनु्होस्, तपाईँहामी सबै मिली आजैदेखि शाकाहारी हुने सत्संकल्प गरौँ ।

(डा कोइराला योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय भरतपुर–१ का मेडिकल डाइरेक्टर हुन् । )

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका