जोडिनुहोस

Banner

मनिका विश्वकर्मा

चितवन, पुस १३–

नारायणी नदी भन्ने बित्तिकै झट्ट हाम्रो दिमागमा रमणीय सफा नदी भनेर आउँछ । त्यहाँ पुग्दा हामीले नारायणी नदीसँग सेल्फी लिदै गरेका, रमाउँदै टिकटक बनाउँदै गरेका र क्यामरा तेर्साउँदै फोटो खिच्दै गरेका दृश्यहरु हेर्न  सक्छौ  । कतिपय मानिसहरु नारायणी नदीमा आनन्द लिन, तनावमुक्त हुन पनि जाने गर्छन् ।

तर यी सबैको बाबजुद नारायणी नदी छेउको एउटा यस्तो दृश्य छ जसलाई हामी वेवास्ता गरिरहेका छौं। चासो कम छ प्राय सबैको । नारायणीको पुलबाट पश्चिम फर्केर नारायणी किनारको दुई दृष्य नियाल्यौं भने दायाँ तर्फ माथि उल्लेखित रोमाञ्चक दृश्यहरु देख्न सक्छौं तर बायाँ तर्फ फोहोरका थुप्राहरु लहरै देखिन्छन् ।

नारायणी नदिको तहमा अवस्थित रहेको महानगर विकासको तिव्र गतिमा अघि बढिरहेको छ । नारायणी नदीको नामले पनि प्रख्यात रहेको महानगर नदीको फोहोरको कारण बनेको छ । महानगर अहिले विकास क्रममा दौडिरहँदा यसले भौतिक संरचनालाई मात्रै ध्यानमा राखेर अघि बढेको देखिन्छ । महानगरले फोहोर व्यवस्थापन गर्न नसक्दा वन्यजन्तु र वातावरणलाई नकारात्मक असर पुर्‍याएको छ ।


महानगरको योजनामध्ये नारायणी नदीको किनारलाई ‘सी विच मोडल’मा व्यवस्थित बनाएर पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखिएको छ । यो योजनालाई महानगरको गौरवका आयोजना पनि भनिन्छ । करिब १५ वर्षदेखि महानगरले नारायणी नदी किनारमा फोहोर फाल्न थालेको छ । जसले गर्दा त्यहाँ पाइने जीवजन्तुलाई प्रत्यक्ष असर पर्छ ।

वन्यजन्तुको सुरक्षित वासस्थान भनेर चिनिने नगरवनको छेउमा लगेर अहिले महानगरले फोहोर फाल्न थालेको छ । यो वन राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्दैन । यो महानगरको चार नम्बर वडामा पर्छ । भरतपुर–३ को पुल्चोकबाट सुरू गरेर वडा प्रहरी कार्यालय, सन्सारीमाई टोल क्षेत्र हुँदै भरतपुर–४ को नारायणी दोभान टोल नजिकको किनारमा महानगरले फोहोर फाल्दै आएको छ ।

महानगरले फोहोर फालिसकेपछि माटो हालेर पुर्ने गरेको छ तर त्यो फोहोरलाई जीवजन्तुले खोतल्ने गर्छन् । हिउँदमा नदी सुक्ने हुँदा गाडीहरू बस्तीदेखि चार, पाँच किलोमिटर परसम्म मात्र पुगेर फोहोर फाल्छन्। वर्षामा बाढीे आउने हुँदा फोहोर बोक्ने गाडी पर जान सक्दैनन्। त्यसैले नजिकै लगेर नै फोहोर फालिन्छ । अघिल्लो वर्ष सन्सारीमाई टोलभन्दा पर पश्चिमतर्फ लगेर फोहोर फाल्दा त्यहाँको नारायणी दोभान टोल विकास संस्थामा आवद्ध स्थानीयले विरोध गरेका थिए । त्यसपछि सन्सारीमाई टोल नजिकै नगरवनको छेउमा फोहोर फालिँदै आएको छ।

नगर वनमा बाघ, गैंडा, चितुवा, रतुवा, सिवेट जस्ता विभिन्न प्रकारका जीवजन्तुहरु पाइन्छन् । फोहोरले गर्दा यी जनावरहरु बढी मर्कामा परेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख तथा गैंडाविद् डा. बाबुराम लामिछानेका अनुसार हाल नगर वनमा चार वटा गैंडा रहेको अनुमान छ । लामिछानेले फोहोर व्यवस्थापन एउटा चुनौतीको रुपमा रहेको बताए । पानी खान आउँदा, चर्न आउँदा फोहोरले जनावरलाई नराम्रोसँग असर पुर्‍याउने डा. लामिछानेको बताउँछन । महानगरले फोहोरको राम्रोसँग व्यवस्थापन गर्न नसक्दा गैंडाहरुलाई धेरै असर पुर्‍याएको लामिछानेले बताए । बाढी आउँदा बगाएर ल्याउने फोहोरहरु चरन क्षेत्रमा थुपारिने र पिउने पानी पनि दुर्गन्धित हुने गरेको छ । लामिछानेले भने,“दुर्गन्धित पानी मार्फत गैंडालाई ‘टक्सील म्याटर’ भन्ने रोग लाग्दछ ।”

तस्बीर: सागर कार्की

बाढीले भेट्ने ठाँउमा फोहोर फाल्न नहुँने उनले बताए । निकुञ्जमा प्लाष्टिक मुक्त भनेर घोषणा गरिएको छ तर बाढीको बेला सबै फोहोर बगाएर निकुञ्जमा थुप्रिने गर्छ । जसले गर्दा नदीमा बस्ने गोही, डल्फिन लगायतका लोपोन्मुख प्राणी तथा पानी खानका लागि नदीमा पुग्ने वन्यजन्तुमा गम्भीर असर परिरहेको छ। चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षणविद् तथा गोही विज्ञ वेद खड्का भन्छन्, ‘फोहोरले गर्दा जलचर जीवहरुलाई आकान्त समस्या भएको छ । अघिल्लो वर्ष नारायणी नदीमा एक सय घडियाल गोही छाडिएको खड्काले जानकारी दिए । गतवर्ष एक दर्जन गोहीको मृत्यु भएको थियो । मानिसहरुले माछा मार्ने क्रममा नदीमा फालिएका जालीमा वेरिएर र विभिन्न कारणहरुले गोहीहरु मरेको खड्काले बताए । फोहोरले गर्दा गोहीको आहार सञ्जालमा समस्या रहेको छ । हाल नारायणी नदीमा ५० वटा मात्रै घडियाल गोही छाडिएको उनले बताए ।

तस्बीर: सागर कार्की

प्रदुषण भएको ठाँउमा घडियाल गोही बस्न सक्दैनन् । त्यसकारण पनि अहिले नारायणी नदीमा गोहीको संख्या घट्दो क्रममा रहेको उनको भनाइ छ । निकुञ्जले फोहोर व्यवस्थापनको लागि पटक पटक अनुरोध गर्दा पनि अटेर गरेको उनले बताए । निकुञ्जको क्षेत्रमा नपर्ने भएकोले आफुले केही गर्न नसकेको उनले बताए । १ सय २१ प्रजातिका माछाहरु मध्ये नारायणी नदीमा आधा भन्दा पनि बढी माछाहरु पाइन्छन् । अहिले माछाको संख्या पनि घट्दो अवस्थामा रहेको छ ।

फोहोरले गर्दा वन्यजन्तुलाई परेको असरबारे भने महानगरसंँग केही उत्तर छैन । महानगरको गौरवका आयोजनामध्येको एक फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल साइट पनि हो । महानगरको वातावरण तथा सरसफाइ शाखाका प्रमुख ईन्जिनियर विराट घिमिरेका अनुसार ल्याण्डफिल साइटको डिपिआर निर्माणको काम यहि डिसेम्बरको अन्तिममा सकिनेछ । कुहिने र नकुहिने फोहोर एकैठाँउमा फालिएकोमा स्थानीय बासिन्दाको नै दोष रहेको घिमिरेको आरोप छ । महानगर ल्याण्डफिल साइट नबन्दासम्म नारायणी नदीको किनारमै फोहोर फाल्ने पक्षमा रहेको छ । नारायणी नदीमा फाल्नुको विकल्प अरु नरहेको उनको भनाइ छ । फोहोरको व्यवस्थापन गर्दा स्थानीयबासीलाई असर नपरोस् भनेर सतर्कता अपनाउने गरेको उनले बताए ।

ल्याण्डफिलनिर्माणका लागि नेपाल सरकारले भरतपुर–२ मा रहेको जलदेवी सामुदायिक वन अन्तर्गतको १५ बिगाहा वन क्षेत्रको जमिन उपलब्ध गराएको छ ।

ल्याण्डफिल साइट बनाउनका लागि महानगरलेदक्षिण कोरियाको सुडोनोन ल्याण्डफिल साइट म्यानेजमेन्ट कर्पोरेसनसँग साझेदारी गरेको छ । कर्पोरेसनका प्रमुख सियो जु वन र महानगरकी मेयर रेणु दाहालबीच २०७५ भदौ २८ गते ल्याण्डफिल साइट निर्माणको सम्झौता भएको छ । अब केही वर्षमा नै ल्याण्डफिल साइट निर्माण गरिने घिमिरेले जानकारी दिए । महानगरबाट दैनिक ६२ टनभन्दा बढी फोहोर निस्कने गरेको फोहोर व्यवस्थापन समूहका देवी प्रसाद घिमिरेले बताए । महानगरले फोहोर व्यवस्थापनका लागि वार्षिक तीन करोड रुपैयाँभन्दा बढी खर्च गर्दै आएको छ ।

फोहोरले वनलाई पनि नराम्रो असर पुर्‍याएको डिभिजन वन कार्यालयका प्रमुख पदम नेपालले बताए । फोहोरले गर्दा वनमा भएका हरियाली घट्दै गएको, रुख विरुवाहरु पनि सुक्दै गएको उनले बताए । वन्यजन्तुहरुलाई पनि फोहोरको कारण एक ठाँउबाट अर्को ठाँउमा जान मुस्किल भएको छ । फोहोर नफाल्न बारम्बार महानगरलाई भनिरहँदा पनि केहीवर्षको लागि मात्रै रहेको भनेर आस्वासन दिईरहेको नेपालले बताए ।

फोहोरले गर्दा वनमा जीव जन्तुहरुलाई मात्रै नभएर घरपालुवा जनावरहरुलाई समेत असर पुर्‍याएको छ । स्थानीय दिपा घले भन्छिन्, “गाईभैसीं चराउन लैजादा उनीहरुको खुट्टामा सिरिन्जहरुले घोप्ने गर्छ । हाम्रो खुट्टामा पनि घोप्ने गर्छ ।” महानगरले अस्पतालका फोहोरहरु पनि नगर वनमा नै फाल्ने गर्छ ।

जथाभावी फोहोर नफाल्न स्थानीयवासीले पटक–पटक माग गर्दा पनि महानगरले अटेर गरेर फोहोर फालिरहेको स्थानीय उत्तम श्रेष्ठ बताउँछन् । फोहोरले गर्दा खानेपानी पनि दुर्गन्धित भएको श्रेष्ठले बताए । श्रेष्ठले भने, “अहिले धाराबाट पानी पहेँलो भएर आउन थालेको छ । खानेपानीको पाइप नगर वन हुँदै आएको छ ।” महानगरले एक टिप फोहोर फाल्यो भने तीन टिप ग्राभेल हालेर पुर्ने भनी चार वर्षअघि सम्झौता गरेको थियो तर अहिले त्यो कार्यान्वयन नभएको श्रेष्ठले बताए ।

त्यस्तै नारायणी दोभान टोल विकास समिति सुर्य बरालले जथाभावी फोहोर फाल्दा फोहोरबाट निस्किएको रसायनले बोटबिरुवा मर्नुका साथै वन्यजन्तुमा पनि असर परेको बताउँछन् । फोहोरले गर्दा स्थानीयवासीहरुको जीवनयापनमा पनि समस्या परेको बरालले बताए । फोहोरले गर्दा तरकारीबालीहरु नहुने र वनमा देखिने हराभरा घट्दै गएको छ । जसले गर्दा प्रकृति विनास हुने क्रम बढेको बरालको दाबी छ । उनी भन्छन्,‘यस विषयमा महानगरसँग कुरा भइरहेको र महानगरले कुनै विकल्प नभएको बताएको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *