



चितवन, कार्तिक ११–
चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या चार हजार नजिक पुगेको छ । भरतपुर अस्पतालका अनुसार सोमबार साँझसम्ममा कुल संक्रमितको संख्या ३ हजार ९४७ रहेको छ । जसमध्ये एक हजार ७५३ संक्रिय संक्रमित छन् ।
सुरुवाती चरणमा संक्रमितहरुलाई छुट्टै सार्वजनिक आइसोलेसनमा राख्ने गरिए पनि पछिल्लो समय होम आइसोलेसनलाई प्राथमिकता दिइएपछि चितवनमा पनि होम आइसोलेसनमा बस्ने क्रम बढ्दो छ । सक्रिय संक्रमित मध्ये एक हजार ३४६ जना संक्रमित होम आइसोलेसनमा रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
चितवनमा सबैभन्दा धेरै संक्रमित भरतपुर महानगरपालिकामा रहेका छन् । यहाँ संक्रमितको संख्या २ हजार ६६७ जना रहेका छन् । यस्तै रत्ननगर नगरपालिकामा संक्रमितको संख्या ५०२ जना रहेका छन् भने खैरहनी नगरपालिकामा २८७ जना रहेका छन् ।
यसैगरि राप्ती नगरपालिकामा २५९ जना, कालिका नगरपालिकामा ११७ जना, माडी नगरपालिकामा ८६ जना र इच्छाकामना गाउँपालिकामा २९ जना संक्रमित छन् ।
चितवनमा कोरोनाबट हुने मृत्युदर समेत बढ्दो क्रममा रहेको छ । हालसम्म कोरोना संक्रमणबाट चितवनका ५० जनाको मृत्यु भइसकेको छ । चितवनमा कोरोनाबाट हुने मृत्युदर १.२७ प्रतिशत पुगेको छ । ४४.४१ प्रतिशत संक्रमित सक्रिय छन् भने ५४.३२ प्रतिशत संक्रमित निको भएका छन् ।