जोडिनुहोस
  • होमपेज
  • प्राकृतिक चिकित्सालयका कोरोना संक्रमितलाई रेडक्रसको न्यानो सहयोग

प्राकृतिक चिकित्सालयका कोरोना संक्रमितलाई रेडक्रसको न्यानो सहयोग

चितवन, मंसिर ७–

चितवनको भरतपुर महानगरपालिका–१ बागीश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरुलाई न्यानो कपडा सहयोग गरिएको छ ।

आइतबार नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले उपचाररत संक्रमितहरुलाई जाडोमा न्यानोका लागि केही सहयोग सामग्री प्रदान गरेको हो । रेडक्रसबाट हाललाई २५ थान कम्बल र १० थान त्रिपाल सहयोग भएको हो । आइसोलेसन सेन्टरमै पुगेर नेपाल रेडक्रस सोसाइटी चितवन शाखा सभापति ज्ञानशाली न्यौपानेले चिकित्सालयका अध्यक्ष कमल मल्ल र आइसोलेसन केन्द्र संयोजक ऋषिराज पाण्डेलाई संयुक्त रुपमा सामग्री हस्तान्तरण गर्नुभयो ।

बागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमका अध्यक्ष शैलेन्द्र पियाको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा रेडक्रसका पदाधिकारी सदस्यहरु, चिकित्सालयका पदाधिकारी एवम् डाक्टर कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित भरतपुर–१४ का वडा अध्यक्ष ओमप्रसाद पोखरेलले यहाँ उपचार गरेका सबै बिरामीले उपचार सेवा राम्रो भएको भन्दैगर्दा खुसी लाग्ने गरेको बताउनुभयो । भरतपुर महानगरपालिका विपद् व्यवस्थापन फोकल पर्सन जीवलाल कुँवरले यो आइसोलेसन केन्द्र सञ्चालनमा चिकित्सालयको अतुलनीय योगदान रहेको भन्दै सहयोगी हातहरु प्रतिआभार प्रकट गर्नुभयो । प्राप्त सहयोगहरुले केन्द्रको व्यवस्थापन तथा सञ्चालनमा निकै सहयोग पुगेको र महानगरलाई राहत मिलेको उहाँले बताउनुभयो ।

गत भदौ १४ गतेबाट सञ्चालनमा आएको यस आइसोलेसन केन्द्रमा हालसम्म ३६६ जना कोरोना संक्रमित भर्ना भएकोमा ३४६ निको भएर घर फर्किसकेको चिकित्सालयका निर्देशक डाक्टर हेमराज कोइरालाले जानकारी दिनुभयो । यसअघि यस आइसोलेसन केन्द्रमा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनबाट २ थान सि प्याप मेसिन सहयोग भइसकेको छ । यसैगरी लण्डनमा बस्ने नेपालीहरुले रकम संकलन गरी अक्सिजन दिने मेसिन उपलब्ध गराएको डा. कोइरालाले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका