Breaking News
उदयपुरमा २८ जनामा कोरोना संक्रमण देखिएपछि अनुसन्धान गर्न डब्ल्यूएचओ सहितको टोली भुल्केमा

काठमाडौं, वैशाख १२-
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सहितको टोली कोरोना संक्रमण फैलिएको उदयपुरको भुल्केमा अनुसन्धानको लागि आइपुगेका छन् ।
भुल्केमा १२ स्थानीयसहित २८ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमणको जरा खोतल्न विश्व स्वास्थ्य संगठनसहितको टोली अनुसन्धानको लागि भुल्के पुगेको हो ।
विश्व स्वास्थ्य संगठनसहितको टोलीले एक हप्ताभित्र रिपोर्ट पेस गर्ने हिसाबले काम सुरु भएको छ । टोलीमा एक जना विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसहित चार जना जनस्वास्थ्य विज्ञ छन् ।
अहिले उक्त टोली संक्रमण फैलिएको भुल्केमै पुगेर अनुसन्धान गरिरहेको छ । गत शुक्रबार भुल्केस्थित एक मस्जिदमा रहेको १६ जनामध्ये १२ जनामा कोरोना पुष्टि भएको थियो ।
बाँकी चार जनामा पछि संक्रमण पुष्टि भएपछि सो क्षेत्रलाई उच्च जोखिमको रुपमा लिइयो । लगत्तै वस्तीमा रहेका मानिसहरूको पनि परीक्षण गर्ने प्रकृयामा १२ जनामा कोरोना पुष्टि भयो । त्यसलगत्तै विश्व स्वास्थ्य संगठनसहितको टोली संक्रमण कसरी फैलियो भन्नेबारे अनुसन्धान गर्न सो वस्ती पुगेको हो ।