जोडिनुहोस
दशैं को हार्दिक सुभकामना
  • होमपेज
  • एनआरएनए विज्ञ सम्मेलन : कोरोनाले नेपालको कृषि क्षेत्र धरासायी

एनआरएनए विज्ञ सम्मेलन : कोरोनाले नेपालको कृषि क्षेत्र धरासायी

काठमाडौं, असोज २४-

कोरोना भाइरस (कोभिड–१९) ले कृषि क्षेत्र धरासायी भएको छ । कोभिडले डेरी, तरकारी र पोल्ट्री क्षेत्रमा पूर्णरुपमा असर गरेको छ ।

गैरआवासीय नेपाली संघले गरेको दोस्रो विश्व ज्ञान सम्मेलनको अवसरमा कृषि तथा खाद्य सुरक्षाले उच्च प्राथमिकता पाएको छ । सम्मेलनमा कृषिसँग सम्बन्धित आधा दर्जन बढी कार्यपत्र प्रस्तुत भए । नेपाल कृषिप्रधान देश भए पनि कृषिमा आत्मर्निभर हुन सकेको छैन । उत्पादन घट्दै जाँदा कृषिक्षेत्रमै परनिर्भरता बढ्दै गएको छ । ६७ प्रतिशत कृषिमा आश्रित जनसंख्या भए पनि कृषिको व्यवसायिक उत्पादन हुन नसक्दा कुल ग्राहस्थ उत्पादनमा यसको योगदान बढ्न सकेको छैन । नेपालले बर्सेनि दुई खर्ब बढीको कृषिजन्य वस्तु आयात गर्दै आएको छ ।

डा. जगदिश तिमिल्सनाले कृषि क्षेत्रको उत्थानका लागि विशेष योजना ल्याउन आवश्यक भएको बताउनुभयो । कृषिसँग सम्बन्धित दर्जनौं कार्यपत्र प्रस्तुत भएका थिए ।
राष्ट्रिय योजना आयोगको पूर्वसदस्य विमला राई पौडेलले कोभिडले कृषि र खाद्य क्षेत्रमा असर पारेको बताउनुभयो । कृषिमा प्रशस्त संभावना भए पनि उत्पादनमा जान नसकिएको उहाँको भनाइ छ । नेपालमा धेरै संभावना भए पनि धेरै आयात गर्नुपरेको अवस्था छ । कोभिडले समग्र अर्थतन्त्रमा असर पारिरहेको अवस्थामा कृषि क्षेत्रमा पनि समस्या सिर्जना गरेको उहाँको भनाइ छ । ‘कोभिड १९ ले भोकमरीको अवस्था आउन सक्ने देखिएको छ’ उहाँले भन्नुभयो । समयमा ढुवानी गर्न नसक्दा खाद्यान्न तथा खाद्य वस्तुमा कोभिडले असर गरेको उहाँले बताउनुभयो ।

‘डेरी, तरकारी र पोल्ट्री व्यवसाय कोभिडले धराशायी बनाएको छ’ उहाँले बताउनुभयो । मलको समस्या समाधान गर्न सरकारले नसकेको उहाँको भनाइ छ । प्रोडक्सन हाइ, कृषि पूर्वाधार तथा प्रविधि नभएका कारण कृषि आत्मनिर्भर हुन सकेको छैन । किसानको प्रवद्र्धन हुन नसक्दा चिन्तित भइरहेका छन् । ‘रोडम्याप बनाएर निर्यातमा भन्दा आयात प्रतिष्ठापन गर्न सके ठूलो उपलब्धि हुन्छ’उहाँले भन्नुभयो । सरकारले कृषिको आकर्षक प्याकेज ल्याए एकडेढ वर्षमै फड्को मार्न सकिने उहाँको भनाइ छ । कृषिमा आत्मनिर्भर हुन विदेशी लगानी आकर्षक गर्नुपर्ने उहाँको भनाइ छ । प्रविधि प्रयोग गरी कृषिको लागत घटाउन सके कृषिमा आकर्षण बढ्ने निश्चित छ । कृषि पूर्वाधार बनाएर व्यापारघाटा कम गराउन सकिने उहाँले बताउनुयो ।  धान विशेषज्ञ भोलामान सिंह बस्नेतले चैते धान र बर्खे धान उत्पादन बढाउनुपर्नेमा जोड दिए । उत्पादन बढाउन सके मात्रै धानमा आत्मनिर्भर हुन सकिने उहाँको भनाइ छ ।

कृषि तथा पशुपंछी विकास मन्त्रालयका सहसचिव हरिबहादुर केसीले खाद्य र पोषण सुरक्षामा जोड दिनुपर्ने बताउनुभयो । खाद्य सुरक्षा नीति र पोषणा सुरक्षा र स्वच्छतामा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । कृषि विकास रणनीतिले समेत खाद्य सुरक्षामा प्राथिमकता दिएको छ । प्रत्येक नागरिकले खान पाउने गरी अधिकार सुरक्षित गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद्को सदस्य यमुना घलेले धेरै खाद्य वस्तु संस्कृति र पहिचानसँग जोडिएको बताउनुभयो । खानेकुराको स्वाद, बनाउने शैली र समयले पनि खाद्यवसस्तुको उपयोगिता बढ्ने उहाँको भनाइ छ । ‘ खाना र पहिचान जोडिएर आउँछ’ उहाँले भन्नुभयो ‘बच्चा जन्मेदेखि मृत्युसंस्कारसँग खानाको महत्व छ ’ रबर विज्ञ तिलक भण्डारीले नेपालमा रबरको व्यवसायिक खेतीको संभावनाका प्रशस्त रहेको बताउनुभयो । बर्सेनि ११ अर्बको रबर आयात भइरहेको भन्दै स्वदेशमै रबर उत्पादन गर्न सरकारले ध्यान दिन नसकेको बताउनुभयो । रबरबाट ५० हजार वस्तु उत्पादन गर्न सकिन्छ ।
रबर धानपछि दोस्रो बाली हो । दुई प्रतिशत मात्रै स्वदेशी रबरले धानेको अवस्थामा ९८ प्रतिशत बाहिरबाट आउँछ । ११ अर्बको रबर आयात भएको छ । नेपालमा रबरको खेतीबाट रोजगार दिन सकिने उहाँले बताउनुभयो ।

कोरोना कहरः माछा, मासु र दूधमा आत्मनिर्भर हुन कठिन

कोरोना भाइरस (कोभिड–१९) ले माछा, मासु र दूधमा आत्मनिर्भर हुन कठिन देखिएको छ । सरकारले केही वर्षभित्रै ती दूध, माछा र मासुमा आत्मनिर्भर हुने लक्ष्य लिए पनि तत्काल पूरा हुने नदेखिएको हो ।

गैरआवासीय नेपाली संघले गरेको दोस्रो विश्व ज्ञान सम्मेलनको क्रममा ‘कोरोनापछि पशुपालनको इसु र समाधान’ कार्यपत्र प्रस्तुत गर्दै पशुसेवा विभागका निर्देशक बंशी शर्माले माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर नजिक देखिए पनि कोभिडले असर पुर्‍याएको बताउनुभयो । कुल ग्राहस्थ उत्पादनमा पशुपालन क्षेत्रको योगदान १३ प्रतिशत छ । कृषि क्षेत्रमै पशुपंछीको योगदान ३० प्रतिशत छ । ६० प्रतिशत कृषक पशुपालन क्षेत्रमा संलग्न छन् ।

निर्देशक शर्माले पशुपालन क्षेत्र ग्रामीण अर्थतन्त्रको मेरुदण्ड भएकाले सरकारले पशुपालन क्षेत्रलाई प्राथमिकता दिदैँ आएको बताउनुभयो । व्यवसायिक पशुपालन गर्न सक्दा गरिबी निवारण र रोजारी सिर्जनामा यसले महत्वपूर्ण योगदान पु¥याउँछ ।’ उहाँले भन्नुभयो । कोरोना भाइरस(कोभिड १९)ले दूधमा पूर्णरुपमा असर पुगेको छ । माछा खाने संस्कृति पनि कम भएको छ । निर्देशक शर्माले पशुमा लाग्ने रोग खेरेट, पीपीआरलगायत निर्मुल पर्न सरकार लागिपरेको बताउनुभयो । व्यवसायिक पशुपालनको विकासका लागि केन्द्र, प्रदेश र स्थानीय तहको समन्वयमा काम गर्न सके पशुपालन क्षेत्रले अर्थतन्त्रमा ठूलो योगदान दिने बताइएको छ ।
निर्देशक शर्माले गरिबीका कारण माछा, मासु र दूधको उपयोग बढ्न नसकेको बताउनुभयो । पछिल्लो समयमा कोभिडले मासुको उपयोग झन् घटाएको र दूधको बिक्री हुन नसक्दा पाउडर बनाउनुपर्ने अवस्था आएको बताउनुभयो । सरकारले उत्पादन बढाउन पशुचौपायको कृत्रिम गर्भाधान समेत गराउँदै आएको छ ।

कृषि उत्पादन अन्तर्राष्ट्रिय बजारसम्म पु¥याइने

नेपाली कृषि उत्पादन विश्वबजारसम्म पु¥याइने भएको छ । नेपालको अर्गानिक उत्पादनको विश्व बजारमा माग बढ्दै गएकाले उत्पादन विश्वबजारसम्म पु¥याउने तयारी भएको हो ।

गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो विश्वज्ञान सम्मेलनका क्रममा ‘कृषि उत्पादन र बजारीकरण’ प्यानल छलफलका क्रममा बोल्ने वक्ताहरुले कृषि उत्पादन बढाएर अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सरोकारवाला निकायले ध्यान दिनुपर्ने वक्ताहरुले बताए । केमिकल, विषादी तथा एन्टिबायोटिकको प्रयोग बढिरहेकोमा चिन्ता व्यक्त गर्दै अर्गानिक खेतीमा ध्यान दिन सके स्वदेश तथा विश्वबजारमै बिक्रीको समस्या नहुने वक्ताहरुले उद्घोष गरेका छन् ।
उद्योगी पवन गोल्यानले कृषि क्षेत्रमा पछिल्लो समयमा प्राथमिकता दिएको बताउनुभयो । दुई तिहाइ किसान कृषिमै रहेकाले देशको लागि केही गर्न कृषि क्षेत्रमा जोडिएको उहाँको भनाइ छ । ‘गाउँगाउँमा गएर अर्गानिक खेती पनि सिकाँदै छौं’उहाँले भन्नुभयो,‘ बिषादी खाद्यवस्तु खाएर धेरै बिरामी परेको अवस्था छ ।’ गोल्यानले २५ वटा गाउँमा अर्गानिक जैविक मल र जैविक खेती गरी बिक्री गर्न नसक्ने किसानको वस्तु आफै किनिदिने गरेको बताउनुभयो ।

बजारीकरण महत्वपूर्ण विषय भएको भन्दै उहाँले नेपाल र विदेशमा बजारीकरण गर्न ध्यान दिनुपर्ने बताउनुभयो । । एग्रो प्रोसेसिङ इन्डस्ट्रीमा हात हालेर सरकार तथा निजी क्षेत्रले बजारीकरणमा काम गर्नुपर्ने उहाँले बताउनुभयो । तालिम दिएर नेपाली श्रमिकलाई दक्ष बनाउनुपर्ने र विदेशी श्रमिक विस्थापित गर्दै जानुपर्ने उहाँको भनाइ छ ।
सरकारले रिटर्नी माइग्रेनलाई १० लाखसम्मको सहुलियत कर्जा बिना धितो पाँच प्रतिशत ब्याजमा दिने व्यवस्था गरेको छ । एनएमबी बैँकका अध्यक्ष समेत रहेका गोल्याणले सहुलियत कर्जामा उच्च प्राथमिकता दिएर विदेशबाट फर्केकालाई उद्यमी बनाउन लागिपरेको बताउनुभयो । निम्बस ग्रुपका कार्यकारी निर्देशक दिनेश गौतमले कृषिजन्य वस्तुको निर्यातमा प्राथमिकता दिइरहेको बताउनुभयो । किसानसँग प्रत्यक्षरुपमा जोडिएर फार्मिङ सञ्चालन गरी कृषिमा प्रत्यक्ष काम गरिरहेको उहाँले बताउनुभयो ।

निम्बसले अन्नमन्डी कन्सेप्ट ल्याएका छ । खाद्यबाली धान, गहुँ र मकैको जिडीपीमा ठूलो योगदान दिएकाले यसको उत्पादन बढाउन सबै जागरुक हुनुपर्ने उहाँले सुनाउनुभयो । किसानलाई बजार, बिक्री, कर्जा, ढुवानी, भण्डारण र बिमामा सहयोग गर्न सके कृषि उत्पादन बढ्ने र बजारीकरण हुन थप सघाउ पुग्ने उहाँको भनाइ छ ।
कन्चनजंगा टिस्टेटका डाइरेक्टर शान्ता कोइराला बास्कोटाले साना किसानलाई प्रोडक्सनमा जोड्न ध्यान दिएको बताउनुभयो । उहाँले अर्गानिक उत्पादनको विश्वबजारमा माग बढ्दै गएको बताउनुभयो । कञ्चनजंगा टिस्टेले सन् २००२ देखि नै अर्गानिक उत्पादन गर्दै आएको छ । ‘हामी विभिन्न देशको स्टान्र्डड मापन गरी उत्पादन गर्ने गरेकाले बिक्री समस्या छैन् ।’ उहाँको क्वालिटी स्ट्यान्ड हुने भएकाले डिमान्ड बढी भएको उहाँको अनुभव छ । नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सरकारले निर्यातमा सहजीकरण गर्नुपर्छ । विदेशमा पुर्‍याउन ल्याबरेटोरी जिटुजी हुन सके सहज हुने उहाँले सुनाउनुभयो । ‘क्षेत्रगत अनुसार सर्टिफिकेसन देश टु देश अनुसार गर्नुपर्छ’ उहाँले भनिन् । मास प्रोडक्सनका लागि फन्डिङ आवश्यक पर्ने भएकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

मास प्रोडक्सनमा जान कोरोना भाइरस (कोभिड १९) बाट रोजगारी गुमाएर विदेशबाट फर्केकालाई समेट्नुपर्ने उहाँले बताउनुभयो । ‘छुट्टै योजना ल्याएर उनीहरुलाई उद्योग र कृषिमा प्राथमिकता दिनुपर्छ’ उहाँ भन्नुभयो ‘मार्केटिङको लिंकअप गर्न सके किसानले बजारको समस्या भोग्नुपर्दैन ।’ खाद्य प्राविधिक सम्झना दाहालले फुड सेफ्टी एण्ड क्वालिटी हुन सके बजारको समस्या नहुने बताउनुहुन्छ । ‘यसो भए एक्सपोर्ट मार्केटमा जान सक्छ’उहाँले भन्नुभयो ,‘तर बिक्री वितरणमा सहज बनाउन आइएसओलगायत सर्टिफिकेट लिनुपर्छ ।’ फुड क्वालिटी र सिस्ष्टममा उत्पादन गर्न ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका