जोडिनुहोस
  • होमपेज
  • अझै रोकिएन गैँडा मर्ने क्रम, संरक्षणमा चुनौती

अझै रोकिएन गैँडा मर्ने क्रम, संरक्षणमा चुनौती

रामचन्द्र वाग्ले


गैँडा स्तनधारी वर्गको मेरुदण्डीय जनावर हो । यो हात्ती पछिको सबैभन्दा विशाल जीव हो । गैँडा भाले र पोथी दुवै एक्लै बस्न रुचाउँछन् । नेपाल सरकार र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले संयुक्तरुपमा तयार पारेको ‘एक सिङ्गे गैँडा संरक्षण कार्ययोजना (२०१७–२०२१) अनुसार हाल विश्वमा पाँच प्रजाति र ११ उपप्रजातिका गैँडाहरु मात्र पाइन्छन् । पाँच प्रजाति मध्ये तीन प्रजातिका गैँडा एसियामा पाइन्छन् भने बाँकी दुई प्रजातिका गैँडा अफ्रिकामा पाइन्छन् । एसियामा पाइने गैँडाहरु एक सिङ्गे गैँडा, जाभान गैँडा र सुमात्रान गैँडा हुन् । त्यस्तै कालो गैँडा र सेतो गैंडा अफ्रिकामा पाइने गैँडाहरु हुन् । जाभान र एक सिङ्गे गैडाको एउटा मात्र सिङ् हुन्छ । अन्य गैँडाको दुई वटा सिङ् हुन्छ । नेपालमा पाइने गैँडा एक सिङ्गे गैंडा हो । यसको वैज्ञानिक नाम राइनोसेरोस युनिकोर्निस हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले सन् २००९ मा प्रकाशित गरेको पुस्तक ‘द स्टाटस एण्ड डिस्ट्रिब्युसन अफ द ग्रेटर वन हर्न राइनो इन नेपाल’ का अनुसार एक सिङ्गे गैँडा भारतको उत्तर पूर्वी क्षेत्रमा र नेपालको दक्षिणी भू–भागमा पाइन्छन् । भारतको आसामस्थित काजिरंगा राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी (दुई हजार ४१३) वटा एक सिङ्गे गैडा छन् । लण्डनको प्राणी समाज (जुलोजीकल सोसाइटी अफ लण्डन) का अनुसार नेपालको चितवन राष्ट्रिय निकुञ्ज संसारको दोस्रो सबैभन्दा बढी एक सिङ्गे गैंडा पाइने क्षेत्र हो । नेपालमा चितवन राष्ट्रिय निकुञ्ज बाहेक शुक्लाफाँटा, पर्सा र बर्दिया राष्ट्रिय निकुञ्जमा पनि गैँडा पाइन्छन् ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ–२०१९ अनुसार सन् १९६० को अन्त्यतिर नेपालमा करिब ६५ वटा मात्र गैँडा भएको अनुमान गरिन्छ । त्यसपछि राज्यस्तरबाट नै यसको संरक्षणका लागि पहल भएको थियो । तर, पहिलो गैंडा संरक्षण कार्ययोजना (२००६–२०११) सुरु भएपछि यसको संख्या उल्लेखनिय रुपमा बढेको थियो ।
गैँडा संरक्षण कार्ययोजना (२०१७–२०२१) अनुसार हाल नेपाल र भारतमा गरी करिब तीन हजार ५०० वटा एक सिङ्गे गैँडा संरक्षण क्षेत्रमा छन् । राष्ट्र्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको वार्षिक प्रतिवेदन–२०१९ अनुसार हाल चितवन राष्ट्रिय निकुञ्जमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सा राष्ट्रिय निकुञ्जमा तीन गरी कुल ६४५ वटा गैँडा छन् । तर, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची (आईयुसीएन रेड लिष्ट) २०१९ अनुसार एक सिङ्गे गैँडाको संख्या नेपालमा ६४९ र भारतमा दुई हजार ९३९ गरी जम्मा तीन हजार ५८८ छ । गैँडाको गणना गर्न हात्ती प्रयोग गरिन्छ । पछिल्लो समय सन् २०१५ मा गैँडा गणना गरिएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग–२०१५ का अनुसार गैँडाको औषत वार्षिक वृद्धिदर पाँच प्रतिशत छ । गैँडा संरक्षण गर्ने उद्देश्यले बेलाबेलामा केही गैँडाहरु उपयुक्त संरक्षित क्षेत्रमा स्थानान्तरण गर्दै आइएको छ ।

गैँडा शाकाहारी जीव भएकाले विभिन्न प्रकारका घाँस खाएर आफ्नो जीवन निर्वाह गर्दछ । गैँडा संरक्षण कार्ययोजना (२०१७–२०२१) अनुसार गैँडाले एक दिनमा औषतमा करिब २४ किलोग्राम खाना खान्छ । यसले कुल समयको ४० प्रतिशत समय भोजन गर्नमा बिताउछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार गैंडाको औषत आयु ६० देखि ७० वर्ष हो । यसको लम्बाई चार मिटर, उचाइ एक मिटरदेखि पौने दुई मिटर हुन्छ । भालेको तौल करिब दुई हजार किलो हुन्छ भने पोथीको करिब एक हजार ५०० किलो हुन्छ । गैँडाको सिङ्लाई खाग भनिन्छ । यसको लम्बाई ६० सेन्टिमिटरसम्म हुन्छ । गैँडाको खाग धेरै मूल्यवान हुने भएकाले पहिले यसको चोरीशिकारी अत्यधिक मात्रामा गरिन्थ्यो । यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयूसीएन)ले सन् २००८ सालदेखि संवेदनशील (भल्नेरेबल) जीवको सूचीमा राखेको छ । त्यस्तै साइटिसले यसलाई अनुसूची एकमा सूचिकृत गरेको छ ।

यसको गर्भधारण अवधि १६ देखि १८ महिनाको हुन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार गैँडाका बच्चाहरु एकदेखि तीन वर्षसम्म पनि आमाकै रेखदेखमा बस्छन् । विश्व वन्यजन्तु कोषका अनुसार पोथी पाँचदेखि सात वर्षमा परिपक्व हुन्छ भने भाले १० वर्षमा परिपक्व हुन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले २०७५ सालमा प्रकाशन गरेको वन्यजन्तु पुस्तक ‘नेपालमा अधिक चोरी शिकार र अवैध व्यापार हुने वन्यजन्तु तथा वनस्पतिहरुको जानकारी’ अनुसार गैँडा घाँसे मैदान र पानी भइरहने क्षेत्रमा बस्न रुचाउने जनावर हो । नदी तटमा रहेका काँसका घाँसे मैदानहरु यसको सबैभन्दा महत्वपूर्ण बासस्थान हो ।

गैंडा ‘किस्टोन’ र छाता’ प्रजातिको जीव हो । त्यसैले हामीले यसको संरक्षण गर्‍यो  भने यो पाइने क्षेत्रमा समग्र वन, वनस्पति र अन्य वन्यजन्तुको स्वतः संरक्षण हुन्छ । गैँडा हाम्रो देशको लागि राष्ट्रिय गौरवको जीव हो । यसले खाद्य चव्रm तथा खाद्य श्रृंखला सन्तुलन गर्न महत्वपूर्ण भूमिका खेल्छ । यसले पारिस्थितिक प्रणाली सन्तुलन राख्न मद्दत गर्छ । यसले परागसेचन व्रिmया र बिउ वितरण कार्यमा पनि योगदान पुर्‍याउँछ  ।

एक सिङ्गे गैंडा नेपाल र भारतमा मात्र पाइने जनावर भएकाले यसलाई हेर्न थुप्रै विदेशी पर्यटकहरु नेपालमा आउछन् । त्यसको फलस्वरुप हामीले गैँडा पर्यटनको विकास गरी रोजगारी र व्यापार व्यवसाय गर्न पाउँछांै । यसले गर्दा विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । यसको संरक्षण गर्न थुप्रै स्वदेशी तथा विदेशी पूँजी (फन्ड) आउँछन् । यसले देशको अर्थतन्त्र विकास गर्न मद्दत मिल्छ । यसका साथै गैँडाले अनुसन्धान गर्ने अवसरको सिर्जना पनि गर्छ । विदेशी राष्ट्रहरुसँग सम्बन्ध मजबुत पार्न नेपालले बिगतदेखि नै गैँडा उपहार दिँदै आएको छ । त्यसकारण गैँडा दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउनका लागि पनि अति आवश्यक जीव मानिन्छ ।सन् २००८ मा गरिएको सर्वेक्षणअनुसार गैँडा सङ्कटमा पर्नुका मुख्य कारणहरु चोरीशिकारी, बासस्थान विनाश र वासस्थान ह्रास थियो । यसका साथै मिचाहा प्रजातिका बिरुवा पनि कारक तत्व बन्दै गएको थियो । तर पछिल्लो सर्वेक्षणअनुसार गैँडाको चोरीशिकारी अत्यन्तै न्यून (लगभग शून्य) छ । यसका बाबजुद गैँडा मर्ने क्रम घटेको छैन् । संरक्षणकर्मीहरुका अनुसार पछिल्ला केही वर्षयता गैँडा प्राकृतिक कारणहरुले बढी मर्ने गरेका छन् ।

विगतका तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७३\०७४ मा २५ वटा, २०७४\०७५ मा २६ वटा गैँडा प्राकृतिक कारणले मरेका थिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विसं २०७६ सालमा प्रकाशन गरेको ‘संरक्षण समाचार’ अनुसार गत आर्थिक वर्ष २०७५\०७६ मा प्राकृतिक कारणले ४२ वटा र अन्य कारणले सात वटा गरी ४९ वटा गैँडा मरेका छन् । एक तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७६\०७७ मा चितवन राष्ट्रिय निकुञ्जमा २६ वटा गैँडा मरेका थिए । चालु आर्थिक वर्ष २०७७\०७८ मा चितवन राष्ट्रिय निकुञ्जमा अहिलेसम्म नौ गंैडा प्राकृतिक कारणले मरेका छन् । यसका साथै यस आर्थिक वर्षमा अहिलेसम्म चार वटा गैँडा शिकारीले मारेका छन् । त्यसैले गर्दा गैँडा संरक्षण झनै चुनौतीपूर्ण बन्ने देखिएको छ ।

केही गैँडाहरु गोहीको आव्रmमणमा परी मर्ने र साना बच्चा बाघको आव्रmमणले मर्ने गरेको पाइएको छ । त्यस्तै पोथीसँगको संसर्गका बेला भाले भाले आपसमा जुधेर घाइते हुने र मर्ने गरेको पनि पाइएको छ । चितवन राष्ट्रिय निकुञ्जमा सानो क्षेत्रफलमा धेरै गैँडाहरु भएकाले जुध्ने जोखिम बढेको छ । पछिल्ला केही वर्षदेखि गैँडाहरु धेरै मर्नुका प्रमुख कारण बाढी र बासस्थानलाई मानिएको छ । घाँसे मैदानको उचित व्यवस्थापन नहुनु र तालतलैया कम मात्रामा हुनु पनि गैडा मर्नुका अन्य कारण हुन् । त्यस्तै थप कारणहरुमा मिचाहा प्रजातिका बिरुवा जस्तैः वनमारा, ल्यान्टेना क्यामेरा, जलकुम्भीलगायत अनियन्त्रित वन डढेलो, मानव र गैँडाबीचको द्वन्द्व रहेका छन् । यसका साथै फुड पोइजनिङ पनि अर्को कारण हो । गैँडाहरु खानाको खोजीमा राष्ट्रिय निकुञ्जभन्दा बाहिर जाने र विषादी हालिएको बालीनाली खाने गर्दा पनि संव्रmमण भएर मर्ने गरेको पाइएको छ ।

कालगति बाहेक अन्य कारणलाई रोक्न निकै आवश्यक छ । गैँडा बाढीमा बग्नबाट बचाउँनका लागि नदी व्यवस्थापन तथा कार्ययोजना निर्माण गर्नुपर्छ । मिचाहा प्रजातिको आवागमन र फैलावटलाई रोक्नुपर्छ । प्रशस्त घाँसे मैदानको व्यवस्था गर्नुपर्छ । गैँडाको लागि क्षेत्रफल विस्तार गर्नुपर्छ । गैँडा धेरै भएर जुध्ने जोखिम देखिएमा उपयुक्त स्थानमा स्थानान्तरण गर्नुपर्छ । वनडढेलो न्यूनिकरण गर्ने उपायहरु अपनाउँनुपर्छ । फुड पोइजनिङ हुनबाट बचाउँनका लागि समुदायस्तरमा गैँडाको महत्व र विषादीका असरहरुबारे जनचेतना फैलाउँनुपर्छ ।

(लेखक वाग्ले स्नातकोत्तर क्याम्पस विराटनगरका प्राणी शास्त्र विभागका एमएस्सीका शोधकर्ता हुनुहुन्छ ।)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका