जोडिनुहोस

Banner

चितवन, असार १०-

पूर्वी चितवनका चार नगरपालिकाका जनतालाई सेवा दिन सक्ने बकुलहर रत्ननगर अस्पताल प्रदेश स्तरीय हुने भएको छ । वाग्मती प्रदेशले सबै जिल्लामा एउटा प्रदेश स्तरीय बनाउने क्रममा बकुलहर अस्पताललाई प्रदेश अस्पताल बनाउन लागेको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार हाल १५ श्यया रहेको सो अस्पताल प्रदेश स्तरको हुने भएको हो । वि.सं २०५८ मा धनधान्याञ्चल महायज्ञ लगाएर आर्थिक सङ्कलन गरी त्यहाँको स्वास्थ्य चौकीलाई अस्पताल बनाइएको थियो । हाल त्यहाँ पाँच विशेषज्ञ चिकित्सकले सेवा दिँदै आएका छन् ।

अस्पतालमा हाल आकस्मिक, बहिरङ्ग, भर्ना गरेर उपचार सेवा, प्याथोलोजी, डायलासिस, भिडियो एक्स–रे, एक्स–रे जस्ता सेवा उपलब्ध छन् । अस्पतालमा प्रसूति, बालबालिका, छाला, दाँत लगायतको विशेषज्ञ सेवा दिइँदै आएको छ । बगालेका अनुसार अस्पतालमा तला थप गरेर सघन उपचार कक्ष र पोष्टअप बनाइँदै छ ।

उहाँले प्रदेश स्तरको भएसँगै ५० श्ययाभन्दा माथिको अस्पताल बन्ने बताउनुभयो । थप विशेषज्ञ सेवासहितको सुविधासम्पन्न अस्पताल बन्ने बगालेको भनाइ छ । वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका नीति योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख सतीश विष्टका अनुसार यस क्षेत्रको जनघनत्वका आधारमा श्यया तय हुनेछ । आउँदो वर्ष अस्पतालमा प्रसूति भवन निर्माणका लागि रु एक करोड ५० लाख बजेट विनियोजन भइसकेको उहाँले जानकारी दिनुभयो । बहुवर्षीय योजनाअन्तर्गत सो भवन बन्नेछ ।

हाल वाग्मती प्रदेशका आठ जिल्लामा प्रदेश स्तरका अस्पताल छन् । थप पाँच जिल्लामा अस्पताल निर्माण गर्न लागिएको उहाँले जानकारी दिनुभयो । पूर्वी चितवनको रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकासँगै मकवानपुरका सीमा क्षेत्रका जनतालाई सो अस्पतालले सेवा दिन सक्नेछ । त्यस क्षेत्रमा विशेषज्ञ अस्पताल नहुँदा बिरामी भरतपुर आउन बाध्य छन् ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले यहाँको पुरानो सरकारी अस्पतालको प्रदेश सरकारले स्तरोन्नति गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । “हामीले पटकपटक सरकारलाई स्तर वृद्धिका लागि आग्रह गरेका थियौँ”, प्रमुख वनले भन्नुभयो, “अहिले आएर प्रदेश सरकारले हाम्रो आग्रह सुनेको छ ।” उहाँले अस्पतालको स्तर वृद्धिमा आवश्यक सहयोगमा रत्ननगर नगरपालिका लागि पर्ने बताउनुभयो । सो अस्पताल रत्ननगर नगरपालिकाको टाँडी बजार नजीकै छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *