जोडिनुहोस

विचार/ब्लग

बाँसुरीको धुन

Banner

वसन्त पञ्चमीको दिन । विद्यालयको सरस्वती पूजाको कार्यक्रममा सरिक गराएपछि विद्यार्थीहरूलाई विदा दिई घर पठाउँने तरखरमा थिए शिक्षकहरू । पूजा गराउँन आएका गुरुले प्रधानाध्यापकलाई भने, ‘महासय, यी बाबुनानीहरूलाई यसै घर पठाउनुभन्दा अलिकति पर एउटा मन्दिर छ । त्यहाँसम्म पु¥याएर फर्काउँदा उपयुक्त हुन्थ्यो कि !’

गुरुकोे कुरा सुनेका विद्यार्थीहरू रमाउँदै थिए । ‘के भो त ? आज नानीबाबुहरूले प्रसाद ग्रहण गरेकै छन् । लैजाऊँ न त ।’ यसरी उनीहरू गुरुजीले भन्नुभएको मन्दिरमा बालबालिकालाई दर्शन गराएर फर्कँदै थिए । दुईतिर हरियालीले ढपक्कै ढाकिएका पहाड निलो पानी कल्लकल गर्दै बगेको तीव्रगतिको नदीलाई काखमा राखेर उभिएका थिए । धेरै समयपछि भेटिएका दिदीबहिनी मायालु वार्ता गर्न निहुँरिए झैं देखिने पहाडका चुचुराले वातावरणलाई अत्यन्त मोहक बनाएको थियो । यस प्राकृतिक सौन्दर्यबाट मोहित केटाकेटी तथा शिक्षकहरू टोलाएर हेर्दैथिए । त्यसै स्थानमा एउटा चौतारी देखे । फूर्तिला केटाकेटीहरू रमाउँदै यताउता फराकफुरुक गर्दैथिए । ‘आहा, सुन्दर चाौतारीमा बाबुनानीहरूलाई एकछिन् रमाउँने समय दिऊँ कि !’ भन्दै थिए शिक्षकहरू, बालबालिका भने निर्णयअघि नै चौतारीमा गएर बसिसकेका थिए । शिक्षकहरू पछि लागे ।

केही समय रमाएपछि उनीहरू उठेर हिँड्न मात्र लागेका थिए, शान्त मुद्रामा बजाइएको बाँसुरीको स्वर सुनियो । उठिसकेका तिनका पाइला टक्क अडिए र शिर ठाडा पारे, आँखा यताउता घुमाउँन लागे, मधुर स्वर सुन्न कान एकाग्र पार्न लागे । कानहुँदै प्रविष्ट धुनले हरेकको मस्तिष्क तान्न थाल्यो । स्वरको आवाज बिस्तारैबिस्तारै चर्को हुँदै थियो चेलाचेली तथा शिक्षकहरू कृष्णको बाँसुरी–धुनमा लट्ठ राधाको एकाग्रताका अनुयायी हुन लागे । अचानक उक्त स्वर मानव स्वरहुँदै अभिव्यक्तिमा फेरियो ।

‘शिक्षार्थीहरू,मन्दिरमा पूजा गरेर फर्कनु भयो । यहाँहरूलाई नमन । म त कहीँ जान सक्दिनँ ।’ बाँसुरीको स्वर मानव ध्वनिमा सुनिन थालेपछि शिक्षक विद्यार्थीहरू कोही बोल्दै छ, को होला त्यो ? भन्ने कौतुहल शान्त पार्न यताउता हेर्न लागे । केही देखिनुको सट्टा आवाजले मात्र निरन्तरता लियो । उताबाट देखिन्छ होला भन्ने सोच्दै उनीहरू चौतारीबााट अलिक पर बसेर सुन्न लागे ।

‘केही दिन मात्र अघिको कुरा हो । यही दुर्गम स्थान, देख्नुभयो कति एकान्त छ । चौराहा पनि देखिरहनु भएको छ । चौराहा भएपछि मानव चहलपहल हुनु पर्ने हो । तर देखिहाल्नु भयो, छैन । यही चौतारीमा घोप्टी परेर भावविह्वल अवस्थामा बसेको महिला–आकृति देखा प¥यो । बिस्तारै बिस्तारै उक्त आकृति अलिक प्रष्ट देखिँदै गएजस्तो लाग्थ्यो । सेतो पोसाक भएकाले उनी नर्स पो थिइन् कि भन्ने अन्दाज गर्न सकिन्थ्यो । मानिसहरूको आवागमन अत्यन्त बिरल हुने यस दुर्गम स्थानको चौतारीमा एउटी नर्स त्यस अवस्थामा देखिनु स्वाभाविक थिएन । ‘के कामले पुगिहोलिन् र त्यस निर्जन स्थानमा !’ भन्ने जोसुकैलाई पनि लाग्न सक्थ्यो ।

हेर्दाहेर्दै एउटा मानव कङ्काल आएर सोही महिला–कङ्कालका अगाडि ठिङ्ग उभियो । निकै लामो समय निहुँरिएर हेरिरह्यो । बिस्तारै उक्त कङ्काल फनफनी घुम्दै घरि यताबाट, घरि उताबाट, घरि दायाँतर्फबाट घरि बायाँतर्फबाट हेर्न लाग्यो । सायद उसले महिला आकृतिको अनुहार पहिचान गर्न पो खोजेको थियो कि ! वा अरू नै केही उद्देश्य थियो । यी त कल्पनातीत थिए । अनुसन्धाताहरू कतै त्यसै रहस्यको उत्खननमा घोत्लिरहेका पनि हुन सक्थे । उक्त कङ्काल पुनः अघिकै स्थितिमा निहुरी परेर उभिन आइपुग्यो ।

त्यस कङ्कालले पुनः शिर उटायो तर त्यसअघि नै अरू दुई कङ्काल आइसकेका थिए । पछि आउने कङ्कालहरू एकआपसमा इसाराकोे भाषामा कुरा गरेजस्तो देखिन्थ्यो । के कुरा गर्दै थिए भन्ने थाहा पाउँनका लागि उनीहरूको बोली थिएन । निहुरी परेको कङ्कालले टाउको उठायो र पछि आएकाहरूतिर निकै बेर नियालेर हेरेपछि बिस्तारै बोल्यो, ‘ओ हो, आज मैले के देख्दै छु ? हामीलाई यो निर्जन स्थानमा एकै पटक आउन बाध्य पार्ने कुन शक्ति होला ?’ पहिलो कङ्कालले नवागन्तुकहरूतर्फ फर्केर मित्रताको हात बढायो ।

‘तिमी बेमौसमी सोहमत देखाउँदै छौ, महासय !’ दोस्रो कङ्कालले पनि मुख खोल्यो । निरास पहिलो कङ्कालले तेस्रो कङ्कालतिर हात सोµयायो । जवाफमा तेस्रो कङ्काल निरास स्वरमा बोल्यो, ‘हे मित्र, मसँग अब तिमीसँग हात मिलाएर खुसी साट्ने साहस बाँकी छैन ।’

‘ठिकै हो । अब मसँग पनि त्यो साहस कहाँ बाँकी छ र ? अहिेलेसम्म कमाएका सबै यश, प्रशंसा र साहानुभूतिले बाँचेको गर्विलो इतिहासको धरहरा एउटा अकल्पनीय, अदृश्य वा अश्रवणीय बेनामे शुक्ष्मताले गल्र्यामगुर्लुम बर्लिनको पर्खाल बनाएपछि मैले आफैलाई धिक्कार्दै अब बाँच्नुको अर्थ सकिएको निस्कर्ष निकालें र यो बाटो लागेको हुँ । मलाई अब यो धरतीको वरिपरि आफ्नै स्थापित सुगन्धपान गरी बाँच्नु व्यर्थ लाग्यो । यहाँसम्म आउँदा निर्विघ्न मेरो वायुगतिलाई यसै दृश्यको अवरोधले रोक्न पुग्यो । त्यसैले रोकिएको हुँ ।’ पहिलो कङ्कालले उही महिला–आकृतितिर औंलो तेस्र्याउँदै विक्षिप्त स्वरमा भन्यो ।

‘म पनि त्यही दशाका कारणले विचलित भएरै निक्लेको हुँ । कसरी यहाँ आइपुगें मलाई नै थाहा छैन ।’ दोस्रो कङ्काल बोल्यो ।

‘मेरो पनि यही दशा भयो ।’ तेस्रो बोल्यो । ‘मलाई लाग्थ्यो – शक्तिले मानिसलाई अजम्वरी बनाउँछ, शक्ति आर्जन गर्न कठिन छ, जसरी मैले जीवन नै गुजारेर यो सामाजिकदेखि वैयक्तिक वैभव आर्जन गर्न सक्षम भएको थिएँ, एकपटक प्राप्त गरेपछि यसको नाश कहिल्यै हुनेछैन । तर, अहिले आएर थाहा भयो, म कति कमजोर रहेछु । मेरो कल्पना कोरा मात्र भएन बरु, मेरो बुझाइको ठीक विपरित मान्यता सत्य ठहरियो र स्थापित हुन पुग्यो ।’

ती तीनै कङ्कालहरू आफ्ना बिलौना पोख्दै थिए । महिला आकृतिको शिर उठ्यो । उसलाई ढाकेको सेतो रङको रेशादार पर्दा बिस्तारै खुल्न लाग्यो । पर्दा खुलेपछि महिला आकृति झन् सेतै पोसाककी नर्समा रूपान्तरित भएर उभिई । बिस्तारै उक्त शिर उपस्थित तीनै कङ्कालतिर फक्र्यो । केही समय एकोहोरो हेरेपछि नर्स पुनः निहुरी पर्दै ती तीनै कङ्कालतिर फर्केर हात जोड्दै बोली, ‘विश्वका महापराक्रमी तथा अन्वेषक वीरहरू, तपाईंहरूलाई सहस्र नमस्कार छ ।’

त्यस नर्स आकृतिले गरेको नमस्कार फर्काउँदै ती कङ्कालहरूले निहुँरिएर हात जोड्दै भने, ‘हे देवी, तपाईले हामीलाई होइन । तपाईंको अगाडि हामी केही होइनौं । खासमा तपाईं नै यस संसारकी देवी हुनुहुन्छ, भगवान हुनुहुन्छ, महादेव, विष्णु वा ब्रह्मा हुनुहुन्छ, क्राइस्ट हुनुहुन्छ, अल्लाह अकवर हुनुहुन्छ । हामी तपाईंको अगाडि तुच्छ छौं । हामी तपाईंको पाउ पर्छौ ।’

चकमन्नताले छायो । न कसैले कसैको अनुहार हेरे, न कसैबाट कुनै वाक्य फुट्यो । धेरै समयपछि सोही नर्सको आकृति बोल्यो, ‘हे महा मानवहरू, मेरो पालामा तपाईंहरूको अगाडि मेरो कुनै स्थान थिएन । तपाईंहरू संसार हाक्ने विचार, अन्वेषण र शक्तिले सम्पन्न हुनुहुन्थ्यो । तर म ? मेरो जिन्दगी त तपाईंहरूका अन्वेषणका पुरस्कार प्राप्त घाइतेहरूका चोट पाकेर गन्हाइरहेका घाउको पिप पुछ्दै प्राप्त औषधि लगाइदिँदै, ख्वाइदिँदै उनीहरूलाई सान्त्वना दिनुमै वितेथ्यो । त्यति मात्र भए त बरु हुन्थ्यो, तिनै घाउका मालिकबाहेक अरूले त मलाई खिसीट्युँरी गर्नैका लागि जन्मेजस्ता पाउँथें । सडकमा हिँड्नुपर्दा अरूले नचिनून् भन्ने उद्देश्यले मुख छोपेर हिँड्नु पर्ने अवस्था थियो । अहिले तपाईंहरूको यो रूप देख्दा र यो भावना सुन्दा म विलख्बन्दमा छु ।

‘हे देवी, हामीलाई सुनाउनु होस् त तपाई वास्तवमा को हुनुहुन्छ ? अनि हामीलाई महान कसरी भन्न सक्नुहुन्छ ?’ नर्स आकृति नम्रतापूर्वक बोल्यो ।
‘हेर्नोस्, मेरो परिचय त मैले अघिदेखि नै दिईरहेकी छु । तपाईहरूले आफ्नो परिचय दिन अन्कनाए पनि मैले तपाईंका तात्कालीन असली रूप देखिरहेकी छु ।’ नर्स आकृतिले यत्ति के भनेको थियो, तीनै कङ्काल क्रमशः आफ्ना असली रूपमा देखा परे । सबैभन्दा पहिले दाह्रीजुङ्गा काटेर चिटिक्क परेको फरासिलो फराकिलो अनुहार देखाउँदै उभियो ।

‘हो, म तपाईंले चिनेकै मानिस हुँ, ह्यारी एस ट्रुमन । त्यसैले त मैले अघि नै भनें, मलाई लाग्थ्यो मेरो शक्ति अक्षय छ । तर होइन रहेछ । अब मेरा समकालीन जनतासँग माफी माग्न चाहान्थें । अब ती कसैलाई पनि भेट्न सक्तिनँ । आज म मेरा तिनै जनतासँग र सम्पूर्ण जापानीहरूसँग माफ माग्न चाहान्छु ।’ उही सफा अनुहारवाला सर्वशक्तिमान व्यक्ति अध्यारो अनुहार बनाउँदै बोल्यो ।

त्यसको लगत्तै अर्को कङ्काल उभिएको ठाउँमा एक होनहार व्यक्तित्व देखियो । हिउँको कपाल भएको, देख्दै दार्शनिक जस्तो लाग्ने परिपक्व व्यक्ति बोल्न लाग्यो, ‘हो, म आजका दिनसम्म जतिसुकै प्रशंसित भए पनि अब मैले मेरो मूल्य गुमाएको छु । आज त मैले आफ्नै परिचय दिएर बाँच्न नपरे हुन्थ्यो भन्ने लाग्छ, तर तपाईंले चिनिहाल्नु भयो । मेरै आविष्कार ‘थर्मल मोसन अफ एटम’ त्यतिका मानिसको जीवन नष्ट गर्नसक्ने बम बनाउने भूमि तयार गर्न सक्ला भन्ने कल्पना गर्न सकिनँ । म त सबैप्रति क्षमा प्रार्थी छु भन्न पनि मेरो आदर्शले दिँदैन आज ।’

त्यसको लगत्तै अर्को कङ्काल आफ्नो रूपमा देखिँदै उभियो । टाइ, कोट र सुटमा सजिएको उज्यालो अनुहारको फूर्तिलो देखिँने व्यक्ति बोल्यो, ‘हो, मेरा गुरु त यहीँ हुनुहुन्छ । उहाँकै अन्वेषणको जगमा उभिएर त्यो नरसंहारक बम बनाउँने व्यक्ति मै थिएँ । त्यस बेला एटम बमको पिताका नामले चिनिँदा जति उचाइमा पुगेझैं लाग्थ्यो मलाई, आज त्यत्ति नै धरातलीय गहिराइमा भासिएझैं लागेको छ ।’

नर्स–आकृति गम्भीर मुद्रामा चुपचाप थियो । बाँसुरीको धुन पुनः बज्न लाग्यो । त्यहाँ उपस्थित सबै झन् लठ परे । यसैबीच ती तीनै आकृति एकाकार भएर एउटै आकृतिमा देखा परेर बोल्न लाग्यो, ‘हे देवी, हामी तीनै जना ठूलाठूला आविष्कार र तिनको प्रयोगबाट आनन्द लिँदै लाखौंलाख मानिसको विभत्स लासबाट आइरहेको दुर्गन्धलाई सुगन्ध मान्दै, घाइतेहरू, आफन्त गुमाएर टुहुरा भएकाहरू, घरवास उजाडिएकाहरू, आजीवन अशक्त भएकाहरू, दीर्घ रोगी हुन पुगेकाहरू एवं लुलालङ्गडा मानिसको क्रन्दनलाई मधुर सङ्गीत मान्दै रमिरह्यौं, विरगाथा गाइरह्यौं र आफैंलाई संसारका सर्वशक्तिमान घोषित गरेर पगरी गुत्न लाग्यौं ।’ यति भन्दै थियो नवरूपको कङ्काल, बाँसुरीको धुन चर्को हुँदै फेरियो । सम्पूर्ण मानवजाति रोइरहेको आवाज आइरह्यो । टुँ गरेर एकोहोरो शङ्ख बज्यो । अरू सबैतिर शान्त भयो । मूर्दा शान्ति ।

घोप्टी परेर उभिएको नवरूपको कङ्काल बोल्न लागेको के थियो, बाँसुरी, शङ्ख सबै चुप भए । कङ्काले भन्यो, ‘हे देवी, हामी जति शक्तिशाली भए तापनि हामीले हाम्रो ज्ञान, विद्वता, विवेक, बुद्धि मानिसहरूको संहारमै केन्द्रीत ग¥यौं कसैलाई प्राण दिन भने सकेनौं । तर तपाईं ? तपाईं जसलाई हामीसमेतले खिसीट्युँरीको वस्तु बनायौं, उसैले हाम्रै विवेकको सजायले रोइरहेका थिए, अपमानको आँसु पिएर पनि तिनै असहायहरूको जीवनका निम्ति आफ्नो जीवन व्यतित गर्नुभयो । अनि आज ? संसारका वैज्ञानिकहरू अलमल्ल भइरहेको समयमा आफू र आफ्नाको जीवन धरापमै राखेर भए पनि विश्वका लाखौं मानिसलाई बाँच्ने हौसला दिँदै हुनुहुन्छ । अब भन्नोस्, तपाईंको अगाडि हाम्रो के स्थान हुनसक्छ ? अब त भन्नोस्, तपाई उही फ्लोरन्स नाइटिङ्गेल होइन र ?
‘त्यो त हुँ । तपाईंहरूलाई धन्यवाद । तर तपाईंहरूले मलाई जुन कामका निम्ति जस दिँदै हुनुहुन्छ, त्यो जसको दावेदार म होइन । त्यो मेरो बद्धि थिएन । तसर्थ त्यो जस जसलाई दिनु पर्ने हो, उसैलाई दिनु न्यायसङ्गत हुन्छ ।’ नर्स रूपकी कङ्काल धुरुधुरु रुन लागी ।
‘हे देवी, तपाईं नरुनोस् । बरु भन्नोस् न त त्यो महान् व्यक्ति को हो ? हामी उहाँको अगाडि शिर झुकाउँन चाहान्छौं ।’ नवरूपको कङ्काल बोल्यो ।
‘यो ठूलाठूला विद्वताको डिग्री झुण्ड्याएर संसारलाई तर्साइरहेको संसारमा ती निरक्षर बुढीको के भाउ होला र ? कसले पो पत्याउला र ? भो हुन दिनोस् ।’ नर्स–कङ्कालले निरास स्वरमा भन्यो ।

‘त्यसो होइन, तपाईंले आज सत्य उद्घाटन गर्नैपर्छ, भन्नोस् ।’

‘मैले पढेका संस्थाहरूमा त मलाई अङ्क अक्षर र तिनको जोडघटाउ सिकाइयो र भव्य समारोहका बीच प्रमाण–पत्र थमाइयो । मेरी निरक्षर अजुरआमाले म सानै छँदा भन्थिन्, नानी, अर्कालाई पीडा नदिनू, पीडामा भएकालाई सक्दो सघाउँनू । यही मन्त्र थियो उनले दिएको ।’ नर्स–कङ्कालको आवाज बाँसुरीको स्वरमा सुनिंदै थियो तर कङ्काल भने कतै बिलायो । नवरूप कङ्काल एकैछिन घोप्टी परेको देखिन्थ्यो, बिस्तारै त्यो पनि बिलायो । बाँसुरीको स्वर भने बजिरह्यो ।

अक्षर निवास
भतपुर–७, चितवन

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *