जोडिनुहोस
  • होमपेज
  • सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी

सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी

काठमाडौँ, पुस १८

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिग बास लिगमा आफ्नो पहिलो खेलमा दुई विकेट लिएपछि उहाँको टोली होबार्ट हुरिकेन्स विजयी भएको छ । होबार्टले मेलवर्न स्टार्सलाई आज भएको खेलमा २१ रनले पराजित गरेको हो । लामिछानेले चार ओभर बलिङ गर्दै ३८ रन खर्चिनुभयो । लमिछानेले आफ्नो पहिलो र चौथो ओभरमा विकेट लिनुभएको हो । उहाँले मेलबर्नका हिल्टन कार्टराइट र बेन डङ्कलार्यको विकेट लिनुभएको हो ।

चौध दिनको अनिवार्य क्वारेन्टिनको समय सकिएपछि लामिछानेले आज पहिलो खेल खेल्नुभएको हो । टस हारेपछि लामिछानेको टोली होबार्टले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६४ रन बनाएको थियो । होबार्टका लागि बेन म्याकड्रेमटले ३१, डविड मलानले ७५ रन बनाउनुभयो । एक सय ४६ रनको लक्ष्यका साथ ब्याटिङ गर्न उत्रेको मेलबर्न स्टार्स २० ओभरमा नौ विकेट गुमाउँदै १४३ रन मात्र बनायो । मेलबर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले ७० रन बनाउनुभयो । बलिङतर्फ होबार्टका लागि लामिछानेसँगै स्कट बोलान्डले तीन विकेट लिनुभयो ।

होबार्टमा आवद्ध लामिछानेले कोरोना भाइरसको सङ्क्रमणका कारण यस यामका शुरुआतका छ खेल गुमाउनुभएको थियो । नेपालमै छँदै उहाँ कोरोनाबाट सङ्क्रमित हुनुभएको थियो । अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने भएका कारण उहाँ प्रारम्भका छ खेल खेल्नबाट बञ्चित हुनुभएको हो । होबार्ट हालसम्म खेलेका सात खेलमा पाँचमा जित तथा दुई खेलमा हारका साथ १८ अङ्क जोड्दै आठ टोली सम्मिलित बिग बासको दोस्रो स्थानमा उक्लिएको छ । होबार्टले अब अर्को खेल सोमबार खेल्ने छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका