जोडिनुहोस
  • होमपेज
  • लकडाउनका कारण अन्योलमा रातो मच्छिन्द्रनाथको जात्रा

लकडाउनका कारण अन्योलमा रातो मच्छिन्द्रनाथको जात्रा

सञ्चिता घिमिरे/सुभानु आचार्य

काठमाडौँ, चैत ९-

सहकालका देवता रातो मच्छिन्द्रनाथ आफैँ भने अनिकालको चेपुवामा परेका छन् । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण रातो मच्छिन्द्रनाथको जात्रा के गर्ने भनी अझै टुङ्गो लाग्न सकेको छैन । वैशाख शुक्ल प्रतिपदा अर्थात् आगामी वैशाख १२ गते मच्छिन्द्रनाथको रथारोहण गर्नुपर्ने भए पनि अहिलेसम्म रथ निर्माण हुन सकेको छैन । ललितपुरका जनप्रतिनिधि र जात्रासँग जोडिएका जातिका अगुवा कुनै पनि हालतमा रथारोहण गर्नैपर्ने पक्षमा छन् भन् गुठीले यो समयमा रथ निर्माण गर्न नसकिने बताएको छ ।

पूरै रथ बनाउन नसकिए पनि देवतालाई राख्ने स्थानसम्म बनाएर परम्परालाई निरन्तरता दिन सकिने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो । सरकारको निर्णयानुसार सामाजिक दूरी कायम गरेर पनि रथ निर्माण गर्न सकिने उहाँले बताउनुभयो । देवता राख्ने स्थान बनाइएपछि विधिअनुसार आगामी १२ गते रथारोहण गर्न सकिन्छ । रथारोहण गरेपछि रथयात्रा लकडउनपछि जनजीवन सामान्य भएपछि गर्न सकिने उहाँको सुझाव छ । उहाँले भन्नुभयो, “सङ्कटको समय भएकाले रथयात्रापछि गराउन सकिन्छ ।”

झण्डै १६ वर्ष पहिलेदेखि रातो मच्छिन्द्रनाथको मूल पुजारीका रुपमा देवताको सेवामा लाग्दै आउनुभएका कपिल बज्राचार्य ७० वर्षको हुनुभयो । जात्रा सञ्चालनको तयारी नभएको भन्ने जानकारीले गर्दा उहाँको मन दुखेको छ । उहाँ २२/२३ वर्षको उमेरदेखि नै मछिन्द्रनाथको पुजारीका रुपमा देवताको सेवा गर्दै आउनुभएको छ । विगतमा पनि धेरै वर्षमा अप्ठेरो अवस्था आउँदासमेत कहिल्यै जात्रा नरोकिएको उहाँको अनुभव छ । अहिले माहामारीको समयमा सहकालको देवताको जात्राको अझै बढी महत्व भएको उहाँको भनाइ छ । विसं. २०७२ मा भूकम्पका कारण घरहरु भत्किएको र चर्किएकाले रथ यात्रा के गर्ने भनी अन्योल भए पनि त्यतिबेला पनि जात्रा सञ्चालन भएको थियो । अहिले पनि आवश्यक सावधानी अपनाएर भीडभाड नगरी जात्रा गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पानेजु चारजना र जजमान गरेर झण्डै १० जना भएपछि रथारोहण गर्न सकिन्छ ।”

ललितपुर वडा नं १० का अध्यक्ष नरसिंह व्यञ्जनकार सबैको धार्मिक आस्थाका रुपमा रहेको रातो मच्छिन्द्रनाथको जात्रा रोक्न नहुने बताउनुभयो । जात्राका लागि नभई नहुने थोरै व्यक्ति बसेर पनि रथारोहण गर्न सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “जात्रा नै रोक्ने कुराले धेरैको मन दुखेको छ ।” ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन जात्रा नियमित हुनुपर्ने भए पनि लकडाउनका कारण जात्रा सञ्चालन गर्न समस्या देखिएको बताउनुभयो । रथ बनाउन धेरै जनशक्ति चाहिने भएकाले पनि जात्रा सञ्चालन गर्न सजिलो नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिड–१९ को सङ्क्रमण फैलन सक्ने भएकाले पनि भीडभाड गर्न हुँदैन ।”

गुठी संस्थान ललितपुरका प्रमुख राजन भुजुले लकडाउनको समयमा रथ निर्माण गर्न नसकिने बताउनुभयो । रथ बनाउन धेरै जनशक्ति चाहिने हुँदा अहिले नै निर्माण गरिने सम्भव नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “लकडाउनपछि नै रथ बनाउने र रथारोहण गर्न सकिन्छ ।”

रातो मच्छिन्द्रनाथलाई वर्षा सहकालका देवता मानिन्छ । किंवदन्तीअनुसार भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले भिक्षा नदिएपछि त्यसैको झोकमा उनले पानी पार्ने नागहरूलाई आफ्नो आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल परेपछि यसको समाधानका उपाय खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुरमा ल्याएमा उनलाई मनाउन सक्ने र सहकाल लाग्ने भन्ने थाह पाएपछि भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका गुरु बन्धुदत्त आचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई ल्याउने सल्लाह गरे ।

सोहीअनुरुप आसाम कामारुकामाक्षेमा रहेका मच्छिन्द्रनाथलाई बोकेर कान्तिपुरमा ल्याउने क्रममा मच्छिन्द्रनाथलाई पाटनमा नै राख्न पाए सहकाल लाग्ने र पाटनवासीमा खुशियाली छाउने विश्वासमा निकै चलाखी गर्दै कृषक ललितले मच्छिन्द्रनाथलाई बोकेर ल्याउने क्रममा पाटनमा रात पारिदिए । राति भइसक्यो अब आज पाटनमा बसौँ भनेर गुरु र भक्तपुरका राजा नरेन्द्रदेवलाई मनाए । सबै सुतिसकेपछि उनी पाटनका राजाकहाँ गई सम्पूर्ण कथा बताएर मच्छिन्द्रनाथलाई यतै राख्ने प्रपञ्च गरे । सोहीअनुरुप राति नै पाटनका राजासहितले भक्तपुरका राजा र गुरुलाई घेराउ गरे । आफूहरु बन्धक बनेको चाल पाएपछि भक्तपुरका राजा र पाटनका राजाबीच निकै विवाद प¥यो ।

समाधान केहीगरी पनि ननिस्किएपछि त्यहाँ एउटा उपाय निकालियो । जसअनुसार त्यहाँका थकालीले जे निर्णय गर्छ, त्यही स्वीकार्य हुने सहमति भयो । त्यसमा पनि पुनः चलाखी गर्दै कृषक ललितले थकालीलाई दहीमा अलिकति नुन राखेर खानदिए । थकालीलाई दही खाइसकेपछि मात्रै त्यसमा नुन थियो भनी जानकारी दिइयो । नुनको सोझो गर्नैपर्ने बाध्यतामा थकालीले मच्छिन्द्रनाथलाई पाटनमा नै राख्नपर्ने निर्णय गरिदिए ।

मच्छिन्द्रनाथलाई पाटनमा ल्याएको थाह पाएपछि गोरखनाथले आफ्ना गुरु मच्छिन्द्रनाथको दर्शन गर्न भनी उठेपछि उनको आसनमा रहेका नाग यत्रतत्र लागे । त्यसपछि यहाँ वर्षा भयो र पुनः सहकाल लाग्यो । यसैको सम्झनामा वर्षेनी मच्छिन्द्रनाथको जात्रा भव्यताका साथ मनाइँदै आएको छ । जात्राका प्रभावले जस्तोसुकै कठीन अवस्था हटेर सहज हुने पाटनवासीको विश्वास छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका