जोडिनुहोस
  • होमपेज
  • नारायणी नदी किनारमा चटपट बेचेर इञ्जिनियरिङ पढ्दै गरेका सचिन

नारायणी नदी किनारमा चटपट बेचेर इञ्जिनियरिङ पढ्दै गरेका सचिन

चितवन, पुस २२-

नारायणी किनार भन्नेबित्तिकै आम मानसपटलमा आउने चित्रमध्ये एक त्यहाँको पानीपुरी चटपट पनि हो । यहाँ व्यवसायिक रुपमा राखिएका स्टलमध्ये चटपट पानीपुरीका धेरै छन् ।

यिनै भीडमा एक युवा जो आफ्नो पढाइसँगै चटपट बेच्न मग्न छन् । भारतको मोतीहारीको एयसआईटीआई इञ्जिनियरिङ कलेजमा पढ्दै गरेका सचिन मिश्र उमेरले २१ वर्ष भए । इलेक्ट्रिकल इन्जिनियरिङको अन्तिम सेमेस्टरमा अध्ययनरत  सचिन आफ्नो पढाइको अलवा नारायणीमा चटपट पानीपुरी बेच्दै आएका छन् ।लकडाउन तथा कोरोना कहरका कारण नेपाल आएका उनी यतिबेला नारायणीमा चटपट बेच्न व्यस्त देखिन्छन् । यस्को अलवा बिदाको समयमा नेपाल आउँदा पनि उनी चटपट बेच्नमै तल्लीन हुन्थे ।

आमरुपमा २० /२१ वर्षको कलेज पढ्ने विधार्थी भन्दा जुन चित्र मस्तिष्कमा आउँछ यो चित्रलाई चिर्दै सचिन चटपट व्यवसायमा होमिएका हुन् । उनी चटपट तथा पानीपुरी व्यवसायसँग जोडिनुमा पारिवारिक पृष्ठभूमिको हात छ । उनको पुर्खाेली घर भारत हो तर उनी नेपालमै जन्मे । उनका बुबा नेपालमै आएको ४० / ४५ वर्ष भयो । त्यसयता उनको परिवार नेपालमै छ ।

उनको बुबाले क्षेत्रपुरमा ३० वर्ष पानीपुरी बेचे । चटपट व्यवसायबाटै छोराछोरी हुर्काए, पढाए । उनी भन्छन् ‘बुबाले चटपट बेचेरै हाम्रो पालनपोषणसँगै पढाउनुभयो । बीचमा बुवा बिरामी भएपछि आर्थिक समस्या प¥यो । अरुको काम गर्नुभन्दा आफ्नै पारिवारिक पेसा ठीक लागेर यसमै लागे ।’

सचिनलाई सुरुवातको समयमा चटपट बेच्दा नरमाइलो लाग्थ्यो । स्कुलका साथीहरु पसलकै बाटो हिड्दा उनलाई ’लाज’ लाग्थ्यो तर अहिले सचिन यसमै भविष्य देखिरहेका छन् ।

एक वर्ष अगाडि सचिनका बुबा बिते । ३० वर्षदेखि चटपट व्यवसायमा लागेको उनको परिवार विगत पाँच वर्षदेखि नारायणीमा ‘पण्डित चटपट पानीपुरी’ को नामबाट दुईवटा स्टल राखेर चटपट व्यवसाय गरिरहेका छन् । उनका चारजना दाईसहित आमा गरी ६ जना यही व्यवसायमा लागेका छन् । पछिल्लो समयमा उनको चटपट पसल टिकटकलगायतका सामाजिक सञ्जालमा चर्चित छ ।

पढाइले इन्जिनियरिङ गर्दै गरेको भए पनि सचिनलाई अब चटपट व्यवसायलाई नै अगाडि बढाउने चाहना छ । नारायणी किनारमा उनको चटपट पसल ‘चर्चित’ भएकै कारण अन्य ठाउँमा पनि पसलको शाखा खोल्ने प्रस्ताव आइरहेको उनी बताउँछन् । सचिनलाई पढाइ अनुसारकै काम गर्नुपर्छ जस्तो लाग्दैन । ‘देशमा यति धेरै बेरोजगारी छ । पढाइ अनुसारकै काम पाएन भनेर बस्नुभन्दा सानो ठूलो जस्तो काम पाइन्छ त्यसमा लाग्नु बेरोजगार बस्नुभन्दा राम्रो हो ’ उनी भन्छन् । उनले पढाइलाई समय दिनुपर्दा चटपट पसल परिवारले समाल्दै आएको बताउने उनी अहिले भने  बिहान ५ देखि बेलुकी १० बजेसम्म चटपट व्यवसाय मै व्यस्त छन् ।

नारायणी किनारमा शनिबार र सोमबार विशेष भीड लाग्छ र सोही अनुसार नै व्यापार पनि हुने बताउँछन् । औषतमा दैनिक ७ देखि १० हजारसम्म चटपट बेचेरै आम्दानी गरिरहेको सचिन आफू जस्तै युवालाई बेरोजगार बस्नु भन्दा केही गर्न सुझाव दिन्छन् । ‘म त चटपट, पानीपुरी बेच्दैछु, तपाइँहरु पनि आफ्नो ठाउँबाट गर्न सक्ने काम गर्नाेस्’ सचिन  भन्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका