



चितवन,कार्तिक २२-
चर्चित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलको स्वास्थ्यमा सुधार आएको छ। कोरोना पोजिटिभ भएपछि उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा भर्ना गरिएको थियो। होम आइसोलेसनमा बसिरहेका बेला स्वास्थ्य अवस्था गम्भीर बनेपछि बुधबार उनलाई अस्पताल लगिएको थियो।
उनको स्वासप्रश्वासमा समस्या आएपछि आईसीयूमा राखेर उपचार थालिएको थियो। अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका मनोजले हिजोभन्दा आज एकदम राम्रो भएको जनाएका छन्। सामाजिक सञ्जालमार्फत उनले आफ्नो स्वास्थ्यमा सुधार आइरहेको भन्दै स्वास्थ्य लाभको कामना गर्नेलाई धन्यवाद दिएका छन्।
उनले लेखेका छन्, “आराम छु, आरामको कामना गर्दछु। हिजो भन्दा आज धेरै राम्रो भइरहेको छ। स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यबाद।” अस्पताल भर्ना भएको जानकारी पाएपछि उनकी पूर्व पत्नी मिना ढकालले समेत स्वास्थ्य लाभको कामना गर्दै मनछुने स्टाटस लेखेकी थिइन्। सामाजिक सञ्जालमा उनले कोरोनालाई जितेर चाँडैं फर्किन आग्रह समेत गरेकी थिइन्। कात्तिक १० गते उनलाई कोरोना पोजिटिभ पुष्टि भएको थियो।