जोडिनुहोस
  • होमपेज
  • मर्दी भ्यू पोइन्टबाट हिमाल नियाल्दा….(फोटोफिचर)

मर्दी भ्यू पोइन्टबाट हिमाल नियाल्दा….(फोटोफिचर)

मनोज घिमिरे–

कास्कीको मर्दी हिमाल भ्यू पोइन्ट नियाल्ने अभिलाषा लिएर हामी गत कार्तिक १३ गते सबेरै भरतपुरदेखि कास्कीको सदरमुकाम पोखरा हानियौं । टोलीमा हामी १० जना थियौँ । सोही दिन हामी पोखराबाट करिब सवा १ घण्टाको जिप यात्रापछि सुन्दर धम्पुस गाउँ पुग्यौं। धम्पुस पुग्न पोखरा (बागलुङ सडकखण्ड अन्तर्गत पर्ने घट्टे खोला भन्ने ठाउँबाट करिब ६ किलोमिटर तथा पोखराबाट करिब २५ किलोमिटरको सडक यात्रा गर्नुपर्ने रहेछ ।

पोखराबाट हाम्रो टोलीमा एक जना गाइड पनि थपिएका थिए । पहिलो दिनको थकाइ हामीले सोही गाउँमा बिताउने निधो पनि गर्‍यौं । धम्पुसबाट सूर्यास्त तथा सूर्योदयको दृश्य निकै नै आकर्षक देखिएका थिए । झन् अन्नपूर्ण साउथ, हिउँचुली, माछापुच्छ्रे तथा लमजुङ हिमालमाथि सूर्यको प्रकाश ठोक्किएर पैदा भएको दृश्य साँच्चै नै अवर्णनीय थियो । यी सबै हिमाललाई झनै नजिकबाट नियाल्दा कस्तो देखिने होला भन्ने कौतुहलताले हामीलाई घच्घच्याइरह्यो । हाम्रो प्रमुख गन्तव्य पनि मर्दी भ्यू पोइण्ट पुगी अग्ला हिमशृंखलासँग नजिकैबाट साक्षात्कार गर्नु नै थियो ।

पहिलो रात धम्पुसमा बिताएपछि दोश्रो दिन बिहानै करिब सात बजेतिर हामी मर्दी भ्यु पोइन्टतिर लम्कियौं । धम्पुसबाट करिब साढे २ घण्टाको पैदलयात्रा पछि हामी अष्ट्रेलियाली शिविरमा पुग्यौं । समुद्र सतहबाट करिब २ हजार मिटरको उचाइमा रेहको सो शिविर वास्तवमा भने अस्ट्रियाको रहेछ । मानिसहरूले अस्ट्रियन शब्दलाई अष्ट्रेलियन भनेर उच्चारण गर्न थालेपछि सो ठाउँको नाम नै अपभ्रंस हुन पुगेको रहेछ । त्यसै शिविरमा केही बेर चियाको चुस्की लिँदै थकाइ मार्ने प्रयास ग¥यौं । हलुका नास्ता गरेपछि हामी फेरि अगाडि बढ्यौं । तराइँमा बसेको बानी भएर हुनुपर्छ पहाडी उकाले चड्दा स्याँस्याँ हुने गर्दथ्यो । लौरो टेक्दै, ठाउँठाउँमा बिसाउँदै अनि केही गफ गर्दै हामीले यात्रालाई अगाडि बढाइरहेका थियौं ।

दोश्रो दिन रात पर्नुअघि फरेस्ट क्याम्प पुगेर बास बस्ने योजना बनाएका थियौं । अष्ट्रेलियन शिविरबाट पोथना, पृतम, देउराली नाम गरेका ठाउँ छिचोल्दै हामी जंगलभित्र यात्रा गरिरहेका थियौं । जंगलभित्र गोरेटो बाटाका दायाँबायाँ लालीगुँरास फूलका बोट थिए । फाल्गुन महिनादेखि चैत्रसम्म त ढकमक्क फुलेका फूलले जंगल नै पूरै रातो मात्रै देखिन्छ रे ।

जंगलभित्र जुका पनि लाग्दा रहेछन् । मलाई पनि केही जुकाले टोकेछन् । तर असार श्रावणको बेलातिर त बाक्लै जुका भेटिन्छन् रे । त्यो बेला त जंगलको बाटो भई हिँड्नेहरू जंगल काटिसकेपछि मात्रै जुका केलाउँछन् रे । बाटोमा जुगा पन्छाउन सम्भव नै नहुने कुरा हाम्रा गाइडले बताउँदै थिए । हामी पनि उनका कुरालाई चाख मानेर सुनिरहेका हुन्थ्यौं । त्यस दिन फरेस्ट क्याम्पसम्म पुग्दा बेलुकाको ६ बजिसकेको थियो। त्यो दिन त हामी लगभग ७ घण्टा नै निरन्तर हिँड्यौं । प्रायः सबैको मोबाइलको बेटरीको पावर सकिएकाले फोन चार्ज गर्न हानथाप नै भयो। जतिजति माथि बढ्यो, चिसोका कारण मोबाइलको चार्ज उति नै चाँडै सकिने रहेछ । फरेस्ट क्याम्पको बसाइ पनि अघिल्लै रात जसरी नै गिटार बजाउँदै, गीत गाउँदै, निकै रमाइलोसँग बित्यो।

तेश्रो दिनको हाम्रो गन्तव्य मर्दी हिमाल हाई क्याम्प थियो । फरेस्ट क्याम्पबाट बिहान करिब ८ बजेतिर हामी अगाडि बढ्यौं । त्यो दिन पनि हामीले करिब ६ घण्टा पैदल नै यात्रा गर्नुपर्ने थियो । रेस्ट क्याम्प र लो क्याम्प हुँदै बादल डाँडा भन्ने ठाउँ पुग्दा हामी निकै भोकाइसकेका थियौं। त्यहाँ हामीले खाना खायौं । त्यतिञ्जेल हामी निलो आकाशरूपी क्यानभासमा सेतो बादलले कोरेको आकर्षक चित्रलाई धित मरुञ्जेल हेरेर रमायौं । आकाशमा सेतो बादल देखिइरहेने हुँदा सो ठाउँलाई बादल डाँडा भनिएको रहेछ ।

हामी बेलुकासम्म जसरी पनि हाई क्याम्प पुग्नुपर्ने थियो । ठाडो तथा तेसो, उकालो अनि ओरालो र डरलाग्दो भिरालो बाटो बिस्तारै बिस्तारै पार ग¥यौं । त्यस दिन बेलुकी करिब ६ बजे हामी हाई क्याम्प पुग्यौं। हाइ क्याम्पबाट सूर्यास्तको दृश्य देखिएपछि हामीले थकानमा पनि मीठास भेट्टायौं । क्षितिजमा अस्ताउँदै सूर्यको लालिमा हिमशृंखलमा ठोक्किएर बनेको मनमोहक दृश्यले हामीलाइ लठ्याइसकेको थियो । हाइ क्याम्पसम्म पुग्दा हामी समुद्र सतहबाट करिब ३३५० मिटरको उचाइमा उक्लिसकेका थियौं । भित्री मधेश चितवनबाट यात्रा सुरु गरेको तेश्रो दिनसम्म हामीले अग्लाअग्ला पहाडमा पाइला राखिसकेका थियौं ।

उचाइमा चिसो झनै बढदै थियो । न्यानोका लागि प्रायः होटलको हलमा दाउराको आगो बाल्न फलामको चिम्नि राखिएका थिए । आगोले तातेपछि त्यसले हिटरको काम गर्ने रहेछ । अब फेरि सबैजना मोबाइल चार्झ गर्ने तरखरमा थियौं । हिमालका टाकुरा हेर्न यो मौसम उत्तम हुने हुँदा क्याम्पमा आन्तरिक पर्यटकहरूको घुइँचो देख्न सकिन्थ्यो । देशका फरक फरक भूभागका मानिसहरू हामी एकै ठाउँ बसेर सुन्दरता निकालिरहेका थियौं ।

केही बेर गफ गरेपछि तेश्रो रातको खाना खायौं । अब हामी मर्दी हिमाल भ्यू पोइन्टबाट करिब २ घन्टा मात्र टाढा थियौं। त्यसकारण पनि हामी थप रोमाञ्चित बनेका थियौं । भोलिपल्ट मर्दी हिमालको भ्यू पोइन्टसम्म जानका लागि बिहानै उठ्न पर्ने हुँदा तेस्रो दिन हाइ क्याम्पमा अलि चाँडै सुत्ने निर्णय ग¥यौं।

भोलिपल्ट हाम्रो मोबाइलमा घण्टी पनि बज्यो । चाँडै उठ्न सकौँ भनेर सबैले फोनमा आल्रम सेट गरेका थियौँ । नित्य कर्म गरेपछि चौँथो दिन बिहान करिब साढे ५ बजे हामी फेरि अगाडि बढ्यौं । हामी भ्यू प्वाइन्टको जति नजिक जाँदै थियौं बाटो झन्झन् ठाडो हुँदै थियो । त्यस बखत एउटा भनाइ सम्झिएँ, ूअफ्ठेरा बाटा हिँडेर पुगिने गन्तव्य भने सुन्दर हुन्छन् रे ।ू कुनै फेसबुक युजरले सृजना गरेको यो वाक्य मैले पटक पटक मनन गरिरहेँ ।

करिब २ घन्टाको निकै उकालो अनि भिरालो बाटो छिचोल्दै अब भने हामी मर्दी हिमाल भ्यू पोइन्टसम्म पुगिसकेका थियौं । भ्यू पोइन्ट उक्लने बित्तिकै त्यहाँबाट आफ्नै आँखा आगाडि देखिएका सेता हिमालहरूले हामीलाई स्वागत गरिरहेको भान हुने गर्दथ्यो । गन्तव्यको अन्त्यमा हामी ४२०० मिटरको उचाईमा थियौं । आफ्नै हातले हिमाल छुन सक्छु जस्तो लाग्ने दृश्य, आहा । त्यहाँबाट अन्नपूर्ण साउथ, हिउँचुली, लम्जुङ तथा माछापुच्छ्रे हिमाल एकदमै नजिक देखिएका थिए । हिमालको काखमै बसेजस्तो लागेको थियो । त्यहाँबाट डाँफे, घोरल र झारल जस्ता जीवजन्तु पनि देख्न पाइँदो रहेछ ।

मौकाले जुरेको यात्रा, फेरिफेरि घुम्न पाइन्नँ । हामी पनि हिमाललाई पृष्ठभूमिमा राखेर फोटो खिच्न लाग्यौं । प्रकृतिको यो अनुपम सुन्दरतामा को पो नरमाउँला र रु भ्यू पोइन्टमा एउटा टि सप पनि रहेछ। निकै जाडो भएकाले हामीले पनि केही कप चिया मगायौं । पहिलो टि सप सञ्चालक टंक प्रसाद गौतमलाई त्यहाँ चिया काका भनेर चिन्दा रहेछन् । चिया पिउँदै गफ गर्दा थाहा भयो उनको पहाड घर सिडिङ भए पनि चितवनको गीतानगरमा बसाइ सरेका रहेछन् । उनकी श्रीमतीसहित परिवारका अन्य सदस्य भने चितवन मै बस्दा रहेछन। चितवनबाट आएको बताएपछि भ्यू पोइन्टमा एक कप चियाको मुल्य २५० रुपैयाँ रहेको भएपनि उनले हामीसँग प्रति कप १५० रुपैयाँभन्दा बढी लिएनन् । हाई क्याम्पबाट पानी बोकेर ल्याउन पर्ने र निकै दुःख गरेर आगो बाल्न पर्ने हुँदा पनि चिया को मुल्य २५० पर्ने चिया काका गौतमले बताए । वर्षको ६ महिना चिया काका मर्दी भ्यू पोइन्टमा रहेर व्यवसाय चलाउँदा रहेछन् । बाँकी छ महिनाका लागि भने चितवन फर्कँदा रहेछन् । मौसममा दैनिक करिब १० हजार र अन्य समयमा करिब ३ देखि ४ हजार कमाउँछन् रे, चिया काकाले । चिया काकासँग गफ गर्दा गर्दै करिब २ घन्टाको समय हामिले भ्यू पोइन्टमा बिताइसकेका रहेछौं ।

काकालाई चितवन पुगेका बेला फेरि भेट्ने बाचा गर्दै हामी भ्यू पोइन्टबाट ओरालो झर्न थाल्यौं । ४२०० मिटरको उचाइबाट बिस्तारै हाई क्याम्प हुँदै हामी बादल डाँडा पुगी खाना खायौं। चौंथो दिनको हाम्रो बसाइ लो क्याम्पमा हुने निश्चिय गरिएको थियो । बिस्तारै बिस्तारै हिँड्दै हामी बास बस्ने ठाउँसम्म पुग्यौं। एउटा अविस्मरणीय यात्रा पूरा गर्न पाउँदा हामी सबै खुशी थियौं ।

रातको खानासँगै साथी रविले गितार बजाए । अलिसा र मेरी श्रीमती इन्दिराले मिठो भाकामा गीत सुनाए। रमाइलो सकेर हामी सुत्न तर्फ लाग्यौं । पाँचौ दिन लो क्यामबाट बिहान करिब ८ बजे ३ घन्टाको छोटो तर निकै अप्ठ्यारो ओरालो बाटो हुँदै पैदल झरेर सिडिङ आयौं । सिडिङबाट बोलेरो जीप चढेर पहाडको निकै डर लाग्दो बाटोमा साढे २ घन्टाको यात्रा पछि हामी पोखरा फर्किँयौं । पोखरामा खाना खाएर केही बेर विश्राम गर्दै सोहही दिन हामी चितवन फर्कियौं । यसरी चार रात र पाँच दिनको यात्रा पूरा गरी सकुशल भरतपुर फर्कियौं । घर पुगी बिस्तारामा पल्टिएर बिस्तारै आँखा चिम्लिएँ । निद्रामा समेत मैले तिनै सुन्दर हिमालको आकृति पाइरहेको थिएँ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका