जोडिनुहोस
  • होमपेज
  • चितवनमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

चितवनमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

चितवन, मंसिर १०-

कोरोनाले थलिएको चितवनको पर्यटनले विस्तारै गति लिन थालेको छ ।

बाह्य पर्यटनको आगमन नभए पनि आन्तरिक पर्यटनको संख्या बढ्दै गएपछि चितवनमा चहलपहल बढेको हो । सरकारले छानेका १०० पर्यटकीय गन्तव्यमा छानिएको भरतपुर–२२ पटिहानीमा सञ्चालित अम्ब्रेला स्ट्रिट एक उदाहरणीय स्थल बनेको छ ।

निर्माण भएको केही समयमै कोरोनाका कारण बन्द भएको सो ठाउँमा पछिल्लो समयमा भने चहलपहल बढ्दो छ । राप्तीको काखमा रहेको अम्ब्रेला स्ट्रिटको विशेषता त्यहाँ राखिएका सप्तरंगी छाता नै हो । यद्यपि त्यहाँ थारु, बोटेलगायतका जातजातिका संस्कृति झल्काउने चित्रकला पनि राखिएको छ । साँझमा त्यहाँ राखिएको फाउन्टेनमा रंगीन पानीको फोहोराले थप आकर्षण थपेको छ ।

फोटो : अम्ब्रेला स्ट्रीट फोटोग्राफी

पटिहानी भरतपुर–२२ का वडाअध्यक्ष विष्णुराज महतोले प्राकृतिक सुन्दरता, शान्त रमणीय जंगली जनावार हेर्नकै लागि पनि पर्यटकको आगमन बढिरहेको बताए । राप्ती नदीबाट देखिने सूर्यास्ताले पनि लोभ्याउने उनको विचार थियो ।

अहिले दैनिक आठ सयको हाराहारीमा र बिदाको दिनमा झण्डै तीन हजार जना आन्तरिक पर्यटकको आगमन भइरहेको वडाअध्यक्ष महतोले बताए । अम्ब्रेलाको नयाँपनले नै पर्यटक आर्कषित भइरहेको उनको दाबी छ ।

टिकटक बनाउने, सेल्फी लिने पयर्टक रमाउने ,साँझमा जंगली जनावरको दृश्यावलोकनलगायतमा पर्यटक रमाइरहेको पर्यटक देख्न सकिन्छ । पर्यटकलाई थप आर्कषित गर्न पर्यटकीय गतिविधि थप्न लागेको वडाअध्यक्ष महतोको भनाइ छ । सीतामाईबाट सौराहाको हात्ती प्रजनन् केन्द्र खोरसोरसम्म जीप सफारीको काम थालिएको र छिट्टै सञ्चालनमा आउने उनले बताए ।

उपरदाङगढीमा पर्यटक बढ्दो

ऐतिहासिक तथा पर्यटकीय गन्तव्यको रुपमा चिनिने चितवनको पहाडी क्षेत्र उपरदाङगढीमा पछिल्लो समयमा पर्यटनको आर्कषण बढ्दो छ ।

लकडाउनपछि आन्तरिक पर्यटकको आगमन भइरहेको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुकदेव लम्सालले नारायणी अनलाइनलाई जानकारी दिए ।

फोटो: शिव गौतम

‘नियमित आउने पर्यटक कम भएपनि लकडाउनपछि एकैदिन ३०० जनासम्म आएको रेर्कड छ’ प्रमुख प्रशासकीय अधिकृत लम्सालले भने ।

सडक बनेकाले अहिले गाडी र मोटरसाइकलबाट उपरदाङगढी पुग्न सजिलो भएको छ । विगतमा शक्तिखोरसम्म सवारी यात्रापछि २/३ घण्टा हिँडेरै गढी घुम्न पर्यटक आउँथे । अहिले शक्तिखोरबाट पौने घण्टामै गढी पुगिन्छ । तर, पनि विगत भन्दा अहिले पर्यटक कम भए पनि विस्तारै आशा पलाउँदै गएको प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताए ।

समुन्द्र सतहदेखि १२०५ मिटर उचाइमा रहेको उपरदाङगढी चितवनको पुरानो सदरमुकाम भनेर चिनिन्छ । बाइसे चौबिसे राज्य एकीकरणका बेला अंग्रेज फौज विरुद्धको युद्धको दौरानमा नेपाली भूमिको रक्षाका लागि निर्माण गरिएको गढीभित्र कोत घर, कालिका र सिद्धबाबाको प्रतिमा, इनारलगायतका संरचना रहेका छन् । ढुंगा माटो र चुनबाट निर्माण गरिएको गढीको बाहिरी भागको मोटाई तीन फिट रहेको छ । यस ऐतिहासिक स्थल गढीमा ९ वटा सेन्ट्रीपोष्टलगायतका ऐतिहासिक दस्तावेज रहेका छन् । प्राकृतिक सुन्दरताले भरिएको चितवनको इच्छाकामना गाउँपालिकामा अवस्थित यो ठाउँमा लकडाउनपछि मुख्यत मानिसहरु ट्रेकिङको लागि पनि यो ठाउँ विशेष बन्दै गएको लम्सालले बताए । इच्छाकामना गाउँपालिका अन्र्तगत पर्ने जलबिरे लाम्रो झरनामा पनि दैनिक ५० देखि ६० जना पर्यटक आउने गरेको उनले बताए ।

सौराहा तंग्रन सकेन

चितवनका विभिन्न ठाउँमा पर्यटकीय गतिविधि बढिरहँदा मुख्य पर्यकटकीय स्थल सौराहमा भने तंग्रिन सकेको छैन । कोरोनाका कारण ठप्प सौराहा पछिल्लो समयमा खुला रहे पनि पर्यटकको आगमन अन्यन्तै न्यून रहेको पर्यटन व्यवसायीले बताएका छन् ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले पर्यटकको आगमन कम रहेको बताए ।उनले भने -लकडाउनपछि केहि आन्तरिक पर्यटकको आगमन बढेपनि सोचेजस्तो रुपमा पर्यटकको चहलपहल कम रहेको छ।  विगतमा यतिबेला सौराहामा खाना महोत्सव, हात्ती महोत्सवलगायतका पर्यटकीय गतिविधि भए पनि यसपाली कोरोनाकै कारण सबै ठप्प हुँदा पर्यटकको आगमगनमा कमी रहेको अध्यक्ष भट्टराईको भनाइ छ ।

पर्यटक आर्कषण गर्न सौराहामा विभिन्न छुटको व्यवस्था गरिएको छ । तथापि पर्यटकको संख्यामा कमी आएपछि व्यवसायी अन्योलमा रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका