जोडिनुहोस
  • होमपेज
  • दिनरात नभनी काम गरेका छौं, रंगशाला बनाएरै छाड्छौं: धुर्मुस

दिनरात नभनी काम गरेका छौं, रंगशाला बनाएरै छाड्छौं: धुर्मुस

चितवनको भरतपुर महानगरपालिकाले आधुनिक र सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने उद्देश्य राखिरहेको थियो । त्यस्तै धुर्मुस सुन्तली फाउण्डेसन नेपालमा विशेष त युवाहरुमा क्रिकेटको क्रेज बढेसँगै उपयुक्त स्थानमा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न बहुउद्देश्यीय क्रिकेट रंगशाला निर्माण गर्न जमिन र उपयुक्त वातावरणको खोजीमा थियो । विभिन्न चरणको छलफलपछि भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेसनका बीचमा २०७५ माघ १६ गते महत्वपूर्ण सहमति भएपछि चितवनको रामपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको आधार बन्यो । रंगशाला निर्माणार्थ सहयोग जुटाउन र व्यापक रुपमा अपनत्व बढाउने उद्देश्यले रंगशाला निर्माण स्थलमा गत फागुनमा धनधान्याचल महोत्सव–२०७६को आयोजना गरिएको थियो । महायज्ञमा बोलकबोल भएको ६९ करोड ४० लाख ५६ हजार ९१९ रुपैयाँ मध्ये नगद संकलन भएको सात करोड १४ लाख ५६ हजार ६८४ रुपैयाँको चेक धुर्मुस सुन्तली फाउन्डेसनलाई हस्तान्तरण भइसकेको छ ।

धुर्मुस सुन्तली फाउन्डेसन नेपालका चर्चित हाँस्यकलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ ले नेपालमा २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि भुकम्प पीडितहरुका लागि आवास पुननिर्माण र सामाजिक कार्य गर्ने उद्देश्यले खोलिएको एक सामाजिक संस्था हो । विगतमा पहरी बस्ती, गिरानचौर बस्ती , मुसहर बस्ती निर्माण गरेको यो फाउन्डेसनले पछिल्लो पटक चितवनको रामपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको अभियानमा जुटेको छ । सो फाउन्डेसनका अध्यक्ष्य श्री सिताराम कट्टेल ‘धुर्मुस’ र श्री कुन्जना घिमिरे ‘सुन्तली’ धनधान्याञ्चल महोत्सवमा२०७६ को अवसरमा पनि निकै सक्रिय देखिनु हुन्थ्यो । युवा अवस्थामा कलाकारितामा लोकप्रियता हासिल गरिरहनु भएका युवा कलाकारहरु यसरी कलाकारिताको कामलाई थाँती राखेर देशलाई नै एउटा गौरवको परियोजना तर्फ बाटो देखाउँदै हुनुहुन्छ । अहिले रंगशालामा प्याराफिटको काम भएसँगै रंगशालाले अहिले आकार लिएको छ । रंगशाला निर्माणको काममा निरन्तर खटिरहेका सिताराम कट्टेल ‘धुर्मुस’ सँग शिक्षाविद्ध रमाकान्त सापकोटाले निर्माणस्थलमा गएर नै अन्तर्वार्ता लिनुभएको छ । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश :

प्रश्न : तपाइँ कला र सामाजिक अभियानमा समेत सुपरिचित भइसक्नु भएको छ । व्यक्तिगत र पारिवारिक रुपले आफ्नो परिचय कसरी दिन चाहनुहुन्छ ?

म कलाकार, सामाजिक अभियन्ता पछिल्लो समयको समग्ररुपले भन्नुपर्दा एक स्वतन्त्र देशभक्त नागरिक हुँ । म सोलुखुम्बु जिल्लामा २०४० साल असार ४ गते जन्मेको हो । मेरो बुवा हुनुहुन्छ, आमा हुनुन्छ र हजुरआमा हुनुहुन्छ । म पछाडि चार जना भाइ, बहिनी हुनुहुन्छ । मेरो श्रीमती र एक छोरी यती अहिले हामी परिवारमा छौं ।

प्रश्नः अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा लाग्न के ले प्रेरित गर्‍यो ?

नेपालले जब क्रिकेटमा एक दिवसीय मान्यता प्राप्त गर्‍यो  । त्यो एउटा ऐतिहासिक सफलता थियो । खेलाडीले आफ्नो देशको प्रतिष्ठालाई उच्च बनाउने काम गरिरहँदा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको शीर उच्च बनाउने काम भइरहेको थियो । त्यो शान, त्यो प्रतिष्ठा जोडिरहँदा नेपालमा चाहीँ खेल खेल्नका लागि अन्तर्राष्ट्रिय संरचना नभएको अवस्थामा हामीले एउटा नागरिकको तर्फबाट किन कोसिस नगर्नै भन्ने कुराहरु तथा भावनाहरु अन्तर मनबाट जागृत भए । विशेष त तिनै चिजहरुले हामीलाई प्रेरित गर्‍यो कि अब अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला आवश्यक रहेछ । खेलाडीहरुलाई प्रोत्साहन गर्नका लागि पनि उहाँहरुको वृद्धि विकास गर्नका लागि पनि रंगशाला बनाउनुपर्छ भन्ने लागेर हामीले यो चीजलाई अगाडि बढायौं र तिनै कुराहरुले हामीलाई अभिप्रेरित गरिरह्यो ।

प्रश्न : भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेसनको बीचमा भएको सहमतिको पृष्ठभूमि र सहमतिको सार के हो ?

यसको पृष्ठभूमि अलिकती लामै छ । जब एक दिवसीय मान्यता प्राप्त भएर अन्तर्राष्ट्रिय तहको संरचना बन्नुपर्छ भन्ने चौतर्फी आवाजहरु उठ्न थाल्यो । महानुभावहरुबाट, शुभचिन्तक ज्यूहरुबाट र समग्र नेपाली नागरिक ज्यूहरुबाट सबैतिरबाट त्यो टड्कारो आवश्यकता महसुस भइसके पछि हामी त्यतिखेरसम्म रंगशाला निर्माण गर्ने वा बनाउने भन्ने कुरामा हामीसँग कुनै पनि सोचाइ थिएन । मात्र एउटा दर्शकको हिसाबमा शुभचिन्तकको हिसाबमा जे जे आवाजहरु गुन्जिरहेका थिए । त्यो आवाजमा आवाज मिलाउने काममा मात्रै थियौं ।
तर, पछि खेलाडीहरुले खेलप्रेमी महानुभावहरुले र हामीलाई सहयोग गर्ने सहयोगी मनहरुले चाहीँ रंगशाला बनाउन धुर्मुस सुन्तली फाउण्डेसनले नेतृत्व गर्नुपर्छ भनेर चौतर्फी दबाबहरु प्नि सिर्जना भयो । हामीले सामाजिक सञ्जाल फेसबुकमा एउटा प्रतिक्रिया माग्यौं जतिबेला हामी नमुना नेपाल परियोजनाको लागि चाही सर्वे सकेर डीपीआरको तयारीमा थियौं । त्यहाँ नमुना नेपाल पहिला कि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पहिला भनेर सुझाव माग्दा शत प्रतिशत महानुभावहरुले चाही रंगशाला पहिला भनेर लेखिसकेपछि हामीले एउटा शर्त भनौं वा के भनौं त्यहाँ हामी जग्गा उपलब्ध गराउँछौं भन्ने कुरा आयो । रुपन्देहीमा यता मकवानपुरमा, कास्की जिल्लामा, काठमाडौमा, भरतपुर चितवनमालगायत मोरङ, झापा, दाङमा चौतर्फी रुपमा हामी जग्गा उपलब्ध गराउँछौं भने पछि स्थलगत अवलोकनका लागि हामी धेरैवटा जिल्लाहरुमा पुग्यौं, धेरै ठाउँमा पुग्यौं र अन्त्यमा चाही देशको केन्द्रीय भाग, सबै दर्शकहरुलाई एकीकृत गर्ने ठाउँ चितवन देखिसके पछि र चितवनवासी सबैले हामी सहयोग गर्छौं भनेपछि हाम्रो ध्यान यता मोडियो ।

हुन त सबै ठाउँमा नै हामीलाई सहयोग गर्छौं नै भनिएको थियो । हाम्रो क्षेत्रमा बनाउने भए हामी सबै लागि पर्छौ भन्ने हिसाबका प्रतिबद्धता व्यक्त भएका थिए । भरतपुर महानगरपालिकाले पनि हामीलाई जग्गा उपलब्ध गराउने भन्ने प्रतिबद्धता व्यक्त गरेर, चित्रवन रंगशाला भएको जग्गा उपलब्ध गराउने भनिएको थियो । क्षेत्रगत हिसाबमा त्यो थोरै हुन्छ भनेर प्राविधिक समितिले भनिसके पछि फेरि, हामी अर्काे ठाउँमा जग्गा उपलब्ध गराउँछौं, तपाइँहरुलाई खबर गर्छौं भनेर कुरेर बस्यौं । भरतपुर महानगरपालिका प्रमुखज्यूको रंगशाला बनाउने तीव्र इच्छाले पनि जग्गा उपलब्ध भयो ।

भरतपुर महानगरपालिकाबीच २०७५ साल माघ १६ गते राष्ट्रिय सभागृहमा सम्मानिय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू, भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ज्यू, नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला ज्यू, त्रिभुवन विश्वविद्यालयका भीसी, कृषि तथा वन विश्वविद्यालयका भीसी, मन्त्रीहरु लगायत सबै देशका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थितिमा हामीले रंगशालाको घोषणा गर्‍यौं । भरतपुर महानगरपालिकासँग हाम्रो एउटा त्रिपक्षीय सम्झौंता पनि तय भयो । यात्रा त्यसरी अगाडि बढ्यो ।

प्रश्न : धनधान्याचल महायज्ञको उद्घाटनको कलश यात्रामा रुनु भयो भन्ने पनि सुनियो कस्तो अनुभव भयो बताइदिनोस् न ।

    यही उमेरमा जिन्दगीमा धेरै पीडाहरु पनि भोगियो । केही खुसीका दिनहरु पनि आए जीवनमा । ती खुसीहरु मध्ये एउटा खुसी थियो । २०७२ साल वैशाख १२ गते भूकम्प गयो । हामीले साउनको २७ गते भूकम्प पीडितको लागि बस्ती हस्तान्तरण गरेका थियौं । एकीकृत नमुना पहरी बस्ती हस्तान्तरण भएको दिन जिन्दगीको सबैभन्दा धेरै खुसी महसुस गरेको थिएँ । बर्खाको समयमा अभावमा भूकम्पको पराकम्पनहरु गइरहेको समयमा त्यो खुसी दिन पाउँदा खेरी उहाँहरुको मुहारमा आएको हाँसोले त्यो मैले मन थाम्न सकेको थिइन ।

त्यसरीनै चितवनमा रंगशाला बनाउने भनेर आइरहँदा अनेकौं चुनौतीहरु पार गर्दै हामी धनधान्यचलसम्मको यात्रा तय गरेका थियौं । डोजर काण्डहरुदेखि विभिन्न चीजहरु भए । केही महानुभावहरुबाट बनाउँछ र भन्ने पनि थियो । केही महानुभावहरुबाट होइन बन्नुपर्छ भन्ने थियो । तर, बन्नुपर्छ भन्ने जमातले हामीलाई प्रेरित गर्दै जानु भएको थियो । त्यो दिनको खुसी चाहीँ के थियो भन्दा खेरी चितवनमा शायद त्यो एउटा इतिहास थियो होला सम्पूर्ण राजनीतिक दलहरु सबै एकै ठाउँमा हुनुन्थ्यो । त्यो एउटा ठूलो राजनीतिक सफलता हो जस्तो लाग्छ । जसका लागि हामी मन्दिर बनाइरहेका छौं । सबै विद्याका खेलाडीहरु बाट उद्घाटन हुँदै थियो । नेपालमा पहिलो चोटी होला कि सामाजिक क्षेत्रका मान्छेहरुबाट त्यो धनधान्याचल महोत्सवको उद्घाटन भएको थियो । सबै पक्ष एक ठाउँमा उभिरहँदा र सबै चितवनवासीले अपनत्व ग्रहण गरिरहँदा त्यतिखेर मलाई महसुस के भने हामीले परिकल्पना ग¥यौं होला रंगशाला बनाउने । नेतृत्व लिन्छौं भन्ने होला तर यो रंगशाला त सबैको साझा रंगशाला बन्यो भनेपछि म निकै भावुक पनि बनेँ । त्यो मेरो लागि अर्काे एउटा खुसी थियो । त्यही खुसीको कारणले म भावुक बनेको थिए ।

प्रश्न: रंगशालाको संरचना, नक्सालगायतका प्राविधिक तयारी र अनुमानित लागत, हालसम्म उपलब्ध रकम र खर्च बारेमा छोटकरीमा स्पष्ट पारर्दिनोस् न ?

अब प्राविधिक पक्षको कुरा गर्नु पर्दा चाही अब त्यतिखेर हामीले अनुमानित तीन अर्ब भनेका थियौं । हाम्रो विस्तृत गुरुयोजना पनि लगभग त्यसकै हाराहारीमा तीन अर्ब भन्दा अलिकति बढी देखिएको छ । तर, अब भोलिका दिनमा बजार मूल्यले पनि त्यसलाई निर्धारण गर्छ । रंगशाला बनिरहँदा पाउने सामान आजको रेटमा भोलि नपाउन पनि सकिन्छ । आज वर्तमान स्थितिमा भन्नुपर्दा तीन अर्ब भन्दा बढीको लागतमा डीपीआर तयार भएको छ । त्यो पनि पहिला २५ हजार दर्शक क्षमताको हाम्रो अनुमान थियो भने पछि आईसीसीको आधारभूत संरचना अनुसार थोरैमा ३० हजार क्षमताको भनिसकेपछि केही रकम बढेको छ डीपीआरमा । तथापि हामी त्यही रकम भित्रमा सक्छौं भन्ने आत्मविश्वास छ । हामीले अहिले कामबाट प्रमाणित गर्दै गएका छौं । हामीलाई बजार मूल्य भन्दा कमको रेटमा दिइरहनु भएको छ कयौंले । हामीको काम गर्न आउने जति पनि जनशक्ति हुनुहुन्छ । उहाँहरु पनि अन्य तिर लिइरहेको, व्यवसायिक चार्ज भन्दा कममा पनि गर्नुभएको छ । नगदमात्र नभएर जिन्सी पनि सहयोग भइरहेको छ । त्यसले गर्दा अनुमानित रकम भन्दा कममा नै हामी बनाउन सक्छौं भन्ने विषयमा अहिले पनि म किटानसाथ भन्न सकिरहेको छु ।

अब भोलिका दिनमा हरेक परिस्थितिले के गर्छ मलाई थाहा छैन । तर, त्यो हिसाबमा हामीले डीपीआर पनि तयार पारेका छौं । त्यही अनुमानका आधारमा । अर्काे नेपाली कन्सल्टेन्सीले नै त्यसको नेतृत्व गरेको हो । क्रियटिभ आर्किटेक डिजाइन प्राइभेट लिमिटेडले नेतृत्व लिएर विश्वभरका प्रतिष्ठित कन्सल्टेन्टहरु चाही उसले हायर गरेर डीपीआर तयार भएको छ । अन्तिम फाइनल अमेरिकाको मेहमोटो भन्ने क्यालिफोर्नियाको कम्पनीबाट हामीले डीपीआरको रिभ्यू पनि गरेका छौं । प्राविधिक समिति भन्ने छ । १७ जना इञ्जिनियर हुनुहुन्छ । नेपालको वरिष्ठ इञ्जिनियरहरु सल्लाहकारमा जोडिनु भएको छ । डा जीवराज पोखरेल, सुदर्शनराज तिवारी, डा किशोर थापा, विपिन चित्रकार, प्राविधिक समिति संयोजक रेशम ढकाल हुनुहुन्छ । यसरी प्राविधिकहरु यसमा जोडिनु भएको छ । हामीले प्राविधिक पक्ष चाही भोलिका दिनमा कसैले पनि खोट नलाउने होस् भन्ने हिसाबमा गुणस्तरको विषयदेखि लिएर डीपीआर तयार पार्दा म यो अवधिमा यती धेरै खटेँ । यती धेरै विज्ञहरुसँग परामर्श र छलफलमा पुगे । ताकि नेपालमा बनेको पहिलो अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला नेपाली कन्सल्टेन्सी अथवा नेपाली विज्ञहरुबाटै बन्नुपर्छ भनेर सार्वजनिक अपिल पनि हामीले गर्‍यौं। सोही अनुसार डीपीआर पनि तयार भयो ।

डीपीआर तयार गर्दा हामी एउटा कुरामा सबैभन्दा बढी सचेत थियौं । त्यो राष्ट्रिय भावना हो । त्यो राष्ट्रिय भावना के थियो भने मौलिकता त्यो भित्र देखिन्छ । हामीले बनाएको रंगशालामा मौलिकता छ । नेपालको कला, संस्कृति र वास्तुकला अनुसार हामीले त्यो डीपीआर तयार पारेका छों । सिंगो देशलाई जोड्ने कोसिस छ हाम्रो । ७७ वटै जिल्लालाई समेट्ने गरी ७७ वटै कक्ष छन् यो भित्र । ७७ वटै कमलको पत्ताहरु छन् । सात प्रदेश प्रतिनिधित्व हुने गरी फरक फरक सातवटा गेटहरु तयार पारेका छौं । त्यसको चाही सात वटै कमलको पत्ताबाट भित्र छिर्न सक्छौं ।

प्रश्न :अब कति समयमा रंगशाला सकिन्छ ?

गत साउनको १ गतेबाट १८ महिनामा सक्ने हाम्रो टार्गेट हो । भोलिका दिनमा स्रोत व्यवस्थापनको ग्यारेन्टी भयो । कुनै पनि विपद्हरु वा महामारीहरुको सामना हामीले गर्नुपरेन भने देखि हामी १८ महिनामा सिंगो ३० हजार दर्शक क्षमताको रंगशाला निर्माण गर्न सक्छौं । निकै मेहनतका साथ दिनरात नभनी काम गरेकोले पनि रंगशाला जसरी पनि बनाएरै छाड्छौं ।

प्रश्न : अन्त्यमा के भन्न चाहनु हुन्छ ?

अन्त्यमा सम्पूर्ण शुभचिन्तक, सहयोगी मन विशेष त हामीलाई यो अभियानमा सुरुदेखि सहयोग गर्ने सम्पूर्ण अभियन्ताहरु सम्पूर्ण राजनीतिक दल, आमासमूह, राजनीतिक दल, टोल विकास संस्था, विभिन्न संघसंस्थाहरु, सरकार लगायत सबै पक्ष धन्यवादको पात्र हुनुहुन्छ । हामी मध्यस्तकर्ता मात्रै हौं । निर्माणको हामीले संयोजन गरे पनि हाम्रो लागि सम्पूर्ण यहाँहरु नै हाम्रो लागि भगवान हुनुहुन्छ । यहाँहरुको आर्शिवाद, उर्जा, यहाँहरुको प्रेरणा र हौसलाको कारणले हामी निरन्तर अगाडि बढेका छौं । चितवनमा नै रंगशाला बनिरहँदा राष्ट्रिय गौरवको परियोजना जुन जनस्तरबाट बनिरहेको छ । यसको अवधारणाभित्र बसेर हामीले अन्तरकुनाबाट मनन गर्ने हो भने यो भित्र साच्चिकै राष्ट्रभक्ति भावना पाइन्छ । सम्पूर्ण देशवासीहरुलाई धन्यवाद दिन चाहन्छु । भरतपुर महानगरपालिकाको प्रमुख ज्यूलगायत सम्पूर्ण जनप्रतिनिधिहरुले रंगशाला निर्माणमा देखाउनु भएको चासोप्रति पनि विशेष आभारी छु । म सबैमा आभार व्यक्त गर्न चाहन्छु । यो अभियानको अभियन्ता बन्दिनका लागि म सबैलाई विनम्रताका साथ अनुरोध गर्न चाहन्छु ।
धन्यवाद ।

(प्रस्तुति : मधुसूदन दवाडी)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका