जोडिनुहोस
  • होमपेज
  • नेकपालाई इन्डोनेसियाको जस्तो गुगलमा खोज्नुपर्ने अवस्था नहोस्

नेकपालाई इन्डोनेसियाको जस्तो गुगलमा खोज्नुपर्ने अवस्था नहोस्

स्वरुप सुयाल-

दुनियामा वैज्ञानिक तथ्य र सत्यको जतिसुकै बदख्वाइ गरे पनि समय इतिहास र पुस्ताले सही सबित गरी दिने नै छ । मान्छेको सीमा र कमजोरीहरु हुन सक्छन् तर हर मान्छेको सकारात्मक चिजलाई ग्रहण गर्दै कमजोरीहरु सच्याउदै अघि बढ्नु नै सही बाटो हो । मान्छे भित्रको गलत चिजलाई सकारात्मक चिजले जित्छ भने समाजमा त्यस्ता मान्छेलाई सही मान्छे राम्रो मान्छे हो भनी बुझ्नुपर्छ । नेपाली राजनीतिमा केपी ओलीले लिएको युगिन राष्ट्रवादी अडान र कुशल नेतृत्वलाई तपाइँ हामी जोकोहीले नचाहे पनि इतिहासले सही प्रमाणित गरिरहेको छ ।

संविधान निर्माणमा अगुवाइ, नाकाबन्दीको विरोध र कूटनीतिक ढंगले समाधान, जातीय–क्षेत्रीय अतिवादको प्रतिवाद र राष्ट्रिय एकताको सुदृढीकरण, नेपालको राष्ट्रिय स्वाभिमानको रक्षाको नेतृत्व, तत्कालिन नेकपा एमालेलाई निर्वाचनमा सबैभन्दा ठूलो पार्टीका रुपमा कुशल नेतृत्व, पार्टी एकीकरण र दुई तिहाइ बहुमतको सरकार निर्माणलगायतको ऐतिहासिक काम केपी ओलीको नेतृत्व र पहलकदमीले सम्भव भएको देश दुनियाँले बुझेको विषयहरु हुन् । अझै मदन भण्डारीको कम्युनिस्ट आन्दोलनको मौलिक सिद्धान्तको अनुयायी भएको नाताले केपी ओलीले जीवनभर समाजमा पनि र पार्टीभित्र पनि लोकतान्त्रिकरणको पैरवी गर्दै आउनु सैद्धान्तिक–वैचारिक निष्ठा भएको नेता साबितसमेत भएका छन् ।

एमाले–माओवादी पार्टी एकतापछि मुलुकमा राजनीतिक स्थिरता र समृद्धिको कामना गरिएको थियो । तर, पार्टी भित्रबाटै गुटबन्दीको अवसरवादी सञ्जाल निर्माण गरेर पार्टी र सरकारलाई कमजोर बनाउन सहयोद्धाहरुले नै भूमिका निर्वाह गरिरहेका छन् । मूल्य, मान्यता, नीति सिद्धान्त र विचारलाई कुनै महत्व दिएर होइन कि अवसर, पद, भागबन्डाको मुद्दाले कम्युनिस्ट आन्दोलनलाई नै रनभुल्लमा पार्नेगरी नेकपा भित्र समस्या सिर्जना गरियो ।

पार्टीमा ३० वर्षे नेतृत्व गरेका नेताले मेरो कारण सहयोद्धा साथीहरु अत्यन्त पीडाका साथ पार्टी किन छाडे ! पार्टी पटक–पटक किन विभाजित भयो । पार्टीमा आफ्नो तजबिजका भरमा कुनै बेला कमिटी दुई अंकमा अनि तुरुन्तै चार हजार सदस्यीय बनाउँदा कुन सिद्धान्त भुलियो । सँगै लडेका योद्धा आरामको जिन्दगी कोही दुई छाक टार्न रोइकराइ गर्नुपर्ने अवस्थामा किन ध्यान दिन सकिएन ? जस्ता ऐतिहासिक कमजोरीहरुबाट सच्चिन छाडेर जसरी हुन्छ पार्टी र सरकारको नेतृत्व हत्याउने प्रपन्चमा लागेको राजनीति देखेर नेपाली जनसमुदाय दिक्क बन्नुपरेको छ । पार्टी एकता टुंगोमा नपुग्दै गुट र घेराबन्दीबाट बहुमतको दम्भका नाममा एकताको भावना, मर्म विपरित सत्ता लिप्सा पाल्नु पार्टी एकता विपरित कार्य हो ।

नेकपामा आजको दिनमा बिधान विधि, पद्धति भन्दा पनि गुटबन्दीको नजरबाट बैठक बस्ने, एजेण्डाहरु उठ्ने गरेको छ । पछिल्लो अवस्थामा सचिवालय बैठकमा पहिलो अध्यक्ष एवम् प्रधानमन्त्री विरुद्ध एउटा कम्युनिस्ट पार्टीको बैठकमा पेस गरिने प्रस्ताव भन्दा पनी आरोप र कपोकल्पित भ्रामक मिथ्याहरुको संगालो दोस्रो अध्यक्षले पेस गरेपछि पार्टीको एकता आन्दोलन र भावी राजनीति के होला सबै कार्यकर्तामा चिन्ता उठेको छ । अहिले नेकपाको माथिल्लो नेताहरुले मेरो आफ्नो गल्ती होइन गल्ती त अर्काकै हो भन्ने तराजु समाती बसेका छन् । यो त नेकपाको ओरालो लागेको दिनको एउटा पूर्वसंकेत समेत हो । पार्टीको बैठक विधानमै टेकेर बस्नु पर्छ । पार्टी एकतापछि सहमतिमै प्रस्ताव बन्ने र निर्णय हुने विधान त ब्यवस्था भएपछि एउटा कोठामा पाँच पाण्डव भेला भएर आफूखुसी अराजनीतिक प्रस्ताव पेस गर्ने विधानमा कहाँ छ ? स्पस्ट ब्यवस्था विधानमै छ कि नेकपामा दुई अध्यक्षको सहमतिमा बैठकको एजेण्डा तयार गर्ने र महासचिवले बैठक आव्हान गर्ने हो । अर्कोतिर अध्यक्ष एवम् प्रधानमन्त्रीले अबको नेतृत्व युवाको हातमा हुनेछ भनेर महान विचार व्यक्त गरिसकेपछि पनि नेकपाका युवा युस्ता नेतृत्व लिने तयारी गरी हस्तक्षेपकारी भूमिकामा नआउनुले युवा नेताहरु सामाजिक सञ्जाल र भाषणमा ठूला गफ दिने तर वास्तविकतामा त्यही बुढा नेताको फेरो समातेर मात्र उभिन सक्ने खालको पानी मरुवा अवस्थामा रहेछन् भन्ने भान हुन्छ ।

एउटा जिवन्त कम्युनिस्ट पार्टीमा माथिदेखि तलसम्म फलामे अनुशासन हुनुपर्छ ।आज नेकपाको हरेक तहमा त्यसको अभावको कारण नेताहरुको ओज र गरिमा खुइँलिदै गएको छ । सबै अनुशासनमा बाँधिने मेकानिजम तयार गर्न ढिला भइसकेका छ । नत्र पार्टी अस्तव्यस्त र भीडतन्त्रमा जान सक्छ । एकताको महाधिवेशनबाट एकतालाई पूर्णतामा पु¥याउँदै नेतृत्व लिन जोकोहीलाई कसैले रोक्न सक्दैन । तर, एकता नटुंगिँदै सत्ता र शक्तिको मातमा उम्लेर गरिने दम्भले कसैको हित गर्दैन । लामो समयको राजनीतिक अस्थिरता पछि नेकपालाई नेपाली जनताले लगभग दुई तिहाइको जनमत दिएको यस्तै छिनाझम्टी र नेताहरुको झैझगडा देख्नलाई होइन थियो । सुखी नेपाली समृद्ध नेपालको खाका कोरेर नेपाली समाजलाई अगाडि बढाउन छाडेर केबल सत्ता र पदको रोइलो प्रदर्शन गर्दै बसेर नेकपाको नामना अर्को चुनावमा जनता बीचमा मत माग्न जाने बाटो नै हुनेछैन ।

अतःअबको निकास भनेकै पहिलो तहका नेताहरुले राजनीतिक भोक र अभिलाषाको मन तोडेर आरामको जिन्दगी जिउनुमा छ । नेकपामा प्राविधिक विषयहरु मिलाएर ५–७ महिना भित्र महाधिवेशन गरेर कम्तीमा सचिवालय स्तरका नेताहरुले अवकाश लिएर दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दा मात्रै कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टी प्रतिको जनमतलाई बचाउन सकिन्छ । कुनै बेला ३५ लाख पार्टी सदस्यता भएको इन्डोनेसियाको कम्युनिस्ट पार्टी आज गुगलमा मात्रै भेटिन्छ । अझै त्यहाँ कोही इन्डोनेसियाका नागरिकले हसिया हथौड़ाको लाल झण्डा देखे भने च्यात्न चिथोर्न जान्छन । दुई दशक भारतको पश्चिम बङ्गालमा शासन गरेको कम्युनिस्ट पार्टी जनताको चाहना आवस्यकता बुझ्न् नसक्दा र समय अनुकुल कम्युनिस्ट पार्टी आफै रुपान्तरण हुन नसक्दा चुनाब जित्नु परैको कुरा दुई जना उम्मेदवारको पनि धरौटी बचाउ नसकिने अवस्थामा छन् ।

यसर्थ नेपालका कम्युनिस्टहरुलाइ अब मात्रै सुध्रिने मौका अझ भनौं त्यो पनि अन्तिम अवस्थाको रुपान्तरणको बाटो बाँकी छ । अन्यथा हामीले पनी इन्डोनेसिया र पश्चिम् बङ्गालका कमरेडहरुले झै इतिहासको उपलब्धिलाई सम्झेर दिन काटनुपर्ने स्थिति ब्यहोर्न तयार होऔं ।

(लेखक सुयाल अनेरास्ववियूका केन्द्रीय सदस्य एवम् नेपाल कम्युनिस्ट पार्टी नेकपाका युवा नेता हुन्।)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका