जोडिनुहोस

Banner

चितवन,जेठ ३०-

भरतपुर महानगरपालिकाका तीन सार्वजनिक स्थानमा ‘स्मार्ट’ शौचालय धमाधम निर्माण हुँदैछ । दुई स्थानमा शिलान्यास भएर काम अघि बढेको छ भने एक स्थानमा शिलन्यासको तयारी छ । आज (बिहिबार) भरतपुर अस्पताल अगाडि रहेको मालपोत कार्यालयको जग्गामा निर्माण हुने शौचालयको शिलान्यास गरिएको छ । बाग्मती प्रदेशका सांसद विजय सुवेदी र भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले संयुक्त रुपमा स्मार्ट शौचालयको शिलान्यास गर्नुभयो ।

मानिसको आवतजावत बढि हुने चौबिसकोठी, गोन्द्राङ र भरतपुर अस्पताल अगाडि शौचालय निर्माण गर्न लागिएको हो । गोन्द्राङमा निर्माण हुने शौचालयको शिलान्यास गरेर निर्माण तीब्र पारिएको छ । भरतपुर महानगरपालिका र प्रदेश सरकारको ७२ लाखको लागतमा शौचालय निर्माण हुनेछ । निर्माणको जिम्मा ज्योती निर्माण सेवाले पाएको छ ।

भरतपुर महानगरलाई स्मार्ट बनाउनका लागि शौचालय अत्यावश्यक हुने भएकाले निर्माण थालिएको प्रदेशसभा सदस्य विजय सुवेदीले बताए । उनले भरतपुर महानगरलाई हरियाली बगैचाको रुपमा परिणत गर्नुपर्ने बताए । भरतपुर अस्पतालमा देशभरबाट उपचारका लागि आउने विरामीलाई सार्वजनिक शौचालय निर्माणपछि धेरै सुविधा हुने उनले बताए ।

‘शौचालय सबै सुविधाले सम्पन्न हुनेछ, सुवेदीले भने,यसले भरतपुरलाई झन् स्मार्ट राख्न मदत्त गर्नेछ ।’ उनले तोकिएको समयमा काम सम्पन्न गर्न निरन्तर अनुगमन र निगरानी गर्ने प्रतिबद्धता जनाए ।

पाँचौ नगरसभाबाट निर्णय गरेर प्रदेश सरकारसंगको साझेदारीमा शौचालय निर्माण गर्न लागिएको महानगर प्रमुख दाहालले बताइन । उनले स्मार्ट शौचालयले शहरको सुन्दरता समेत कायम हुने धारणा राखिन् । उनले आगामी बर्ष अन्य स्थानमा पनि यस्तै स्मार्ट शौचालयहरु निर्माण गरिने जानकारी दिइन । महानगरको विकास र संमद्धी नै आफ्नो चाहाना भएकाले त्यसैमा ध्यान केन्द्रित गरेको उनले बताइन ।

शौचालयमा महिला र पुरुषको छुट्टाछुट्टै कोठासंगै अपाङग मैत्री समेत हुने महानगरकी आर्किटेक इन्जिनियर अस्मिता खनालले जानकारी दिइन । उनले शौचालयको बाहिरी क्षेत्रमा स्मार्ट कार्ड कक्ष रहने र त्यहाँ क्वाइन खसालेर शौचालय प्रवेश गर्न सकिने बताइन । ३३/२२ फिटमा बन्ने शौचालय आकर्षक बन्ने उनको भनाई छ ।

शिलान्यास कार्यक्रममा वडाध्यक्ष तथा भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपिडित भण्डारी,भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी लगाएतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *