समाचार

‘मागेको चामलले कहिलेसम्म बल्ला जाहिरको चुलो ?’

Banner

सञ्चिता घिमिरे

काठमाडौँ, वैशाख ७-

“हिजो त हामी कसैले चामल, कसैले दाल र कसैले नुन दियौँ र सबै परिवारले खान पाए”, छिमेकीहरु भन्छन्, “सधैँ दिन हामीसँग नि के छ र ?” मनोहरास्थित सुकुम्बासी बस्तीका जाहिर भाटको नौ जनाको परिवार बिहीबार राति भोकै सुत्यो । यो कुरा घरसँगैकी छिमेकी आमाले थाहा पाउनुभयो । उहाँबाट परिवार हुँदै टोलभरि हल्ला फैलियो र सबैले सक्ने खाद्यान्न दिए । शुक्रबार बिहान दिएको खानेकुराले उनीहरुले त्यो दिन र शनिबार दुई छाक पेटभरि खाए । अझै दुई–तीन दिनलाई पुग्ने दाल र चामल छ । त्यो सकिएपछि भने के गर्ने ? उहाँसँग त्यसको जवाफ छैन ।

बजारमा अहिले ग्यास अभाव नभएको जाहिरले सुन्दै आउनुभएको छ । उहाँसँग भएको एउटा सिलिण्डर रित्तिएको पनि एक साता भयो । तर पैसा नहुँदा उहाँले किन्न सक्नुभएको छैन । दैनिक चौरमा गएर भेटिएका कागज, दाउराका टुक्रा बटुलेर ल्याउने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बाल्ने कुराभन्दा पहिले खानेकुरा नि चाहियो ।”

मध्यपुरथिमि नगरपालिकाले बाँडेको राहत उहाँले पनि पाउनुभएको थियो । गत चैत २५ गते वडा कार्यालयले राहत वितरण गर्दा १० किलो चामल दिएको थियो । सात जनाको परिवारमा त्यो चामल चार–पाँच दिनमै सकियो । उहाँले फेरि पनि राहतका लागि वडामा सम्पर्क गर्नुभएको छ । तीन–चार दिनदेखि भोलि आउँछ भन्ने जवाफ पाइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आउँछ त भन्नुभएको छ तर कहिले पाइन्छ भन्ने थाहा छैन ।”

उसो त जाहिरको हातमुख जोड्ने समस्या लकडाउनले निम्त्याएको होइन । सात सन्तानका बुबा उहाँ बस्तीमै रहेको सानो छाप्रोमा बस्दै आउनुभएको छ । पुख्र्यौली घर सर्लाही भए पनि अहिले त्यहाँ उहाँको केही छैन । यही रहेको घरमा एउटै कोठामा नौ जनाको परिवारले वर्षाँैदेखि गुजारा गर्दै आएको छ । त्यही एउटा सानो सटरमा उहाँको लुगा सिउने मेसिन छ । त्यो मेसिन नै उहाँको हातमुख जोड्ने आधार हो । पहिले पनि पुगनपुग गर्दै उहाँले निर्वाह गर्दै आउनुभएको थियो । उहाँले भन्नुभयो, “अहिले न त साथमा पैसा छ न त बाँकी खानेकुरा नै ।”

वर्षाँैदेखि लुगा सिलाउने काम गर्दै आउनुभएका उहाँले लकडाउनयता काम नै नआएको बताउनुभयो । कामको अर्डर भए घरमै बसेर गर्न सकिने भए पनि अहिले बजार बन्द हुँदा कसैले कपडा किन्न पाएका छैनन् र उहाँले सिउने काम पाउनुभएको छैन । उहाँका सात जना सन्तान कहिले के खाने त कहिले के खाने भन्दै बुबाआमालाई सताउँछन् । उहाँहरु भने उनीहरुलाई गाली गर्ने वा फकाउने गर्नुहुन्छ । छिमेकीले दिएको खानेकुरा पु¥याएरै खानुपर्ने बाध्यता छ ।

लकडाउन अवधि थपिरहँदा उहाँलाई भने हातमुख जोड्ने कसरी भन्ने नै चिन्ता छ । अझै लम्बिरहे काम पनि नहुने र खान अझै गाह्रो हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कहिले काम गरेर दुई पैसा कमाउनु भन्ने चिन्ता छ ।”

जाहिरकी छिमेकी पम्फा तामाङले बस्तीमा धेरै व्यक्ति दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने बताउनुभयो । लकडाउनका कारण काम गर्न नपाउँदा धेरैको घरमा अन्न र पैसा सकिँदै छ । वडा कार्यालयले यहाँका अधिकांशलाई राहत दिएको छ । कतिपयलाई राहतको खाद्यान्न र घरमा बचेको खाद्यान्नले समस्या नभए पनि ठूलो परिवार भएकालाई भने निर्वाह गर्न कठिन छ । जाहिरको जस्तो एक जनाले कमाएर सिङ्गो परिवार पाल्नुपर्नेलाई गाह्रो भएको उहाँले बताउनुभयो । परिवारका दुई–तीन र १०–१२ जना हुनेलाई राहत बराबर छ । उहाँले भन्नुभयो, “ठूलो परिवार हुनेलाई त १० किलो चामल कति दिनलाई पुग्छ र ?”रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>