



माडी,पुस २३-
होली भिजन पब्लिक स्कुल भरतपुरबाट माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरी हाल अध्ययनको लागि जापानमा रहनुभएकी कृषला कँडेलको सहयोगमा बुधबार माडी–८ का चेपाङ बालबालिकाहरुलाई झोला र न्यानो कपडा वितरण गरिएको छ । भरतपुर–४ धर्मचोकमा स्थायी घर भइ हाल अध्ययनको लागि जापानमा रहनुभएकी कृषला कँडेलले आफैले आम्दानी गरेको रकमबाट माडी–८ को शिवद्वार र इन्द्रबस्तीको नदीकिनारमा बसोवास गरेका ५० जना सुकुम्बासी चेपाङ बालबालिकालाई झोला वितरण गरिएको हो । झोला वितरण गर्दै माडी–८ का वडाध्यक्ष कृष्णराज अधिकारीले समाजसेवी कृषला कँडेलको सहयोगबाट विपन्न बालबालिकाहरुको शैक्षिक विकासमा महत्वपूर्ण योगदान मिल्ने जनाउँदै सुकुम्बासी चेपाङ समुदायका बालबालिकालाई सहयोग गर्ने सहयोगीहरुप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
झोला वितरण कार्यक्रममा मिराकल गार्डेन माडीका सञ्चालक दामोदर देवकोटा, सामुदायिक होम स्टे शिवद्वार का अध्यक्ष मानबहादुर पुन लगायतको उपस्थिति थियो । कार्यक्रममा सुकबहादुर चेपाङले विपत्तिको बेलामा सुकुम्बासी चेपाङ बालबालिकालाई सहयोग गर्ने सहयोगी कृषला कँडेलप्रति सुकुम्बासी चेपाङ परिवारको तर्फबाट धन्यवाद ज्ञापन गर्दै उत्तरोत्तर प्रगतीको कामना गर्नुभयो । वितरणको समन्वय र सहजीकरण सञ्चारकर्मी नारायण सापकोटाले गर्नुभएको थियो ।