जोडिनुहोस
दशैं को हार्दिक सुभकामना
  • होमपेज
  • ६ महिनापछि धनगढी विमानस्थलबाट हवाई सेवा पुनः सञ्चालन हुँदै

६ महिनापछि धनगढी विमानस्थलबाट हवाई सेवा पुनः सञ्चालन हुँदै

सुदूरपश्चिम, असोज ४-

धनगढी विमानस्थलबाट हवाई सेवा पुनः सञ्चालन हुने भएको छ । लकडाउनका कारण गत चैतदेखि बन्द भएको हवाई सेवा सोमबारदेखि सञ्चालनमा ल्याउन लागिएको हो ।

निजी क्षेत्रको बुद्ध एयरले काठमाडौँ—धनगढी—काठमाडौँ सम्मको हवाई सेवा शुरु गर्न लागेको विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिनुभयो ।

एउटै समयमा धेरै उडान गर्दा बढ्ने भीडभाडले कोभिड—१९ को जोखिम बढ्न सक्ने भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर एक पटकमा एउटामात्र उडान हुन लागेको उहाँले बताउनुभयो ।

समिट यएरले केही दिनअघि नेपालगन्ज—बाजुरा—धनगढी र धनगढी—बाजुरा—नेपालगन्जसम्म दुईवटा चार्टर उडान गरेको थियो । यात्रुको सङ्ख्याका आधारमा आगामी दिनमा समिट एयरले सुदूरपश्चिमका केही जिल्लामा नियमित हवाई सेवा शुरु गर्न सक्ने जनाइएको छ ।

प्रदेशको डोटी, बैतडी र बझाङमा रहेका विमानस्थलको धावन मार्गको कालोपत्र लगायतका कामको स्तरोन्नति भइसकेकाले यी विमानस्थलमा परीक्षण उडान गर्ने तयारी गरिएको छ । यात्रुको सङ्ख्या बढ्दै गएमा आगामी दिनमा यी विमानस्थलमा नियमित रुपमा हवाई सेवा सञ्चालन गर्न सकिने देखिएको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको धनगढीस्थित कार्यालय बन्द गरिएको छ । निगमसँग धनगढी रुटमा चल्ने जहाजको अभाव भएकाले काउन्टर बन्द गर्नु परेको कार्यालयका प्रमुख हरिदत्त पन्तले बताउनुभयो । निगमले धनगढी विमानस्थलबाट कोभिड—१९ को सङ्क्रमण फैलिनु अघि गत चैतसम्म काठमाडौँ—धनगढी—काठमाडौँसम्म हप्तामा तीन दिन ‘एमए ६०’ जहाजमार्फत हवाई सेवा उपलब्ध गराउँदै आएको थियो ।

“नयाँ जहाजको व्यवस्था नहुन्जेलसम्म काउन्टर पुनः सञ्चालन हँुदैन”, उहाँले भन्नुभयो, “एमए ६० जहाज खर्चिलो र उपयुक्त नभएको देखियो ।”

निगमको धनगढी कार्यालय (काउन्टर) बन्द भएसँगै त्यहाँ ज्यालादारी र कारार सेवामा कार्यरत कर्मचारीको म्याद नथपिएको जनाइएको छ । पाँचजना स्थायी कर्मचारीमध्ये कार्यालय प्रमुख पन्तसहित चार जनाको काठमाडौँ र एक जनाको दाङ सरुवा भएको छ ।

देशभरका नाफा कमाउने दशवटा विमानस्थलमध्ये धनगढी विमानस्थल पनि हो । कोरोना सङ्क्रमण रोकथामका लागि चैत ११ गतेदेखि यो विमानस्थलमा हवाई सेवा बन्द हुँदा परेको प्रभावको असर विमानस्थलको आम्दानीमा पनि परेको छ ।

विमानस्थल कार्यालयका प्रमुख बुढथापाले भन्नुभयो, “महिनामा रु २५ लाखदेखि ३० लाखको आम्दानी हुने गरेकामा हवाई सेवा बन्दा हुँदा आम्दानी गुमाउनु परेको छ ।”

कोरोना सङ्क्रमणको अवस्थाले देखिएको तहसनहसको अवस्थालाई अब कसरी व्यवस्थित पार्ने र पुरानै लयमा फर्काउने भन्ने चुनौती रहेको उहाँले बताउनुभयो ।

स्तरोन्नतिः

विमानस्थलको स्तरोन्नतिको कार्य विगत केही वर्षदेखि भइरहेको छ । यस क्रममा विमानस्थलको एक हजार ८०० मिटर लामो र ३० मिटर चौडा धावन मार्गको कालोपत्रको स्तरोन्नति भइसकेको छ । यो विमानस्थलमा जहाज पार्किङ गर्ने एप्रोनको स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । दमकल राख्ने घर) ‘फायर बिल्डिङ’ र ओभरहेट ट्याङ्की निर्माणाधीन छ ।

विमानस्थलमा रात्रिकालीन उडान र अवतरण गर्ने व्यवस्थाका लागि भिओआर-डिएमई (जहाजलाई बाटो देखाउने उपकरण) जडान कार्य पूरा भइसकेको छ । यसको परीक्षण हुन भने बाँकी रहेको छ । लामो धावन मार्गको दृष्टिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि धनगढी विमानस्थल दोस्रो हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका