जोडिनुहोस
  • होमपेज
  • ठेला व्यवसायीलाई लखेट्दै भरतपुर महानगर, विकल्प नदिई गरिबमाथि अत्याचार गरेको गुनासो

ठेला व्यवसायीलाई लखेट्दै भरतपुर महानगर, विकल्प नदिई गरिबमाथि अत्याचार गरेको गुनासो

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, पुस १२ –

भरतपुरको चौबिसकोठीमा आइतबार नगर प्रहरीले ठेला व्यावसायीलाई लखेटिरहेको एउटा दृश्य देखियो । फलफूल, चटपटलगायत ठेलामा राखेर बेची गुजारा चलाउनेहरु भरतपुर महानगरमा थुप्रै भेटिन्छन् । तर, उनीहरुलाई भरतपुर महानगरले व्यापार गर्न नदिने नीति बनाएको छ ।

सोही नीतिलाई अवलम्बन गर्दै खटिएका नगर प्रहरीले मानवता नै भुलेर चौबिसकोठीबाट पश्चिम चितवन जाने बाटोतर्फ ठेला व्यावसायीलाई लखेटिरहेका थिए । त्यस समय बाटोमा सवारी जाम पनि भएको थियो । दुर्घटना हुन्छ कि भन्ने हेक्का नै नराखी नगर प्रहरीले लखेटिरहेका थिए भने ठेला व्यावसायीहरु भागिरहेका थिए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षद्वारा आयोजित कार्यकर्ता भेलाको रिपोर्टिङ्का लागि त्यसतर्फ जाँदै गर्दा देखिएको दृश्य हो यो ।

पाँच वर्षदेखि ठेला व्यापार गर्दै आएकी भरतपुर महानगरपालिका–११ निवासी ४० वर्षीय लक्ष्मी पौडेलले भनिन्, ‘भरतपुर महानगरले पठाएर यिनीहरुले हामीलाई लखेटिरहेछन् । गरिबले गरेर खाएको देख्न सक्दैन महानगर’ उनले भनिन्, ‘कर चाहिने भए बरु हामी तिर्थेम । तर, काम गरेर खान पाउनु प¥यो । की अर्काे कामको विकल्प खोजिदिनुप¥यो ।’ श्रीमान् कान नसुन्ने र अशक्त भएको बताउँदै उनले ११ कक्षामा पढ्ने दुई छोराको पालनपोषण र श्रीमान्को लागि खर्च जुटाउन आफूसँग यो बाहेक अरु कुनै विकल्प नभएको दुःखेसो गरिन् ।

‘की हामी जस्ता दीनदुःखीको लागि खर्च दिनुप¥यो, कि अर्काे काम दिन प¥यो होइन भने हामीहरुले काम गरेर खान पाउनु प¥यो’ उनले भनिन् । नगर प्रहरीले सामान खोसेर लगिदिने र फिर्ता नदिने भएकाले आफूहरु भागेको उनले बताइन् । ‘हामीले बल्लतल्ल किनेर ल्याएको सामान पनि खोसेर लैजान्छन्, उनले भनिन् । नगर प्रहरीले लखेटिरहेको ठेला अरु कसैलाई लिएर भाग्न लगाई सडक छेउमा बसेर लक्ष्मीले दुखेसो पोखिरहेकी थिइन् । अरु ठेला व्यावसायीहरु भागिसकेका थिए ।

 

विगत तीन वर्षदेखि ठेला व्यापारमा लागेकी माडी निवासी सीता अधिकारीले ठेला दगुराइ रहेकी थिइन् । उनले भनिन् ‘हजुरहरुसँग बोलेको थाहा पाए झन् समस्या हुन्छ । अहिले म लाग्छु ल । पछि कुरा गरौंला ।’ भएको समान जफत हुन्छ की भन्ने त्रासले भरिएको उनको मनलाई अन्य कुराको वास्तै थिएन ।

भरतपुर अस्पताल अगाडि पनि उस्तै प्रवृत्ति

भरतपुर अस्पताल अगाडि साइकलमा चटपट बेचिरहेका ३३ वर्षीय फुलामी मगरले दुई वर्षअघि ठेलामा चटपट बेच्थे । हेटौंडा निवासी उनले ६ वर्षदेखि अस्पताल अगाडि ठेलामा व्यापार गर्दथे । नगरप्रहरीले ठेलाको समान र ठेला नै लान थालेपछि उनले साइकलमा चटपट बेच्न थाले । अहिले पनि दैनिक जसो नगर प्रहरी आएर लखेट्ने गरेको उनले बताए । ‘साइकलमा बेच्न थालेपछि नगर प्रहरी आउने बित्तिकै टाप कस्न सजिलो हुन्छ । नत्र त भएको समान नि लैजान्छ । उस्तै परे जेलमा पनि कोचिदिन्छ’ उनले भने, दुःख गरेर कमाइ गर्दा मलाई महानगरले जेलमा पनि थुनेको छ ।’ उनलाई गतवर्ष नगर प्रहरीले समातेर जिल्ला प्रहरी कार्यालयको कस्टडीमा दुई दिन राखेको रहेछ । ‘कस्टडीमै जान परे पनि परिवार पाल्नको लागि जोखिम मौल्नै पर्दाे रहेछ’ उनले दुखेसो पोख्दै भने, ‘कामको विकल्प पाएमा कसलाई पो रहर हुन्छ र डराइ डराइ काम गर्न ।’

साइकलमै चटपट बेच्ने २२ वर्षीय विशु रानामगरले पनि भरतपुर अस्पताल अगाडि साइकलमा चटपट बेच्न थालेको सात महिना भयो । यसअघि उनले भूईंमा बसेर बदाम, चना, मकै, पानीलगायतका खानेकुराहरु बेच्ने गर्दथे । तर, नगर प्रहरीले लखेट्ने र समान लान थालेपछि साइकल लिएको उनले बताए । विगत ८ वर्षदेखि अस्पताल अगाडि बुवाआमा सँगै बसेर भुटेका गेडागुडी बेच्दै आएका थिए उनी ।

६० वर्षीय चिरञ्जीवी ओझाले एक वर्षदेखि पानी बेच्दै आएका छन् । पहिले ६ वर्षसम्म उनले भुटेका गेडागुडीसहित मकै र पानी बेचेका थिए अस्पताल अगाडि नै । तर, नगर प्रहरीले सबै समान पनि लगेको र प्रहरी हिरासतमा पनि थुनेको उनले बताए । दुई दिन पछि प्रहरी हिरासतबाट निस्किएर पानीमात्र बेच्न थालेको उनको भनाइ छ । ‘अरु बेच्न म बुढो मान्छे भग्न सक्दिन । पानी मात्र बेचेको छु । नगर प्रहरी आउँदा यस्सो यता पटि लुकाउँछु’ उनले भने ।

यो पनि
भरतपुर नगर प्रहरीको दादागिरी,तस्विर खिचेको भन्दै नारायणी अनलाइनकर्मीमाथि दुर्व्यवहार

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका