



चितवन, पुस २३–
तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ को लागि आवेदन खुल्ला गरिएको छ । वाइएसी इभेन्ट्सको सहकार्यमा जह इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको मिस्टर एण्ड मिस थारुको आवेदन खुल्ला गरिएसंगै अडिसनको मिति समेत तय गरिएको छ ।
आयोजकका अनुसार माघ २४ गते चितवनसंगै विराटनगर र नेपालगञ्जमा एकसाथ अडिसन हुँदैछ । यस्तै माघ २८ गते झुम्का, लहान, वीरगञ्ज र धनगढीमा एकसाथ अडिसन हुँदैछ । त्यस्तै फागुन १ गते काठमाडौं, बुटवल र दाङमा अडिसनको मिति तय गरिएको जह इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश चौधरीले जानकारी दिए । कोभिड–१९ का कारण ढिला गरी प्रतियोगिता आयोजना गर्न लागिएको चौधरीले बताए ।
अडिसनका लागि सहज होस् भन्नका लागि आयोजकले हरेक अडिसन क्षेत्रका लागि छुट्टाछुट्टै आधिकारिक प्रतिनिधि तोकेको छ । अन्तरगत विराटनगर अडिसनका लागि सिजन चौधरी र आकृति चौधरीलाई प्रतिनिधिको रुपमा तोकिएको छ ।
त्यस्तै सुनसरीको झुम्का अडिसनका लागि रजनिस चौधरी, सिराहाको लहान अडिसनका लागि नितेश चौधरी, चितवनका लागि सृष्टि चौधरी र आशा चौधरी, बुटवल अडिसनका लागि रविन चौधरी र विज्ञान चौधरीलाई प्रतिनिधिको रुपमा तोकिएको छ ।
यसैगरि दाङ अडिसनका लागि रेविका चौधरी, नेपालगञ्ज अडिसनका लागि माया चौधरी, वीरगञ्ज अडिसनका लागि राजीव चौधरी, धनगढी अडिसनका लागि डेविड चौधरी र पार्वती चौधरीलाई प्रतिनिधिको रुपमा तोकिएको छ ।
अडिसनबाट छनौट भएकाहरुलाई फागुन ८ गते अभिमुखीकरणमा सहभागि गराइने छ । त्यस्तै फागुन ९ गतेदेखि चैत्र ४ गतेसम्म छनौट भएका सहभागिहरुलाई प्रशिक्षण गराईने छ ।
लगातार दुई संस्करणको ग्राण्ड फिनाले काठमाडौंमा भए पनि यसपटक भने चितवनमा हुने भएको छ । चैत्र ७ गते प्रतियोगिताको ग्राण्ड फिनाले गरिने वाइएसी इभेन्ट्सका इभेन्ट म्यानेजर जयस चौधरीले जानकारी दिए । उनले यसपटकको ग्राण्ड फिनाले अझै भव्य बनाउने प्रयासरत रहेको बताए ।
सन् २०१७ देखि यस प्रतियोगिताको सुरुवात भएको थियो । पहिलो संस्करणको मिस्टर थारु २०१७ चन्दन चौधरी भएका थिए भने मिस थारु २०१७ जेनिशा चौधरी भएकी थिइन् । त्यस्तै २०१८ को मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् ।


Hi