जोडिनुहोस
शुक्रबार, फाल्गुन १४, २०७७
शुक्रबार, फाल्गुन १४, २०७७
  • होमपेज
  • तीन दल मध्यावधि निर्वाचनमा जान तयार, कोही भने अन्यौल र विरोधमा

तीन दल मध्यावधि निर्वाचनमा जान तयार, कोही भने अन्यौल र विरोधमा

काठमाडौँ, पुस ९-

प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनमा जाने निर्णयसँगै राजनीतिक दलभित्र विभाजन मात्रै देखा परेको छैन, निर्वाचनतर्फको माहौल पनि बिस्तारै बन्दै गएको देखिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि एकाएका विरोधमा उत्रिए पनि पछिल्ला दिनमा भने निर्वाचनको माहौलतर्फ परिस्थिति अगाडि बढेको दृश्यहरु देखा पर्न थालेका छन् ।

नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह बाहेक अन्य सबैजसो राजनीतिक दलमा संसदको पुर्नस्थापना कि निर्वाचन भन्नेमा बहस तीव्र रुपमा चल्न थालेको छ । संसद बिघटनको बिरोध गर्दै संसदभित्र रहेका राजनीतिक दल भित्र निर्वाचनमा जानु पर्ने दबाब बढ्दै गएको दृश्यहरु क्रमशः विकसित हुदैँ गएको छ ।

ओली नेतृत्वको नेकपाले वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि तयारी गर्न निर्देशन मात्रै होइन, निर्वाचन केन्द्रित क्रियाकलाप सुरु भइसकेको छ । ‘संसद पुर्नस्थापना हुदैँन, चुनाव हुन्छ, त्यसका लागि तयारीमा लाग्नुहोस्,’ प्रधानमन्त्री ओलीले गत केन्द्रीय समिति बैठकबाट नै निर्देशन दिइसकेका छन् । उक्त निर्देशनसँगै ओली नेतृत्वको नेकपा निर्वाचनमा होम्मिन पुगेको छ ।

संसदभित्र रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि ताजा जनादेशका लागि निर्वाचनमा जाने निर्णय गरिसकेको छ । ‘संसद विघटनको वैधानिकताको परीक्षण र निरुपण, व्याख्या सर्वोच्च अदालतले गर्ने नै छ’ राप्रपा अध्यक्ष कमल थापाले भनिसकेका छन, ‘तर, घोडा व्यापार र फोहरी गठबन्धन बनाएर ब्रम्हलुट र कुशासनको दोस्रो श्रृङ्खला सुरू गर्नुभन्दा बिगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिको लागि ताजा जनादेशमा जानु उत्तम विकल्प र अवसर हो ।’ राप्रपाले प्रधानमन्त्री ओलीले घोषणा गरेको मध्यावधि निर्वाचनलाई स्वीकार गर्दै त्यसको तयारीमा जुटिसकेको छ ।

संसदभित्रको नेपाल मजदुर किसान पार्टीले पनि प्रतिनिधिसभा बिघटन गरी मध्यावधी निर्वाचनमा जाने निर्णयको घुमाउरो पारामा स्वागत गरेको छ । ‘प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बिघटन गरेर मुलुकलाई ठूलो दुर्घटना हुनबाट जोगाउनु भएको छ’ अध्यक्ष नारायणमान बिजुक्छेले भनेका छन् । उनका अनुसार ताजा जनादेशमा जानु पर्ने प्रधानमन्त्री ओलीको कदम स्वागतयोग्य छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्र पनि संसद पुर्नस्थापना र निर्वाचनमा जानु पर्ने भन्ने मत विभाजन देखा परे पछि तीन दिनदेखि केन्द्रीय समिति बैठक अन्यौलग्रस्त बनेको छ । सभापति शेरबहादुर देउवाले मध्यावधि निर्वाचनलाई प्रयोग गर्नुपर्ने धारणा राखिरहेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा जाने निर्णयलाई अस्वीकार गरिरहेका छन् । यद्यपि नेपाली कांग्रेस भित्र क्रमशः निर्वाचनमा जानु पर्ने मत बलियो बन्दै गएको सार्वजनिक अभिब्यक्तिले देखाएको छ ।

उता, जनता समाजवादी पार्टी नेपालमा पनि निर्वाचन कि संसद पुनर्स्थापना भन्नेमा विवाद देखा परेको छ । संसद पुर्नस्थापनका लागि प्रचण्ड–नेपाल समूह झै सर्वोच्च अदालतमा जानुपर्ने भन्ने संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र कार्यकारी अध्यक्ष उपेन्द्र यादवको प्रस्तावलाई अर्का कार्यकारी अध्यक्ष महन्थ ठाकुरले अस्वीकार गरेका छन् ।

संसद बिघटनको प्रस्तावलाई बिरोध गर्ने तर प्रचण्ड–नेपाल समूह झै सर्वोच्च अदालतमा नजानेमा ठाकुर र राजेन्द्र महतोलगायत उभिए पछि भट्टराई र यादवले पार्टीमा निर्णय गराउन नसकेको एक नेताले बताए ।

राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा बिघटनको बिरोध गरे पनि प्रधानमन्त्रीको उक्त कदमलाई बाध्यत्मक भएको रुपमा ब्याख्या गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका