चितवन विशेष
श्रीवैष्णव परिषद्ले भरतपुर अस्पताललाई दियो स्वचालित स्यानिटाइनिङ टनेल

चितवन, वैशाख १४–
श्रीवैष्णव परिषद् नेपाल, श्रीवैष्णव युवा परिषद् नेपाल र श्रीवैष्णव महिला परिषद् नेपालले स्वचालित स्यानिटाइनिङ टनेल सहयोग गरेको छ ।
शनिबार एक कार्यक्रमकाबीच सो स्यानिटाइजिङ टनेल हस्तान्तरण गरिएको हो । सो क्रममा बोल्दै भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले यस मेशिनको प्रयोगले अस्पतालमा आउने बिरामीहरु तथा बिरामीका आफन्तहरुलाई सुरक्षित रहन खराब भाईरसहरु तथा ब्याक्टेरियाहरुले शरीरमा प्रवेश गर्न नपाउनेमा सहयोगी हुने बताए । उनले यस्ता सहयोगमा धार्मिक संघसंस्था पनि ऐक्यबद्ध भएर लागेकोमा थप खुसी भएको बताउदै कोरोनासँग लड्न सबै प्रकारका संघसंस्थाहरु लाग्नुपर्नेमा जोड दिए ।
स्यानिटाइजिङ टनेल हस्तारण गर्दै श्रीवैष्णव परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष कृष्ण प्रपन्न गौतमले वैदिक सनातन धर्म संस्कार अनुरुप आफ्ना दैनिक आचारण सम्पादन गरेमा संक्रमण कम गर्न सकिने बताए । वैदिक हिन्दु सनातन धर्मले हरेक क्रियाकलाप अगाडि अनिवार्य हात धुने, शरीर शुद्धि गर्ने तथा कपडा परिवर्तन गर्नेलगायतका काम गर्ने भएकाले त्यसलाई अनुसरण गर्दा आफु स्वस्थ्य रहन सकिने बताए ।
श्रीवैष्णव युवा परिषद् नेपालका कोषध्यक्ष तथा चितवन जिल्ला शाखाका अध्यक्ष वेदप्रसाद आचार्यले संचालन गरेको कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारी, अस्पतालका डा. मनोज कँडेल, श्रीवैष्णव युवा परिषद् नेपालका केन्द्रीय सदस्य डा. सुन्दर गौतम, पूर्व केन्द्रीय सदस्य फुलनाथ निउरे, परिषद्का केन्द्रीय सदस्य टीकाराम कँडेल, महिला परिषद् चितवन शाखाकी अध्यक्ष तुलसी निउरे, नेपाली युवा उद्यमी मञ्च चितवन शाखाका अध्यक्ष दाताराम घिमिरेलगायतको उपस्थिति रहेको थियो ।
करीब एक लाख पचास हजार लागतमा निर्माण गरेको उक्त स्यानिटाइजिसङ टनेलमा प्रवेश गरेपछि १० सेकेण्डमै पूर्ण स्यानिटाइजिङ गर्नेछ।