



काठमाडौँ, मङ्सिर ९–
कक्षा १२ को परीक्षा मंगलबारदेखि सुरु भएको छ । कोरोनाभाइरसको सङ्क्रमण कायमै रहेको अवस्थामा प्रभावित भएको परीक्षा स्वास्थ्य सावधानीका सम्पूर्ण उपाय अपनाएर मंगलबारदेखि देशभर सुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
कक्षा १२ को परीक्षा गत वैशाख ८ गतेबाट सञ्चालन हुनुपर्ने थियो । तर महामारीका कारण स्थगित भएको परीक्षा अहिले सञ्चालन गरिएको हो ।
पहिलो दिनको परीक्षा मंगलबार बिहान साढे ९ बजे सकियो । ४० अंक भारको परीक्षा बिहान ८ बजे सुरु भएको थियो ।
सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दूरी कायम गरेर परीक्षा सञ्चालन भएको हो ।
शनिबार समेत परीक्षा सञ्चालन गरेर १६ मंसिरमा सबै विषयको परीक्षा सम्पन्न हुने बोर्डले जनाएको छ ।
कोभिड–१९ संक्रमित विद्यार्थीलाई भने बोर्डले परीक्षामा सहभागी नहुन अनुरोध गरेको छ । संक्रमितहरूलाई कोरोना मुक्त भएपछि छुट्टै परीक्षाको व्यवस्था गर्ने बोर्डले जनाएको छ । बोर्डले गएको भदौमा कक्षा १२ का विद्यार्थीको विवरण संकलन गरेको थियो ।
४ लाख ३३ हजार १ सय ८० परीक्षार्थीका लागि ४ हजार १ सय ५ परीक्षा केन्द्र तोकिएको छ ।