जोडिनुहोस
  • होमपेज
  • विप्लव नेता विरहीको प्रहरीको निगरानीमा भरतपुर अस्पतालमा उपचार हुँदै

विप्लव नेता विरहीको प्रहरीको निगरानीमा भरतपुर अस्पतालमा उपचार हुँदै

चितवन, वैशाख २४–

नेत्रविक्रम चन्द समूहसम्बद्ध केन्द्रीय नेता अनिल शर्मा ‘विरही’को भरतपुर अस्पतालमा क्याबिनमा राखेर उपचार भइरहेको छ । उहाँ लिस्नुबाट लडेपछि ढाडको उपचार गर्ने क्रममा मंगलबार कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा आइपुग्नुभएको थियो ।

प्रहरीको निगरानीमा रहनुभएका उहाँलाई सोही साँझ भरतपुर अस्पतालमा भर्ना गरी क्याबिन नं ३०२ मा राखिएको छ । वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीका अनुसार भरतपुर अस्पतालमा पाउने सबै विशिष्ट सुविधा दिएर उहाँको उपचार गर्ने काम जारी छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले विरहीको भरतपुर अस्पतालमा उपचार भइरहेको र उपचारमा कुनै कमी हुन नदिने बताउनुयो । अस्पताल विकास समितिका अध्यक्ष एवं वरिष्ठ फिजिसियन डा अधिकारीले उहाँको रोगअनुसार विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण गर्ने काम गरिरहेको र मधुमेह, मिर्गौला, थायरायड र उच्च रक्तचापको समेत उपचार भइरहेको जानकारी दिनुभयो ।

डा अधिकारीका अनुसार विरहीलाई पहिलेदेखि नै ती रोगको समस्या थियो । लिस्नुबाट लडेपछि उच्च रक्तचापको समेत समस्या थपिएको छ । आजैदेखि उच्च रक्तचाप नियन्त्रणका लागि औषधि प्रयोग गरिएको छ ।

अस्पतालका हाडजोर्नी तथा नशा रोग विभागका प्रमुख डा श्रवणकुमार थापाका अनुसार विरहीको मेरुदण्डको हाड थोरै मात्र धसिएको छ । अहिले विरहीलाई आरामको आवश्यकता रहेको बताउँदैै उहाँले नदुख्ने औषधि मात्रै दिइएको र पछि फिजियोथेरापीसमेत गरिने जानकारी दिनुभयो ।

अध्यक्ष डा अधिकारीसहित फिजिसियनको समूहले पनि विरहीको स्वास्थ्य परीक्षण गरिरहेको छ । अस्पतालले उहाँको स्वास्थ्य समस्यानुसार विशेषज्ञ चिकित्सकको पालो मिलाएर परीक्षण गरिएकोे अवगत गराएको छ । विरहीको परिवारले पनि अस्पतालमा उहाँको आवश्यक सम्पूर्ण उपचार भइरहेको जनाएको छ ।

पार्टीको मर्यादाक्रममा छैटौं तहका नेता विरही हाल प्रकाशन विभागका प्रमुख हुनुहुन्छ । भूमिगत अवस्थामा चितवनको राप्ती नगरपालिका वडा नं १० समिटारमा रहेको अवस्थामा घरको लिस्नुबाट झर्ने क्रममा लडेर उहाँको ढाडमा समस्या आएको हो । उक्त समस्यापछि उपचारका लागि कलेज अफ मेडिकल साइन्सेसमा आएका समयमा प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको हो । प्रहरीले नै साँझ उहाँलाई भरतपुर अस्पताल ल्याएको हो ।

रत्ननगर नगरपालिका वडा नंं ५ निवासी ५० वर्षीय विरही बाल्यकालदेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय रही लामो समयदेखि भूमिगत रहँदै आउनुभएको थियो । सर्वहारा श्रमिक संगठनबाट राजनीति शुरु गर्नुभएका उहाँ नेकपा (एकता–केन्द्र), नेकपा (माओवादी) हुँदै अहिले चन्द निकट राजनीतिमा सक्रिय हुनुहुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका