देश/प्रदेश

कोभिड—१९संक्रमणको परीक्षणका लागि चाँजोपाँजो मिलाउन विज्ञ टोली भेरी अस्पतालमा

Banner

नेपालगञ्ज, वैशाख ६-

यहाँस्थित भेरी अस्पतालमा कोभिड—१९संक्रमणको परीक्षणका लागि आवश्यक चाँजोपाँजो मिलाउन काठमाण्डौंबाट विज्ञसहितको टोली आइपुगेको छ । शुक्रबार अपरान्ह नेपालगञ्ज पुगेको टोलीले स्वाब परीक्षणको प्रक्रियागत विषयमा सो अस्पतालका माइक्रोबायोलोजिष्ट तथा ल्याब प्राविधिकसँग छलफल शुरु गरिसकेको छ ।

पोलिमरेज चेन रियाक्सन (पिसिआर) प्रविधिविज्ञ सुलभ आचार्यसहितको टोलीले ‘भ्यालिडेट’ दिएपछि मात्र स्वाब परीक्षण शुरु हुने अस्पताल प्रमुख डा. प्रकाशबहादुर थापाले बताउनुभयो । टोलीले पिसिआर ल्याबको निरीक्षण, उपकरणको जाँच र अस्पतालका माइक्रोबायोलोजिष्टलाई आवश्यक तालिम दिने काम अहिले गरिरहेको छ । ‘आज साँझसम्म हामी एउटा स्वाब परीक्षण गर्छौँ, उपकरणले दुरुस्त काम ग¥यो भने सम्भवतः आइतबार बिहानैवाट नियमित परीक्षण शुरु हुनेछ’—डा. थापाले भन्नुभयो ।

भेरी अस्पतालमा पिसिआर उपकरण एक साताअघिनै जडान भइसके पनि सञ्चालन विज्ञ र आवश्यक किट्स केन्द्रबाट आउन ढिलाई भएकाले सुरु हुन ढिलाइ भएको हो । बाँकेमा आरटीडी र पीसीआर विधिबाट ४८३ जनाको कोरोना भाइरस नमूना जाँच गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

सीमा क्षेत्रमा थप निगरानी

कोभिड–१९ को सङ्क्रमण रोकथामको लागि बाँकेमा भारतसँग जोडिएको सीमा जोडिएको क्षेत्रमा थप सुरक्षा चौकी स्थापना गरी निगरानी बढाईएको छ । विश्वमै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट हुन सक्ने सम्भावित सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्न र भारतीय सीमाबाट हुन सक्ने आवत–जावतलाई निस्तेज पार्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षा फौज परिचालन गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी निरीक्षकसहितको टोली र सीमा सुरक्षा पोष्ट (बीओपी) मा रहेका सशस्त्र प्रहरी सहितको संयुक्त सुरक्षा टोलीले सीमा नाकामा जाँच तथा निगरानी गर्नेछ । सीमा क्षेत्रमा जाँच तथा निगरानीका लागि भारतसँग जोडिएको नरैनापुर नेपाली सीमाक्षेत्र भगवानपुरस्थित हुलासपुरुवा, सुईयाको दश गजा नजिक, कालाफाँटाको कोटिया र नरैनापुरको घरधौरियामा सुरक्षा चौकी स्थापना गरिएको प्रहरी उपरीक्षक वलीले जानकारी दिनुभयो ।

कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेको पहलमा राप्तीसोनारी गाउँपालिकाको कुसुम बजार, बैजनाथ गाउँपालिकाको मानखोला नजिक सम्झना चोक, कोहलपुर नगरपालिकाको चौराहचोक र नेपालगञ्जको धम्बोझी चोकमा सहयाता कक्ष थप गरी सञ्चालनमा ल्याईएको पनि प्रहरी उपरीक्षक वलीले जानकारी दिनुभयो ।

थर्मल गन ः गाउँपालिका पुगे, वडामा पुगेनन्

कोरोना संक्रमणको त्रास बढेपछि ज्वरो नाप्ने थर्मल गन र व्यक्तिगत सुरक्षा सामग्रीको अभाव हुँदा जोखिम मोलेर काम गर्नु परेको दाङका ग्रामिण क्षेत्रका स्वास्थ्यकर्मीले गुनासो गरेका छन् । ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा वडा स्वास्थ्य केन्द्रमा थर्मल गन नहुँदा जोखिम मोलेर स्वास्थ्य जाँच गर्नुपरेको ज्वरो नाप्नु परेको प्राथमिक स्वास्थ्य केन्द्र श्रीगाउँका इञ्चार्ज रविन गौतमले गुनासो गर्नुभयो ।

उपलब्ध गराईका थर्मल गनहरु सबै स्थानीयतहको स्वास्थ्य शाखाले परिचालन गरेका छन् । “हामीलाई तीनवटा आएको थियो”, तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन शाखा निरीक्षक बीमल केसीले भन्नुभयो, “तीमध्ये एउटा बिग्रिसकेको छ, एउटा मोबाइल टोलीसँग र एउटा क्वारेन्टाइनमा छ ।” दाङमा २३ वटा थर्मल गन ल्याइएको थियो ।

अहिले ज्वरो नाप्नका लागि थर्मोमिटर व्यक्तिको काखीमा च्याप्ने र हातले समाएर हेर्ने गर्दा संक्रमण हुन सक्ने स्वास्थ्यचौकी बाघमारेका इञ्चार्ज कमल भण्डारीले बताउनुभयो । बजारमा पनि उक्त गन नभेटिएको समेत उहाँको भनाइ छ । ‘बजारमा पनि धेरै खोज्यौं, काठमाडौंमा पनि धेरै ठाउँ खोज्यांै”, उहाँले भन्नुभयो, “तर कतै भेटिएन् ।” आफू निर्वाचित दाङ क्षेत्र नं. ३ का लागि आवश्यक थर्मल गन ल्याउने भनि स्वास्थ्य मन्त्रालयमा बुझ्दासमेत नपाइएको सांसद हिराचन्द्र केसीले बताउनुभयो ।

थर्मल गनसँगै सुरक्षाका लागि पिपिईसमेत सीमित मात्रामा रहेकाले अपुग भएको स्वास्थ्यकर्मीको गुनासो छ । “हामीसँग अहिले पर्याप्त पिपिई छैन”, शान्तिनगर स्वास्थ्यचौकीका घनश्याम पाण्डेले भन्नुभयो, “त्यसले गर्दा सबै जनशक्ति समेत खटाउन सकिएको छैन् ।” अहिले स्थानीयतहले नै हेल्थ डेस्क स्थापना गरि थर्मल गनको प्रयोग गरेका कारण प्राथमिक चौकीमा अभाव भएको स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ सम्पकै व्यक्ति कमल चन्दले बताउनुभयो ।

पाल्पामा गाउँमै स्वास्थ्य सेवा

बन्दाबन्दीका समयमा मारमा परेका नागरिकलाई मध्यनजर गर्दै रामपुर नगरपालिकाले गाउँ गाउँमा पुगेर स्वास्थ्य सेवा दिन शुरु गरेको छ । नयमित औषधी सेवन गर्ने, दीर्घरोगी र ज्येष्ठ नागरिकलाई लक्षित गरी टोलमा गएर स्वास्थ्य परीक्षण, औषधी वितरण थालिएको हो । शुक्रबार पहिलो दिन वडा नं ३ बाट सेवा शुरु गरिएको नगरपालिकाले जनाएको छ । वडाको गैलुक, लामटाङ्, डाबरा क्षेत्रका ९५ नागरिकको स्वास्थ्य परीक्षण गरेर उनीहरुलाई औषधी वितरण गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

नियमित औषधी सेवन गर्दै आएका उच्च रक्तचाप, मधुमेह, दमका बिरामीलाई आवश्यकताअनुसार औषधी प्रदान गरिएको र प्रेसर, ज्वरो जाँचसहित सामान्य उपचार सेवा दिइएको नगरपालिकाका स्वास्थ्यकर्मी कमला श्रेष्ठले जानकारी दिनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>