जोडिनुहोस
दशैं को हार्दिक सुभकामना
  • होमपेज
  • जाडोसम्बन्धी चार बालकविता

जाडोसम्बन्धी चार बालकविता

रमेशचन्द्र घिमिरे

१. भाइ रमायो
जाडो भयो असाध्यै
मुटु कमायो
स्विटर लाउन पाएर
भाइ रमायो
किताब–कापी फिँजायो
कलम समायो
कम्मल ओढ्न पाएर
भाइ रमायो
अगेनाकै छेउमा
आसन जमायो
आगो ताप्न पाएर
भाइ रमायो
कुइरो–हुस्सु फाटेर
बल्ल घमायो
घाम देख्न पाएर
भाइ रमायो ।

२. जाडो भगाएँ
आमासँग पिरोली स्विटर मगाएँ
न्यानो स्विटर लाएर जाडो भगाएँ
मक्ख पर्दै ऊनीको टोपी लगाएँ
टोपी लाउन पाएर जाडो भगाएँ
ढुंगो फुकी भुङ्ग्रोमा आगो जगाएँ
एक्लै आगो तापेर जाडो भगाएँ
घाममा सिरक सुकाएँ दाइलाई सघाएँ
तातो सिरक ओढेर जाडो भगाएँ
कठ्याङ्ग्रिएँ चिसाले आँसु बगाएँ
बाको काखमा बसेर जाडो भगाएँ ।

३. जाडो बढ्दै गाछ
अस्तिभन्दा हिजो अनि हिजोभन्दा आज
मौसम पनि चिसिँदै छ जाडो बढ्दै गाछ
बाकसभित्र मुसा पसी पाइन्ट काटेको छ
स्वीटर लाऊँ स्वीटरको कुइना फाटेको छ
कम्मल ओढी कोठामा नै बस्नुपर्ने भाछ
मौसम पनि चिसिँदै छ जाडो बढ्दै गाछ
पाएदेखि न्याना लुगा,गलबन्दी र टोपी
बस्नु हुन्थ्यो ढुक्कैसँग पूरै जीउ छोपी
आँगनमा घाम तापी बस्न मन लाछ
मौसम पनि चिसिँदै छ जाडो बढ्दै गा’छ ।

४. भोटे दाइ
अचेल हाम्रो आँगनमा भोटे दाइ आउँदैन
चामलसँग साट्नलाई जिम्बु बोकी ल्याउँदैन
हिउँ पर्ने डाँडामा गर्मी चढिसक्यो कि ?
आगो ताप्न भनेर हिटर उतै लग्यो कि ?
डम्फु–मादल बजाई भोटेसेलो गाउँदैन
जाडो लाग्यो भनेर कम्मल बोकी ल्याउँदैन
अचेल हाम्रो आँगनमा भोटे दाइ आउँदैन
सधैँ बस्नुहुँदैन पार्वतीको माइत
जाडो लाग्नेबित्तिकै गर्नुपर्छ साइत
भोटे दाइ नआए मनमा खुसी छाउँदैन
ओखती हो भनेर जटामसी ल्याउँदैन
अचेल हाम्रो आँगनमा भोटे दाइ आउँदैन ।

(मध्यनेपाल नगरपालिका–६,
भोर्लेटार, लमजुङ)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका