जोडिनुहोस
  • होमपेज
  • गृह मन्त्रालयले भन्यो : दसैँमा जोखिम बढ्न सक्छ, प्रजिअहरु छठसम्म जिल्ला नछाड्नु

गृह मन्त्रालयले भन्यो : दसैँमा जोखिम बढ्न सक्छ, प्रजिअहरु छठसम्म जिल्ला नछाड्नु

काठमाडौँ, कात्तिक ४-

 

देशको शहरी क्षेत्रमा कोरोना भाइरसको महामारी बढ्दै गएपछि गृह मन्त्रालयलले  छठसम्म नै कडिकडाउको तयारी गरेको छ ।

चाडबाडको समयमा कोभिड–१९ को संक्रममण थप बढ्न सक्ने भएकाले सचेत रहन र तद्अनुरूपको कार्य गर्न गराउन मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको हो । मन्त्रालयले कोरोनाको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा चुनौती थपिरहँदा चाडबाडमा हुने गतिविधिले जोखिम निम्त्याउन सक्नेतर्फ मातहतका निकायको ध्यानाकर्षण गराएको हो ।

बडादशैँ, तिहार, छठ, नेपाल संवतलगायतका चाडपर्वमा मानिसको आवतजावत बढ्ने र संक्रमण थप बढ्न सक्ने जोखिम देखिएकाले दसैँ बिदाको अवधिमा प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न मन्त्रालयले निर्देशन दिएको छ ।

जोखिम नियन्त्रणका लागि समन्वयात्मकरूपमा हरसम्भव सबै उपायहरू अवलम्बन गर्न र गराउन मातहत सबै सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो ।

मन्त्रालयको निर्देशनअनुरूप कतिपय जिल्लामा निषेधाज्ञा तथा प्रतिवन्धका विविध व्यवस्था कार्यान्वयनमा आइसकेको पनि उहाँले बताउनुभयो । अतिआवश्यक काम नपरी घरबाट बाहिर ननिस्कन, घुमफिर नगर्न, चाडपर्वमा भेला, जमघट तथा भोजभतेर नगर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

यस वर्षको चाड जो जहाँ छौँ त्यहीँ बसी मनाउन र स्वास्थ्य सुरक्षाका निर्धारित मापदण्ड अनिवार्यरूपमा पालना गर्न र गराउनसमेत अनुरोध गरिएको छ । कोभिड–१९ को संक्रमणबाट जोगिन स्वीकृत स्वास्थ्य मापदण्डअनुरूप दूरी कायम गर्ने, भीडभाड नगर्ने, मास्क अनिवार्य लगाउने, नियमितरूपमा साबुन पानीले हातधुने वा स्यानिटाइजर प्रयोग गर्ने जस्ता क्रियाकलाप अपनाउन पनि मन्त्रालयले आह्वान गरेको छ ।

चाडपर्वको अवसरमा चाडपर्व केन्द्रित सुरक्षा योजना बनाई कुनै पनि अशान्ति, झैझगडा, चोरी, लुटपाट, डकैती, ठगी, कृत्रिम अभाव, कालोबजारीलगायतका अवाञ्छित तथा आपराधिक गतिविधि हुन नदिन मन्त्रालयले प्रशासन कार्यालयलहरूलाई निर्देशन दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका