



चितवन, मंसिर १४-
भरतपुर महानगरपालिका–१२ को बाइपास रोडमा रहेको जनचेतना बहुमुखी सहकारीको २९ औं वार्षिक साधारण सभा आजबाट सुरु भएको छ ।
कोरोना महामारीले गर्दा आजबाट संस्थामा सुरु भएको साधारण सभा सहकारी सदस्यहरुको प्रतिवेदनमाथि प्रतिक्रियाहरु आइसकेपछि भीडभाड नहुने गरी मंसिर १९ गते सकिने छ । सहकारीका अध्यक्ष अच्युत कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिका सहकारी रोजगार तथा प्रवद्र्धन शाखाका प्रमुख रामबाबु पौडेलले सहकारीमा प्रत्येक सदस्य सहकारीका कामकारबाही प्रति बढी जिम्मेवार र सचेत हुनुपर्ने बताए । उनले सहकारीको वार्षिक प्रतिवेदनमा देखिएका कमी कमजोरीलाई सुधार गर्दै एक व्यक्ति एक सहकारीको नीति अनुसार बचत बढाउनेतर्फ लाग्नुपर्ने विचार राखे । बचतको रकम बढाएर अन्य क्षेत्रमा लगानी गर्नेतर्फ सहकारीहरु लाग्नुपर्ने प्रमुख पौडेललको भनाइ थियो ।
सहकारीका सेयर सदस्य गणेशप्रसाद कँडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष भक्तिराम अधिकारीले सहकारीको आगामी दिनहरु सफल बन्दै जाऊन् भन्ने शुभकामना व्यक्त गरे । कार्यक्रममा संस्थाका अध्यक्ष अच्युत कोइरालाबाट वार्षिक प्रतिवेदन र लेखा सुपरिवेक्षण प्रतिवेदन कपिल सुवेदीबाट प्रस्तुत भएको थियो ।
२०४८ सालमा स्थापना भएको सहकारीमा एक हजार भन्दा बढी साधारण तथा सेयर सदस्य रहेका छन् भने २०७७ असार मसान्तसम्म चार करोड ६१ लख ९४ हजार ६८ रुपैयाँ कुल बचत पुगेको छ । बचत निक्षेपमा गत वर्षको तुलनामा ४४.५ प्रतिशतले वृद्धि भएको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । सहकारीले यस वर्षबाट मोबाइल बैकिङ सूचना पद्धति विकास गर्ने, सदस्य पहिचान फाराम राख्ने, सदस्यता विस्तार गर्ने विदेशबाट रकम प्राप्त गर्न रेमिट्यान्स सेवाहरु सञ्चालन गर्ने लगायतका योजनाहरु ऋगाडि सारेको छ ।