जोडिनुहोस
  • होमपेज
  • सन्दर्भ विश्व अण्डा दिवसः उत्पादन घट्यो, खपत बढ्यो

सन्दर्भ विश्व अण्डा दिवसः उत्पादन घट्यो, खपत बढ्यो

कृष्ण आचार्य,

चितवन,असोज २३-

लकडाउन र निषेधाज्ञाले यहाँको कुखुराजन्य व्यवसाय प्रभावित बनेको छ । लकडाउनको शुरुवातसँगै मूल्यमा गिरावट आएसँगै पछिल्लो समयमा अण्डाको उत्पादन घटेको छ भने खपत बढ्दै गएको छ । कोरोनाका कारण अण्डाको उत्पादनमा गिरावट आएको नेपाल अण्डा उत्पादक संघले जनाएको छ । संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले अण्डा उत्पादनमा गिरावट आउनुका साथै कतिपय व्यवसायी पलायन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रारम्भिक चरणमा गरिएको लकडाउनमा कारोवार ठप्प जस्तो भयो, किसानले धान्न नसकेर कुखुरा बेचे ।”

पहिले सामान्य अवस्थामा दैनिक ३५ देखि ३६ लाख अण्डा उत्पादन हुँदै आएकोमा अहिले २५ देखि २६ लाख मात्रै अण्डा उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले अण्डाको खपत भने राम्रो भएको बताउनुभयो । अण्डाको माग बढ्दो छ, मानिसहरु घरमै बसेका कारण पनि अण्डाको खपत बढेको उहाँको भनाई छ ।

अहिले ठूलो अण्डा प्रतिक्रेट रु. ३०० र मिडियम अण्डा प्रतिक्रेट रु.२७० मा फर्मबाट बिक्री भइरहेको संघले जनाएको छ । नेपाल अण्डामा आत्मनिर्भर छ । नेपालका २७ सय बढि किसानले अण्डा उत्पादन गर्ने लेयर्स कुखुरा पालेका छन । “अहिले गाउँगाउँमा अण्डा उत्पादन भइरहेको छ” संघका अध्यक्ष केसीले भन्नुभयो, “व्यवसायीक रुपमा पाल्नेहरु पनि बढेका छन ।” यसबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा एक लाख जनाले रोजगारी पाइरहेको केसीले बताउनुभयो । अध्यक्ष केसीले अब क्रमशः अण्डा उत्पादन बढ्दै जाने बताउनुभयो । “गर्मीमा कम उत्पादन हुने गर्छ, अब क्रमशः जाडो लागेसँगै उत्पादन बढ्छ”,उहाँले भन्नुभयो ।

नेपाल कुखुरा व्यवसायी मञ्चले नेपालमा ब्रोइलर चल्ला प्रति हप्ता ३५ लाख गोटा, लेयर्स चल्ला प्रति हप्ता दुई लाख गोटा, मासु दैनिक सात लाख केजी र दाना दैनिक २८ सय मेट्रिक टन उत्पादन भइरहेको जनाएको छ । जुन अनुपात कोरोना संक्रमणअघि निकै धेरै रहेको थियो ।

देशको कुल ग्राहस्थ उत्पादनमा करिब चार प्रतिशत योगदान दिनुका साथै चार लाख ५० हजार व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको कुखुराजन्य व्यवसायमा विभिन्न उतारचढाव आउने गरेको कारण उत्पादन र खपतमा असन्तुलन भएको नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष ऋषिराम पौडेलले बताउनुहुन्छ । विश्व अण्डा दिवसको अवसरमा मञ्चले विश्व भरका जनताहरुमा सुस्वास्थ र प्रगतिको कामना गर्दै कुनै पनि प्रकारको मिसावट हुन नसक्ने सबै भन्दा सस्तो मूल्यमा मानव शरीरका लागि आवश्यक पर्ने प्रोटिन तत्व पाइने अण्डा नियमित रुपमा उपभोग गरी आफ्नो परिवारको स्वास्थ प्रति सचेत बन्न अनुरोध गरेको छ । मानव स्वास्थ्यका लागि आवश्यक पर्ने, प्रशस्त मात्रमा प्रोटिन पाइने र कुनै पनि प्रकारको मिसावट गर्न नसकिने प्रोटिन र खनिज तत्वले भरिपूर्ण सबै भन्दा सस्तो मूल्यमा पाइने वस्तु नै अण्डा भएको मञ्चको भनाई छ । अण्डाको नियमित उपभोगबाट स्वास्थ्यका लागि धेरै फाइदा हुने विश्व खाद्य संगठनले जनाएको छ ।

स्वास्थ्का लागि अत्यावश्यक, पूर्ण पाचनशील, सन्तुलित, उच्च गुणस्तरको प्रोटिन र एमिनो भण्डार अण्डा बालकदेखि वृद्धवृद्धासम्मका लागि उत्तम प्रोटिनको स्रोत हो । अण्डामा विद्यमान एन्टी अक्सिडेन्टले बुढ्यौली र हर्ट एट्यांक समेत रोक्न मद्दत गर्छ । यसले आँखाको शक्ति बढाउन र रक्त अल्पताबाट बच्न पनि अण्डा खानु आवश्यक रहेको मन्चले जनाएको छ ।

पाँच बर्ष अघिदेखि नेपालमा विश्व अण्डा दिवस मनाउन थालिएको यो दिवसमा यसबर्ष कुनै कार्यक्रम आयोजना गरिएको छैन । विश्वभर कुखुरापालन व्यवसायको विकाससँगै विश्वभरका पोल्ट्री व्यवसायीहरुको सन् १९९६ मा इन्टरनेसनल एग कमिशन स्थापना गरी हरेक वर्ष अक्टुवर महिनाको दोस्रो शुक्रबार विश्व अण्डा दिवस मनाउन सुरु गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका