जोडिनुहोस
  • होमपेज
  • चितवनका साहित्यकार अञ्जलीका दुई पुस्तक आउँदै

चितवनका साहित्यकार अञ्जलीका दुई पुस्तक आउँदै

चितवन, भदौं १८-

चितवनका साहित्यकार पुष्प अधिकारी ‘अञ्जली’ को दुई पुस्तक बजारमा आउँदै छन् ।

मोती जयन्तीमा नै सार्वजनिक गर्ने भनेर तयारी गरिएको यी पुस्तक छिट्टै सार्वजनिक गर्ने जनाइएको छ । हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवनले प्रकाशित गर्ने दुई पुस्तकमा संयुक्त गजल संग्रह‘उडान’ र एकल गजल संग्रह ‘हरियो ऐना’ रहेका छन् ।

अञ्जली आफैले सम्पादन गर्नु भएको उडानमा देश तथा विदेशका ५१ जना गजलकारहरुको प्रत्येक गजलकारको १८ वटा गजल संग्रहित छन् । त्यसैगरी ‘हरियो ऐना’ गजलकार अञ्जलीको नवौं कृति हो जसमा उहाँको १७५ वटा गजल छन् । दुवै पुस्तक कोरोना संक्रमण घटेर कार्यक्रम गर्न पाउने वातावरण बन्ने बित्तिकै विशेष कार्यक्रम गरेर सार्वजनिक गरिने तयारी रहेको हाम्रो मझेरी साहित्य प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी ‘अञ्जली’ ले नारायणी अनलाइनलाई भन्नुभयो,‘ प्रतिष्ठानको २२ औं वार्षिकोत्सवको अवसरमा दुवै पुस्तक प्रकाशित गर्ने तयारी गरिएको हो । मोती जयन्तीमा कार्यक्रम गर्न पाएनौं अब हामी कोरोना संक्रमण केही कम हुने बित्तिकै कार्यक्रम गरेर सार्वजनिक गर्ने तयारीमा छौं ।’ त्यसैगरी हरेक वर्ष चितवनबाट प्रकाशित हुँदै आएको देशका ७७ वटै जिल्लाका गजलकारहरुको प्रतिनिधिमूलक पुस्तक ‘हैसियत–६’ पनि सोही अवसरमा सार्वजनिक गरिने उहाँले बताउनुभयो ।

पूर्वी चितवनको खैरहनी नगरपालिका–४ चैनपुरमा जन्मिनु भएको अधिकारीले २०४४ सालदेखि मुक्तक, गजल र गीत लेख्न थाल्नु भएको हो । उहाँको विसं २०६० सालमा ‘मनभित्रको मन’ प्रकाशित भएपछि नवौं कृतिको रुपमा १७ वर्षमा ‘हरियो ऐना’ प्रकाशित भएको हो । त्यसैगरी संयुक्तरुपमा उहाँको एक दर्जन बढी पुस्तक प्रकाशित छन् भने उहाँका झण्डै एक हजार भन्दा बढी गजल, मुक्तक र कविता विभिन्न मिडियामा प्रकाशित तथा प्रसारित भइसकेका छन् । गजल मञ्ज चितवनको सल्लाहकार रहनु भएको अञ्जली नेपाली लेखक संघको केन्द्रीय सचिव हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयको कर्मचारीको रुपमा भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा कार्यरत अञ्जलीले अग्रजहरुका साहित्यिक पुस्तकहरु पढेर नै लेखनमा लाग्ने प्रेरणा लिएको नारायणी अनलाइनलाई बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका