चितवन विशेष

लायन्सले दियो भरतपुर कोरोना अस्पताललाई ‘स्वचालित स्यानिटाइजिङ टनेल’

Banner

चितवन, वैशाख ९–

लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी टु नेपालले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताललाई स्वचालित स्यानिटाइजिङ टनेल सहयोग गरेको छ ।

दाङका युवा वैज्ञानिक मार्सल रोकाले डिजाइन गरेको उक्त स्यानिटाइजिङ टनेल आज (मंगलबार) एक कार्यक्रमकाबीच अस्पताललाई हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा प्रदेश सांसद विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारी, भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारी, नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा.अनिल विक्रम कार्की, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, लायन्सका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

२ लाख ५० हजार परेको उक्त सनीजोल (केमिकल)सहितको स्यानिटाइजिङ टनेल आजैदेखि प्रयोगमा आएको छ । सो टनेलमा मानिस प्रवेश गर्ने वित्तिकै आफै मेसिनले स्यानिटाइजिङ गर्नेछ । यसले गर्दा स्यानिटाजिङ टनेलमा स्यानिटाइजिङ गराउन बसी रहनु पर्दैन । भरतपुर अस्पतालको अगुवाई र भरतपुर अस्पतालको व्यवस्थपनमा संचालनमा रहेको कोरोना अस्पताल प्रवेश गर्ने सबै जना अब सोही स्यानिटाइजिङ टनेलमा प्रवेश गरी मात्र जान पाउने छन् ।

सो क्रममा बोल्दै टनेल निर्माता युवा वैज्ञानिक मार्सल रोकाले मानिसको पुरै शरीर स्यानिटाइजिङ हुने भएकाले भाइरस रोक्न थप सहयोग पुग्ने बताए । उनले अहिलेको अवस्थामा यो निकै उपयुक्त भएकाले अन्य स्थानहरुमा यसको आवश्यकता रहेको बताए । उनले लायन्स क्लवले टनेल खरिद गरेकोले ५५ हजार रुपैयाँ बराबरको सनीजोल (केमिकल) निःशुल्क सहयोग गरिएको बताए । यस्तै रोकाले स्यानिटाइजिङ केमिकलले मानिसमा कुनै असर नपर्ने बताए । उनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्ड अनुरुप नै सनीजोल र टनेल निर्माण गरिएको बताए । यस्तै रोकाले एक हजार लिटर सनीजोलले एक हजार दुई सय जनालाई पुग्ने बताए ।

लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी टु नेपालका सेकेण्ड भाइस डिष्ट्रिक्ट गर्भनर लायन रामप्रसाद भट्टले कोरोना अस्पतालमा सबैको लागि आवश्यक देखेर स्यानिटाइजिङ टनेल सहयोग गरिएको बताए । उनले भने–‘कोरोना अस्पताल प्रवेश गर्ने सबै जोखिममा छन्, यसले बिरामीलाई मात्र होइन यहाँ आउने चिकित्सक, स्वास्थ्यकर्मीहरुलाई पनि सहज हुनेमा विश्वस्त छौं ।’

उनले लायन्स क्लवले सुरुवातका दिनमा पनि कोरोना अस्पताललाई सहयोग गरेको भन्दै आगामि दिनमा यस्तै सहयोगहरु गरिरहने प्रतिवद्धता जनाए ।

यस्तै सोही क्रममा बोल्दै बाग्मती प्रदेश सभा सदस्य विजय सुवेदीले स्यानिटाइजिङ टनेल उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरे । उनले अहिलेको समस्यामा स्यानिटाइजिङ टनेल निकै आवश्यक रहेको बताए । उनले यसबाट भरतपुर कोरोना अस्पताल प्रवेश गर्ने सबैलाई सुरक्षित बनाउन मद्धत पुग्ने भएकाले यस्तो महत्वपूर्ण सामग्री लायन्सले उपलब्ध गराउनु सह्रानिय रहेको बताए ।

यस्तै सांसद सुवेदीले नेपालमै युवा वैज्ञानिकहरुले महत्वपूर्ण उपकरणहरु बनाउन सक्ने अवस्था सिर्जना भएकोमा खुशी व्यक्ति गर्दै टनेल निर्माता वैज्ञानिक र कम्पनिलाई धन्यवाद दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>