राजनीति
प्रहरीले सुरेन्द्र यादवको अपहरण प्रकरणमा जाहेरी लिन मानेन, प्रहरी र भट्टराईलगायत नेताहरुबीच चर्काचर्की

काठमाडौँ, वैशाख १४-
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनालले महोत्तरीका समाजवादी सांसद सुरेन्द्र यादवको अपहरण गरी काठमाडौँ ल्याएको भन्दै पूर्वप्रधानमन्त्री तथा समाजवादी नेता बाबुराम भट्टराईलगायत नेताहरु ती तीनबिरुद्ध जाहेरी दर्ताका लागि आइतबार दिउँसो काठमाडौँ प्रहरी परिसर पुगेका छन् ।
समाजवादी सांसद सुरेन्द्र यादवको अपहरण गरी काठमाडौँ ल्याएको जाहेरी दिन प्रहरीले अस्वीकार गरेपछि काठमाडौँ प्रहरी परिसरमा प्रहरी अधिकारीहरु र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत नेताहरुबीच चर्काचर्की भएको छ ।
सांसद एवं पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादवसँगै जसपाका शीर्ष नेताहरु पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगायत टेकु पुगेका हुन् ।
सांसद बस्नेत, श्रेष्ठ र पूर्वआइजीपी खनालले सांसद यादवलाई आफ्नो गाडीमा राखेर काठमाडौँको म्यारियट होटलमा ल्याएर राखेपछि उनीहरुमाथि सांसद अपहरणको आरोप लागेको छ ।
सोही रात समाजवादी पार्टी र राष्ट्रिय जनता दल एक भई एकीकृत पार्टी बनेको थियो ।