जोडिनुहोस
  • होमपेज
  • भरतपुरमा जोखिममा परेका महिलासंग मेयरः सामुदायीक विद्यालयका छात्रालाई साइकल वितरण

भरतपुरमा जोखिममा परेका महिलासंग मेयरः सामुदायीक विद्यालयका छात्रालाई साइकल वितरण

चितवन,असोज १९-

भरतपुर महानगरपालिकाले जोखिममा परेका महिलाहरुसंग मेयर कार्यक्रम अन्तर्गत सामुदायीक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण थालेको छ । पहिलो चरणमा आज (मंगलवार) महानगरका पाँच वडाका १३५ जना छात्रालाई साइकल वितरण गरिएको हो । जसमा वडा नं. ६, १३, २२, २३ र २४ नम्वरका १७ विद्यालयका छात्रा छनोटमा परेका थिए ।

भरतपुर महानगरपालिका वडा नं. २२ को राष्ट्रिय आधारभूत विद्यालय धनौजीमा आयोजित कार्यक्रम मार्फत भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले साइकल वितरण शुभारम्भ गर्नुभयो । विद्यालय शिक्षामा छात्राहरुलाई शैक्षिक निरन्तरताका लागि लक्षित बर्गका किशोरी छात्राहरुलाई साइकल वितरण गरिएको प्रमुख दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरपालिका भित्रका विपन्न, गरिब र जोखिममा परेका परिवारका छात्रालाई साइकल वितरण गरेका छौ, आगामी दिनमा यसलाई निरन्तरता दिनेछौं ।” उहाँले दैनिक ज्यालादारी काम गरेर खाने श्रमिकका परिवारलाई प्राथमिकता दिइएको बताउनुभयो । “वडाको सिफारिसका आधारमा विद्यालय छनोट गरेका हौ,उहाँले भन्नुभयो’,सही सदुपयोगका लागि अनुगमन समेत गरेका छौं ।”

उहाँले साइकल विरतणपछि टाढा टाढाबाट विद्यालय आउने छात्राहरुका लागि सहज हुने बताउनुभयो । उहाँले साइकल वितरणपछि छात्रालाई नियमित विद्यालय आउन उत्प्ररित गर्ने धारणा राख्नुभयो । शिक्षा क्षेत्रको विकासमा महानगरपालिकाले चालेको कदम हरेक विपन्न वर्गले अनुभूती गर्ने खालको हुने उहाँले भनाई छ । दाहालका अनुसार महानगरपालिका भित्रका १२ वडाका विभिन्न विद्यालयका ३३० जना छात्रालाई क्रमशः साइकल वितरण गरिनेछ ।

गतबर्ष पनि महानगरपालिकाले बालबालिकासंग मेयर कार्यक्रम अन्तर्गत न्यानो कपडा र पाठ्यपुस्तक वितरण गरेको थियो । महानगरपालिकाले यो कार्यक्रमलाई प्रत्येक बर्ष निरन्तरता दिँदै आएको छ । कार्यक्रममा उपप्रमुख पार्वती शाहा, प्रमुख प्रशासकिय अधिकृत प्रेमराज जोशी, वडाध्यक्षहरु, विद्यालयका प्रधानाध्यापकहरु लगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका