जोडिनुहोस
  • होमपेज
  • लकडाउनले एक लाख मेट्रिक टन युरिया मल बन्दरगाहमा अलपत्र, मल पाउन डेढ महिना लाग्ने

लकडाउनले एक लाख मेट्रिक टन युरिया मल बन्दरगाहमा अलपत्र, मल पाउन डेढ महिना लाग्ने

काठमाडौँ, जेठ २९

लकडाउनका कारण ढुवानी व्यवस्थापन प्रभावित हुँदा आयात गरिएको मल अझै नेपाल आइपुगेको छैन। बाली लगाउने बेला मल खोजिरहेका किसानले तत्काल नपाइने अवस्था छ।

सहज रूपमा मल पाउन कम्तिमा डेढ महिनासम्म लाग्न सक्ने कृषि विकास मन्त्रालयले जनाएको छ।

असार दोस्रो साता नेपाल आइपुग्ने गरी ठेक्का प्रक्रिया पूरा भएको ५० हजार मेट्रिक टन युरिया मल हालै मात्र चलान हुने प्रक्रियामा छ। उक्त मल भारतको कोलकाता हुँदै आइपुग्न अझै डेढ महिना लाग्न सक्ने मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

चीन र खाडी मुलुकबाट आयात गरेर नेपाल ल्याइने रासायनिक मल भारतको कोलकाता बन्दरगाह हुँदै भित्र्याउने गरिएको छ। नेपाल लगायत रासायनिक मल आयात गर्ने सबै देशहरु कोरोनाबाट नराम्ररी प्रभावित भएपछि महामारीबाट बच्न सबै देशहरु लकडाउनमा गएको र आयात प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ।

भारतमा लकडाउन भएपछि कोलकाता बन्दरगाहमा नेपालको मल ब्यागिङ र लोड(अनलोड गर्ने काम बन्द भएको थियो। बन्दरगाह बन्द र मजदुर अभावका कारण तेस्रो मुलुकबाट कोलकातामा आइसकेको ५० हजार मेट्रिक टन मल ४५ दिनसम्म पनि ब्यागिङ र लोडअनलोड हुन नसकेको मन्त्रालयले जनाएको छ।

जेठको पहिलो हप्तासम्म आइपुग्नु पर्ने उक्त मल हालैमात्र भारतमा लकडाउन केही खुकुलो भएपछि आउने क्रम सुरु भएको छ। गुजरातको कान्डला बन्दरगाहमा पनि २१ हजार ५ सय मेट्रिक टन युरिया मल ४५ दिनदेखि रोकिएको छ।

कोलकाता बन्दरगाह बन्द भएकाले उक्त मल कान्डला बन्दरगाहबाट नेपाल ल्याउन प्रयास गरिएको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालय, परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली राजदूतावासको निरन्तर कूटनीतिक प्रयासका बाबजुद पनि हालसम्म उक्त परिमाणको मल ल्याउन नसकिएको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ।

मन्त्रालयले रासायनिक मल बढी आवश्यक पर्ने समय असार दोस्रो सातासम्म सबै परिमाणको मल आयात गरी किसानलाई वितरण गर्ने योजना अनुसार सबै काम समयमै पूरा गरिसकेको भए पनि एक लाख मेट्रिक टन मल कोरोना महामारीका कारणले हालसम्म बाटोमा नै रोकिएको मन्त्रालयले जनाएको छ।

यति हुँदाहुँदै पनि गत आर्थिक वर्षको तुलनामा यो वर्ष कूल परिमाणमा २५ हजार मेट्रिक टनभन्दा बढी मल आयात तथा वितरण गरिसकिएको छ। लक्ष्य अनुरूप प्रक्रियामा रहेका रासायनिक मल समयमै आयात गर्ने सबैखाले प्रयास भइरहेको मन्त्रालयको दाबी छ।

रासायनिक मल युरिया, डिएपी र पोटासमध्ये कृषकहरुको बढी रोजाइमा युरिया मात्र पर्ने गरेको तर युरिया मल मात्र धेरै प्रयोग गर्दा माटोको गुणस्तर बिग्रने र मलबाट प्राप्त हुने फाइदा पनि कम हुने कुरालाई ध्यानमा राख्दै तीनवटै प्रकारका रासायनिक मलको सन्तुलित मात्रा मिलाएर प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ।

यसैबीच, अभावको अवस्थामा केही डिलर सहकारीहरुले बढी मूल्य लिई रासायनिक मल बिक्री वितरण गरेको भन्ने गुनासो आएकाले कानून विपरीतको त्यस्तो कार्य नगर्न र अटेर गरी यस्ता कार्य जारी राखेमा प्रचलित कानून बमोजिम कडा कारवाही गर्ने पनि मन्त्रालयले जनाएको छ।

यो वर्षको वर्षे सिजन शुरु भएसँगै रासायनिक मलको मागमा अत्यधिक वृद्धि भएको छ। चालु आर्थिक वर्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट ४ लाख ५० हजार मेट्रिक टन अनुदानित रासायनिक मल आपूर्ति गरी किसानलाई वितरण गर्ने कार्यक्रम छ। जुन गत आर्थिक वर्षको भन्दा एक लाख मेट्रिक टन बढी रहेको पनि मन्त्रालयले जनाएको छ।     (वीजमाण्डुबाट )

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका