जोडिनुहोस

Banner

चितवन, भदौं ८-

चितवनको रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको काम निषेधाज्ञा र लकडाउनमा निरन्तर भइरहेको छ ।

रंगशाला निर्माणमा पिलर ढलानको काम भएपछि रंगशालाले आकार लिएको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले नारायणी अनलाइनलाई बताउनु भयो । उहाँले नारायणी अनलाइनलाई भन्नुभयो, ‘रंगशालामा १५ हजार दर्शक क्षमताको प्याराफिट ए स्ट्याण्डको पिलर उभिएपछि रंगशालाले वास्तविक आकार लिएको छ ।’ निषेधाज्ञा र लकडाउनको परवाह नगरी अहिले १३१ जना कामदारले निरन्तर काम गरिरहेका छन् । सजिला कामहरु रातको समयमा पनि हुने गरेको छ । अहिले पनि ५५ रेडियसको नमुना मैदानमा राष्ट्रिय प्रतियोगिताका खेलहरु खेलाउन सकिने धुर्मुसले बताउनुभयो । उहाँले स्रोत सजिलै जुटेमा अबको १८ महिनाभित्र रंगशाला निर्माणको काम सम्पन्न हुने दाबी गर्नुभयो ।

वर्षा याम र कोरोना कहरमा उब्जिएका बाधा–व्यवधान र प्रतिकूल अवस्था भए पनि रामपुरमा बन्दै गरेको प्रस्तावित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य रोकिएको छैन । कृषि तथा वनविज्ञान विश्वविद्यालयले भोगचलन गरकोमध्ये २० बिघा जग्गामा अहिले रंगशाला निर्माणको काम भइरहेको छ । निर्माणस्थलको मुख्य गेटबाट छिर्नासाथ देखिने हरियो गोलाकार चौर क्रिकेट खेल्न तयार भएको नमुना मैदान हो । जसमा तीनवटा पिच छन् । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनिसक्दा भने यो नमुना मैदान पार्किङ एरियामा परिणत हुनेछ । निर्माणाधीन रंगशालामा बनेको नमुना मैदानमा सम्भव भएका खेलहरू खेलाउँदै जाने उद्देश्य राखिएको भए पनि कोरोना महामारीले त्यो सम्भव भएको छैन ।

२०७५ सालको माघ १६ मा काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको उपस्थितिमा भरतपुर महानगरपालिका र फाउन्डेसनबीच रंगशाला निर्माणका लागि सहमतिपत्रमा हस्ताक्षर भएको थियो । भरतपुर महानगरले जग्गा उपलब्ध गराएपछि सहयोग जुटाएर रंगशाला बनाउने अभिभारा फाउन्डेसनले लिएको हो ।

कमलको फूलसँगै नेपालीपन झल्कने गरी आधुनिक तवरको रंगशाला बन्दै छ । यसको प्रवेशद्वारमा गौतम बुद्धको शालिक निर्माण गरिने छ । भित्री भागमा परम्परागत कलात्मक शैली झल्कने छ । सरकारको कर छुट गराउन सकेमा रंगशाला तयार गर्न २ अर्ब ६० करोड हाराहारी खर्च हुने अनुमान गरिएको छ । रंगशाला स्तुपा आकारको हुने छ भने क्रिकेट खेल मैदान कमलको फूल आकारको हुने छ । रंगशालामा चार वटा द्वार हुनेछन् । जसमा ३० हजार दर्शकहरु अट्ने क्षमता रहने छ ।

निर्माण सम्पन्न भएपछि रंगशालामा ३५ खेल खेलाउन सकिने छ । रंगशालालाई स्पोट्र्स हबको रुपमा विकास गर्ने फाउण्डेसन र भरतपुर महानगरपालिकाको योजना छ । रंगशालामा फुटबल, भलिबलसहित, नेपालको मौलिक खेल डण्डीबियोसम्म खेल्न सकिने गरी बनाइँदै छ । क्रिकेट खेलाडीहरु उत्पादन गर्न एकेडेमी पनि रंगशालाभित्र रहनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *