जोडिनुहोस
  • होमपेज
  • शुन्य खनजोत लसुन खेति प्रबिधि

शुन्य खनजोत लसुन खेति प्रबिधि
लेखक: सन्तोष सुवेदी

नेपाली समुदायमा खेति भन्दै गर्दा पहिला आउँछ “खनजोत” । खनजोत भन्नाले बाझो रहेको जमिनलाई खेतियोग्य बनाउन गरिने बिभिन्न क्रियाकलाप भन्ने बुझिन्छ। कृषि आधुनिकिकरण सङ्ग सङ्गै प्रयोग गरिने यन्त्र उपकरण, रासायनिक मल विषादीको अधिकतम प्रयोगले  जमिनको मरुभुमिकरण , माटोको संरचना बिगार्ने  तथा समग्र उत्पादन र उत्पादकत्वमा ह्रास भएको पाईन्छ । बदलिदो जलवायु साथै दक्ष जनशक्तिको वैदेशिक पलायनले कृषि क्षेत्रमा नराम्रो असर परेको बेला माटो रहित खेति प्रणाली, खनजोत रहित खेति प्रणाली प्रयोगमा आउन थालेका छन। कम लागत, कम मेहनतमा पर्यावरणमा असर नपारी, माटोको संरचना नबिगार्ने गरी बढी उत्पादन लिन सकिने प्रबिधीमा एक हो “शुन्य खनजोत लसुन खेती” ।

लसुन (Allium Sativum L.) संसार भरिमै गानो बालीमा प्याज पछि दोस्रो मुख्य मसला बाली हो जुन स्वादिष्ट खानाका साथै आयुवेर्द बाट नै उक्त रक्तचाप, पाचनप्रणाली, मटु रोग र हाड जोर्नि दुखाईको औषधिको रुपमा प्रयोग गरिदै आएको छ। कृषि मन्त्रालयको तथ्याँक अनुसार लसुनको खेती ६५६९ हेक्टरमा गरिएको र उत्पादन ४५०३५ टन र उत्पादकत्व ६.९० भएको देखिन्छ । तरकारी, अचार, चटनी, मासुको स्वाद बढाउन लसुनको प्रयोग हुन्छ । पौष्टिकताको हिसाबले पनि यसको गानोमा प्रोटिन, कार्बोहाइड्रेट , भिटामिन ए , सी र एलायसिन (Allicin) तत्व पाइनुका साथै जैविक खेति प्रणालीमा बिरुवाका विभिन्न रोग किरा कम गर्न प्रयोग हुने जैविक विषादी बनाउनको लागि पनि प्रयोग गरिन्छ ।

के हो त शुन्य खनजोत खेती प्रबिधि

कुनै पनि खनजोत बिना माटोको संरचना नबिगारी गरिने खेती प्रविधिलाई शुन्य खनजोत खेती प्रबिधि भनिन्छ |नेपालमा बदलिदो जलवायुको असरले गर्दा लामो समयको खडेरीले गर्दा समयमा नै आफुले भनेको जस्तो बाली लगाउन किसानहरुले सकिराखेको छैनन् | धान कटिसकेपछि तुरुन्तै सिंचाईको अभावले कतिपय खेतहरु बाझै रहेने गरेको पाइन्छ |यसरी जमिन खेर जान नदिनको लागी धान काटिसकेपछि बाकी रहेको गांजको ठुटामा लसुनको केस्रा रोपी छापो लगाइ लसुन उत्पादन गरिने प्रविधिलाई शुन्य खनजोत लसुन खेति प्रबिधि भनिन्छ|

कसरी गर्ने शुन्य खनजोत लसुन खेति प्रबिधि

जुनसुकै खेती गर्दा खनजोत राम्रो गरि माटो मसिनो नबनुन्जेल राम्रो फल उत्पादन गर्न सकिन्न भन्ने किसानको मानसिकतामा यो प्रबिधि झट्ट सुन्दा अपत्यरिलो लागेतापनि यस बाट सजिलैसंग राम्रो उत्पादन लिन सकिन्छ । शुन्य खनजोत लसुन खेति गर्दा निम्न तरिका अवलम्बन गर्न सकिन्छ ।

  • यदि धानबाली पछि लसुन लगाउने खेत हो भने सो खेतमा धान रोप्दा बोट देखि बोट को दुरी कायम राखी ( २०-२५ से.मि.) धान रोप्नु पर्दछ जसले गर्दा पछि धानको गांज राम्रोसँग फैलिन सक्छ र लसुन लगाए पछि लसुनको गानो पनि ठुलो लाग्न पाउन्छ |
  • धान पाकिसकेपछि काट्नेबेलामा जमिनबाट २-३ इन्च ठुटा माथि रहने गरि काट्नु पर्छ |
  • ठाउँ अनुसार स्थानीय जातहरु जस्तै मार्फा लोकल, पाटने लोकल , गोदाम चौर लोकल छन् भने हाइब्रिड आयातित जातहरुमा एग्री फाउन्ड, पन्जाब लसुन प्रयोग गर्न सकिन्छ ।
  • लसुन लगाउन पूर्व प्रशस्त पाकेको प्रांगारिक मल र १२०:८०:८०के.जी. प्रति हेक्टरका दरले नाइट्रोजन फस्फोरस पोटास खेतमा छर्नु पर्छ|
  • खेतमा रहेको अवशेष चिस्यानको उपयोग हुने गरि धानको ठुटामा हसिया वा कुटोको सहायताले खोपेर प्रत्येक गांजमा एउटा एउटा केस्रा पर्ने गरि बीच भागमा राखी हातले हल्ल्का थिच्नु पर्छ  |
  • लसुन लगाईसके पछि माथिबाट हल्ल्का परालको धुलो वा अन्य छापो हालिदिने जसले गर्दा छापोले माटोको चिस्यान कायम राख्छ र झारपात आउन बाट पनि कम गर्नुका साथै छापो बिस्तारै कुहिएर मलको रुपमा पनि काम गर्छ |
  • जातहरु:
    मार्फा लोकल, पठाने लोकल, गोरामे चउर नेपालमा लोकप्रिय स्थानीय जातका लसुन हुन। त्यस्तै एग्री फाउण्ड सेतो, यमुना सेफद, जि-५०, जि-५१, जि-२८२, एग्री फाउण्ड पार्वती, पन्जाब लसुन केही आयातित लसुनका जात हुन। ठूलो आकारका चाईनिज लसुनले नेपाली बजारमा ग्राहकको मन जित्न सफल भएको देखिन्छ । ठूलो आकारका लसुनको बजार माग बढी रहेको र यसले मूल्य समेत अधिक पाउने गरेको छ ।
  • हावापानी:
    लसुन एक फराकिलो हावापानी अर्थात तराईदेखि उच्च हिमालसम्म खेती गर्न सकिने बाली हो । यसको लागि अत्यधिक गर्मी र अति चिसो दुवै हावापानी त्यति ठिक हुँदैन । धेरै लामो दिन र धेरै गर्मीमा लसुन रोपेमा लसुनका गानो बच्न सक्दैन । तर गानो बन्नका लागि लामो दिन र उच्च तापक्रम (विरुवा बढने भन्दा) चाहिन्छ
  • तापक्रम:
    गानो बन्नका लागि २५–३० सें तापक्रम उपयुक्त हुन्छ । १०–१५ सें मा वनस्पितक वृद्धि हुन्छ भने तापक्रम २० सें भन्दा माथि लागेपछि गानोको विकास सुरु हुन्छ ।
  • प्रकाशअवधि:
    गानोको सुरुवात, बृद्धि विकासका लागि प्रकाश अवधि १२ घण्टा वा भन्दा बढी हुनु आवश्यक छ ।
  • गोडमेल र सिंचाई:

लसुन पानी जमेको र सुख्खा दुवै सहन सक्दैन । साधारण चिस्यान गानो तयार नहुन्जेल चाहिन्छ । गानो लाग्ने र बढने बेलामा चिस्यान कम भए उत्पादन घटछ । गानो लागि सकेपछि बढी चिस्यान भएमा केस्राहरु पलाई गानाको गुणस्तर घटछ ।माटोको चिस्यानको मात्रा हेरी लसुनको गानो तयार नहुन्जेलसम्म साधारण चिस्यान कायम राखी राख्न ५-७ दिनको अन्तरालमा सिंचाई गरिदिने तर गानो लागिसकेपछि भने सिंचाई कम गर्दै लानु पर्छ |

बिना खनजोत गरिएको खेती हुदा झारपात आउने सम्भावना अलि बढी हुन्छ  त्यसैले छापोमाथि आएका झारपातलाई हातैले समय समयमा उखेली हटाउनु पर्छ |

  • बाली उखेल्ने तथा उत्पादन

बिना खनजोत लगाईएको लसुन खनजोत गरि लगाएको लसुन भन्दा केहि दिन छिटो तयार हुने पाईएको छ| बाली लगाएको १३०-१५० दिनमा जात अनुसार २००० के.जी प्रति रोपनी उत्पादन लिन सकिन्छ| हरियो सागको लागी हो भने पात हरियो हुदै उखेल्नु पर्छ तर गानोको लागि पात पहेलो भइ सुक्न लागेपछि उखेल्नु पर्छ | गानो राम्ररी तयार नहुँदै गानो खनेमा भण्डारणमा छिटटै कुहिन र गानोको गुणस्तर कम हुन जान्छ । यदी तयार भएको गानो समयमै नखने गानाहरु फुटने र केस्रा पुन पलाउन थाल्दछन् । लसुन खनेपछि खेतमै गानालाई बोटले छोपी सुकाई सम्पूर्ण बोट सुकेपछि छाया र हावामा राम्ररी सुकाई माटो झारेर मात्र  भण्डारण गर्नुपर्छ।

यसरी शुन्य खनजोत बाट लसुन खेती गर्दा खनजोत गर्न नपर्ने ,समय तथा लागत खर्च ३३% ले कम लाग्ने साथै माटोको संरचना नबिग्री धान खेती पछि खेर गैरहेको चिस्यानको भरपुर सदुपयोय गरि १५-२०% सम्म धेरै उत्पादन लिन सकिने हुदा लागत, उत्पादन र  पर्यावरणीय  हिसाबले किसानहरु यस प्रबिधि तर्फ आकर्षित हुदै गएका छन् | लसुनको बजार विस्तारका लागि प्रतिष्पर्धी मूल्यका अतिरिक्त यसको आकार र गुणस्तरमा राम्रो हुने हुदाँ तराईका जिल्ला जस्तै नवलपरासी , बाके, बर्दिया, कैलाली, कंचनपुर जस्ता जिल्लामा किसान हरुले पूर्ण रुपमा यो प्रबिधिबाट लसुन खेती गर्दै आएका छन् र अन्य तराई तथा मध्यपहाडमा पनि यो प्रबिधि विस्तार गरि लसुन खेति गरेमा उत्पादन बढ्न गइ लसुन बालीमा देशलाई आत्मनिर्भर बनाउन सकिन्छ ।

-लेखक फलेवास नगरपालिकाका कृषि अधिकृत हुन ।

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका